‘पशुपतिनाथको दर्शन खुला गर्ने तयारी गर्नुस्’

गणेश राई

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

‘पशुपतिनाथको दर्शन खुला गर्ने तयारी गर्नुस्’

पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् । ‘मुलुक विस्तारै विश्वव्यापी महामारी कोभिड–१९ को त्रासबाट माथि उठ्दै गरेको छ,’ मन्त्री भट्टराईले कोषका पदाधिकारी, सदस्य तथा कर्मचारीलाई निर्देशन दिँदै भने, ‘विस्तारै सार्वजनिक सवारी साधनहरू पनि चल्न थालेको अवस्था छ । निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी थाल्नुहोस् ।’

मन्त्री भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा काम गर्न भनेका छन् । हरेक योजनाहरू त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय अगुवासहित सार्वजानिक सुनुवाइ हुनुपर्ने बताए । त्यसैगरी सार्वाजानिक संस्थाहरूको सम्पत्तिमा व्यक्ति तथा समूहको आँखा पर्ने गरेको उल्लेख गर्दै निजी स्वार्थका निम्ति पशुपतिको सम्पत्तिमा दख्खल दिने कार्य नियन्त्रण गर्नु पर्ने बताए । कोषको गोठाटारको जग्गा अतिक्रमणमा परेकोबारे उनले भने, ‘छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्नुस्, कसैले कोषको जग्गामा संरचना बनाएको छ भने ती पनि हटाउनुस् ।’

कोभिड–१९ को फैलिन नदिन लकडाउन जारी भएसँगै पशुपतिनाथको नित्य पूजामात्र हुँदैआएको छ । त्यस क्षेत्रमा सर्वसाधारणलाई पूजाआजा र आउजाउ बन्द गरिएको छ । भौतिक दूरी कायम गरेर पशुपति क्षेत्रको जीर्णोद्धार, कार्य भने भइरहेको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए । कोषले मन्दिरको बाहिरी ढोकादेखि भित्रको मुख्य मन्दिरसम्म जाने र फर्किने अलग-अलग र्‍याम्प विस्तार गरेको छ । भक्तजनलाई फूल, प्रसाद नलिई भौतिक दूरी कायम गर्दै मूल मन्दिरको र्‍याम्पबाट दर्शन गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रमा नयाँ संचरना निर्माण गर्दा युनेस्कोको मापदण्डलाई अनिवार्य पालना गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : असार २८, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?