संखुवासभा पहिरो : ११ बेपत्ता, ४ जनाको जीवितै उद्धार

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाहरुको पहिचान खुलेको छ । पहिरोले ८ घर बगाएको छ भने ११ जना सम्पकविहीन छन् । ४ जनालाई स्थानीयले जीवितै उद्धार गरेका छन् । 


प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी, एन्जीला, नम्रता, गोरीमाया, प्रकृति, जुद्धबहादुर उत्तरकुमारी, नरमाया, हर्कधन र आईतमाया राई हराइरहेका छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई,फुलमाया र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाँउलेहरुका सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । यसैगरी दमका रोगी मदन राई हृदयघात भएर मृत्यु भएको आशंका गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

पहिरोले राममान राई, जुद्धबहादुर, माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दिप, भीमबहादुर, शिवधन र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्ले बताए । उनीहरु पनि घटनास्थल पुगिसकेका छैनन् । घटनास्थल विकट र सडक सञ्जाल समेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उनले बताए ।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामाग्रीसहित घटनास्थलतर्फ हिडिँसकेका छन् । उनीहरुलाई घटनास्थल पुग्न कम्तिमा १२ घन्टाभन्दा बढी लाग्छ । त्यस्तै, ताम्कुबाट पनि सेनाको टोली र स्वास्थ्यकर्मीको टोलीऔषधिसहित घटनास्थलतर्फ लागेका छन् ।

प्रकाशित : असार २८, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

‘संक्रमित भेटिँदैमा अस्पताल सिल गर्नु पर्दैन’

मापदण्ड पुगेका क्वारेन्टाइनलाई आइसोलेसनका रूपमा अपग्रेड गर्न सकिन्छ
अस्पताल सिल गर्ने वा धेरै दिनसम्म बन्द गर्ने पक्षमा मन्त्रालय सहमत छैन
बुनु थारु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखा छ । यसले सरकारी तथा निजी अस्पतालका साथै स्वास्थ्य संस्थाहरूको सेवाको गुणस्तर निर्धारण र नियमन गर्छ । कोभिड महामारीका बेला अस्पतालहरूको सेवा प्रवाह र गुणस्तर कार्यान्वयनका विषयमा महाशाखा प्रमुख डा. विकास देवकोटासँग कान्तिपुरकी बुनु थारूले गरेको कुराकानी :


कोरोना संक्रमणको समयमा महाशाखाले स्वास्थ्य क्षेत्रको अनुगमन कसरी गरिरहेको छ ?

महाशाखाको मुख्य काम स्वास्थ्य सेवाहरूको गुणस्तर कस्तो छ भनेर हेर्ने हो । यसले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट दिइने सेवाहरूको गुणस्तरमाथि नियमन गर्छ । त्यहाँ लाग्ने जनशक्ति, उपकरण, सेवाको स्तर तथा आधारभूत सेवा तथा मापदण्डजस्ता कुरालाई हेर्छ । सुरुमा हामीले कोभिडको मात्र उपचार गर्ने अस्पतालहरू तोक्यौं । यसका लागि विभिन्न १ सय २६ वटा अस्पतालमा उपचारको सुविधा छ । त्यस्ता अस्पतालले आकस्मिक सेवा नरोक्ने, सेवा दिँदै गर्दा कुनै डिपार्टमेन्ट कोभिडका लागि बनाएर अर्कोमा ननकोभिड बिरामीको उपचार गरेका छन् । कतिले सबै अस्पताल कोभिड पनि बनाएका छन् र कतिले मिक्स पनि गरेका छन् ।

कोभिडबाहेकका बिरामी झन् समस्यामा छन् भन्ने सुनिन्छ नि...

ननकोभिडका बिरामी समस्यामा परेको गुनासो आइरहेको छ, यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । त्यस्ता बिरामीका लागि कसरी उपचार सहज गर्ने भन्नेमा अनुगमन गरिरहेका छौं । विभिन्न अस्पतालसँग छलफल भइरहेको छ । ननकोभिडका बिरामीलाई कुनै पनि हिसाबले पक्षपात नहुने गरी सेवा दिन अस्पताललाई भनेका छौं । अहिले संक्रमितमा लक्षण नदेखिएकाले उनीहरूलाई खासै उपचारको जरुरी छैन । तत्काललाई आइसोलेसन भए हुन्छ । बरु ननकोभिडका बिरामीलाई अलि जटिल समस्या पाएका छौं । त्यसैले यसमा बढी केन्द्रित छौं ।

अनुगमन टिमले कसरी काम गर्छ ?

हामीले अस्पताल अनुगमनका लागि ज्वाइन्ट र्‍यापिड एक्सन टिम बनाएका छौं । महाशाखाको नेतृत्वमा नेपाल मेडिकल काउन्सिल, सीसीएमसी लगायतको टिम संलग्न छ । टिम भर्खर निर्माण भएकाले अझै तयारी गरिरहेका छौं । ७७ वटै जिल्लामा अनुगमनका लागि टिम रहन्छ । यसले कोभिडसम्बन्धी व्यवस्थापन र हरेक जिल्लामा कोभिड र ननकोभिडको उपचार भए/नभएको हेर्ने र नभए सुरु गराउने काम गर्छ । यो काम एक साताभित्र सुरु गर्नेछौं ।

निजी अस्पतालमा संक्रमण बढ्दो छ । तिनको सेवा प्रवाहमाथि कसरी निगरानी गर्नुभएको छ ?

