१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मन्त्री नेम्वाङले यातायात व्यवसायीलाई भने, 'आन्दोलनमा जस्तै माग राख्दै पूरा गर्न दबाब दिने बेला होइन'

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । विभिन्न माग राखी आइतबार ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्यवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्वाङले सवारी चलाउन आग्रह गरेका हुन् । विशेष परिस्थितिका कारण बन्द हुन पुगेको सवारी साधन सञ्चालनका लागि माग राख्नु ठीक नभएको उनको तर्क थियो ।

मन्त्री नेम्वाङले यातायात व्यवसायीलाई भने, 'आन्दोलनमा जस्तै माग राख्दै पूरा गर्न दबाब दिने बेला होइन'

मन्त्री नेम्वाङले आन्दोलनमा जस्तै माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गरेर अगाडि जाने विषय नभएको स्पस्ट पारे । सबै क्षेत्रका व्यवसायीहरुलाई सरकारले समान व्यवहार गर्ने भन्दै अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले सवारी चलाउँदिनँ भन्न नहुने नेम्वाङले बताए । उनले व्यवसायीका सबै चाहना सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने विचार गर्नसमेत आग्रह गरेका थिए ।

यातायात व्यवसायीहरुले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफूहरुसँग कुनै छलफल नगरी निर्णय गरेको प्रति असन्तुष्टि जनाए । व्यवसायीहरुले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित नगर्दासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्रीसहित व्यवसायीहरुका समस्या सम्बोधन गर्न माग दोहोर्‍याएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए । व्यवसायीहरुले पुनर्कर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका थिए ।

प्रकाशित : असार २८, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?