कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा ३४७ कोरोना संक्रमित, परीक्षणको दायरा बढाउने सरकारको तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका अन्य जिल्लामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण कम हुँदै गए पनि काठमाडौं उपत्यकामा भने बढ्दो क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपत्यकामा संक्रमण बढ्दा चिन्ता बढेको बताए ।

डा. पाण्डेले उपत्यकाका तीन जिल्लामा शनिबारसम्म ३ सय ४७ जना संक्रमित भएको बताउँदै महाशाखाले समुदायमा संक्रमण हो कि होइन भन्ने एकीन गर्न लागि परेको जानकारी दिए ।

'हामीलाई चिन्ताको विषय बाहिर जिल्लामा संक्रमण कम भएको तर काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ३ सय ४७ जनामा संक्रमण भएको देखिन्छ । जसमा बाहिरबाट उद्धार गरी ल्याएका बढी छन् भने कहीँ पनि यात्रा नगरेका व्यक्तिमा पनि संक्रमण देखिएको छ,' उनले भने, 'समुदायमा संक्रमण एकीन गर्न परीक्षणको दायरा बढाउनै पर्छ, सुरु गरिसकेका छौं ।'

उपत्यकाका ललितपुरको नखुटोल, भक्तपुर बोडे, काठमाडौं कोटेश्वर, सहिद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका शंखमुल, कपन, एयरपोर्ट, डिल्लीबजार लगायत ठाउँमा ३ हजार नमुना संकलन गरी परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको निर्देशक पाण्डेले जानकारी दिए । उनका अनुसार संक्रमितहरू कहिँ नगएकोले उनीहरूको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

उनका अनुसार देशभर हेर्दा समुदायमा संक्रमण ६ देखि ७ प्रतिशत रहेको छ ।

पीसीआर विधिबाट परीक्षणलाई व्यापक बनाउने भन्दै डा. पाण्डेले दोस्रो चरणमा ४५ हजार नमुना लिने योजना रहेको जानकारी दिए । त्यसमध्ये काठमाडौंमा मात्रै ५ हजार जनाको स्याब लिइने छ । नमुना संकलन विशेष गरी भीडभाड हुने बैंक, कर कार्यालय, जोखिममा रहेका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरिएको उनले बताए ।

त्यस्तै, विदेशबाट उद्धार उडानबाट आएकाहरूको पनि चाँडो परीक्षणको व्यवस्था मिलाइएको पनि डा. पाण्डेले जानकारी दिए । उनले भने, 'रेस्क्यू फ्लाइटबाट आउने व्यक्तिहरूलाई होल्डिङ सेन्टर होस् वा क्वारेन्टाइनमा होस् । आएपछि ५ देखि १० दिनभित्र पीसीआर टेस्ट गर्छौं । सुरक्षित भएको अवस्थामा घर पठाउँछौं ।'

भारतका विभिन्न नाकाहरूबाट आउने आउनेको पनि ५ दिन पुगिसकेपछि तुरुन्त परीक्षण गरिने जनाइएको छ ।

डा. पाण्डेले उच्च जोखिममा रहेका रौतहट, डडेलधुरा, पाल्पा लगायत १० जिल्लामा कोरोना परीक्षणका लागि नमूना लिने योजना रहेको जनाउँदै समुदायमा संक्रमण छ कि छैन भन्ने हेरिने बताए ।

प्रकाशित : असार २८, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्

झापामा बाढीले साढे ७ सय विस्थापित

पर्वत पोर्तेल

काँकडभिट्टा — अविरल वर्षापछिको बाढीका कारण झापामा १ सय ७२ परिवारका करिब साढे ७ सय जना विस्थापित भएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई नदीमा आएको बाढीले कटान गरेको पश्चिम किनार । तस्बिर : अर्जुन/कान्तिपुर

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका १ कुमरखोदमा सबभन्दा बढी १ सय १४ घर डुबान हुँदा करिब ५ सय विस्थापित भएका हुन् ।

गौरीगन्ज गाउँपालिका १ झिलझिलेका ४३ घरधुरीका डेढ सय परिवार विस्थापित भएका छन् । गौरीगन्जकै वडा नम्वर १ झोडा बस्तीको २ घरधुरीका १४ जना विस्थापित भएका छन् । कनकाई खोलामा बाढी आएर ओभर फ्लो हुँदा झापा र गौरीगन्जमा डुबान भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मेचीनगर ७ पालिया खोला बगरको सिद्धार्थ टोलका ९ घरका ४२ जना विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका ६ शिवगन्जका ७ परिवारका २९, शिवसताक्षी १० सुकुम्बासी बस्तीका ४ घरधुरीका १७, कनकाई खोलाको कटानका कारण विस्थापनमा परेका हुन् । विस्थापितहरुलाई नजिकैको स्कुल भवन र कतिपयलाई अस्थायी टहरा वनाएर सुरक्षित ढंगबाट राखिएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापामा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता छन् ।

झापा गाउँपालिका ५ स्थित विरिङ खोलाको बाढीले बगाउँदा स्थानीय ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको हो । उनी स्थानीय एक व्यक्तिको मलामी गएका बेला पौडी खेल्न खोलामा पसेका थिए । शनिबार साढे २ बजे खोलाले बगाएका उनको शव घटनास्थलदेखि करिब ३ किलो मिटर दक्षिण बाह्रदशी गाउँपालिका २ मा फेला परेको थियो ।

त्यस्तै, भद्रपुर ३ का ३३ वर्षीय हिरण राईलाई मेची खोलाले बगाएर बेपत्ता बनाएको छ । शनिबार अपरान्ह नुहाउने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । राईको खोजबिन जारी रहेको प्रहरीले जनाएको छ । विस्थापितहरुलाई अस्थायी संरचना बनाएर सुरक्षित स्थानमा सारिएको जनाए ।

झापा रेडक्रसका अध्यक्ष लोकराज ढकालले दक्षिणी झापाको कचनकवल, बाह्रदशी, गौरीगन्ज र झापा गाउँपालिकाको सबै क्षेत्र र गौरादह, शिवसताक्षी र भद्रपुर पालिकाको दक्षिणी क्षेत्र बाढीको उच्च जोखिममा रहेको जनाए । ढकालका अनुसार कनकाई खोलाले झापा गाउँपालिका ७ मदरगाछ टप्पु क्षेत्रमा डुवान र कटान भइरहेको छ ।

रेडक्रस झापाका अनुसार झापाका २८ नदीमध्ये मेची, विरिङ्ग, कन्काई, कमल, पालिया, निन्दालगायतका ७ ठूला नदीले बस्ती उच्च जोखिममा पारेको छ । बाढीले खोलामा पानीको बहाब बढेको छ । जिल्ला सदरमुकाम चन्द्रगढी, भद्रपुर, विर्तामोड, चारआली, मेचीनगर, धुलावारी, सुरुंगा र दक्षिणी क्षेत्रका अधिकांश पालिका जलमग्न छन् ।

प्रकाशित : असार २८, २०७७ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×