कोभिडबाहेक इमर्जेन्सी केसलाई टाढैबाट फर्काउने, कोभिड शंकास्पद भनी हेर्दै नहेरी पठाउने समस्या पाएका छौं । यस्तो हुनुहुँदैन । त्यसैले कोभिड क्लिनिकको कुरा गरिएको हो । छुट्टै स्पेस बनाएर बिरामीलाई त्यहाँ सेवा दिइन्छ । यस्तो बेला एउटा मानवीय तथा सेवामूलक कुरा पनि आउँछ । उपचार सेवा पाउनु मान्छेको अधिकार हो । कोभिड त भनिरहेका छौँ तर त्यति बिरामी नदेखिएकाले ननकोभिडका लागि नै सेवामा बढी ध्यान दिनुपर्ने हुन्छ । ननकोभिडलाई सेवा नै प्राथमिकतामा राख्नुपर्छ ।

अहिले अस्पतालहरूमा पनि संक्रमण बढेको छ । हाल काठमाडौं उपत्यका र अरू स्थानमा र्‍यान्डम टेस्टिङ गर्दै छौं । अस्पतालमा काम गर्ने फ्रन्टलाइनरहरूको पनि टेस्ट गर्दैछौं । अस्पतालमा स्वास्थ्यकर्मी नै बढी संक्रमित देखिएका छन् ।

संक्रमण देखिएपछि इमर्जेन्सीमात्र सञ्चालन गर्ने र सम्पूर्ण अस्पताल नै सिल गर्ने गरिएको छ, त्यस्तो गर्नुहुन्न । हामीले त्यस्ता अस्पताललाई सचेत गराएका छौं । कतिपयसँग मौखिक कुराकानी भएको छ । संक्रमण अरू अस्पतालमा पनि देखिँदै जान्छ वा त्यही अस्पतालमा फेरि देखिन सक्छ, त्यसपछि कति पटक अस्पताल सिल गर्ने ? अस्पतालमा जहाँ संक्रमण भेटिन्छ, तत्काल सानो सिल गरेर छिटो परीक्षण गर्ने र अरू सेवा सुचारु गर्नुपर्ने हुन्छ । नत्र उपचारको आशामा अस्पताल पुगेका अरू बिरामी समस्यामा पर्न सक्छन् । मन्त्रालय अस्पताल सिल गर्ने वा धेरै दिनसम्म बन्द गर्ने पक्षमा सहमत छैन । यस विषयमा अस्पताललाई हामीले पत्राचार गरेका छौं ।

बाक्लो जनसंख्या रहेको उपत्यकामा संक्रमित अझ बढ्दै गए आइसोलेसनहरू अपुग हुन सक्छन्, यस विषयमा कस्तो तयारी छ ?

हाललाई हेर्दा ९९ प्रतिशत जतिमा लक्षण नभएको कोरोना संक्रमण देखिएको छ । जो लक्षणविहीन छन्, उनीहरूलाई आइसोलेसन सेन्टरमा राख्न सकिन्छ । राम्रो मापदण्ड पुगेका क्वारेन्टाइनलाई आइसोलेसनका रूपमा अपग्रेड गर्न सकिन्छ । कतिपय अस्पतालका खाली रूममा नयाँ बेड थपेर आइसोलेसन बनाउन सकिन्छ । आईसीयूको आवश्यकताभन्दा पहिले बिरामीलाई अक्सिजनको एकदम जरुरत हुन्छ । त्यसैले अक्सिजन कन्सन्ट्रेटरहरू खरिद गर्नेमा जोड दिएका छौं । विभिन्न दातृ संस्थाले पनि सहयोग गरेका छन् । विभिन्न प्रदेशमा अक्सिजन प्लान्टका लागि बजेट पठाइसकिएको छ । आईसीयू बेड बनाउने र भेन्टिलेटर खरिद गर्ने काम पनि भइरहेको छ ।

तोकिएका सरकारी कोभिड अस्पताल अपुग भए निजी अस्पतालहरूले सहयोग गर्न सक्छन् ?

सबै कोभिडका बिरामीको उपचार सेवा निःशुल्क हुन्छ । क्याबिनेटले निर्णय गरिसकेको छ । सामान्य वा जटिल कुन अवस्थाको बिरामी हो, त्यहीअनुसार उपचार सेवा शुल्क तय गरेका छौं । सो खर्च सरकारले अस्पताललाई उपलब्ध गराउँछ, अस्पतालले निःशुल्क सेवा दिन्छन् । सरकारी अस्पताल अपुग भए भने निजीसँग पक्कै सहयोग माग्नुपर्ने हुन्छ । जति बेला आवश्यक पर्छ, स्वास्थ्य मन्त्रालयले निजी तथा गैरसरकारी संस्थालाई लिएर काम गर्न सक्छ । यस्तो अवस्थामा सबैलाई उपचार निःशुल्क हुन्छ ।

अस्पतालहरूले पीपीईको प्रयोग तथा इन्फेक्सन कन्ट्रोलमा कत्तिको ध्यान दिएका छन् ?

पहिलेभन्दा धेरै सुधार भएको छ । खासगरी मास्क तथा पीपीई प्रयोगबारे हामीले मापदण्ड बनाएका छौं । हामीसँग मौज्दात प्रशस्त छ । इन्फेक्सन कन्ट्रोलतर्फ राष्ट्रिय स्वास्थ्य अनुसन्धानको सर्भे हेर्न हो भने व्यवस्थापन कम पाइएको छ । महामारीका बेला यसले ठूलो महत्त्व राख्छ । त्यसमा हामी सजग छौं । सबै अस्पतालमा चाहिने सामग्री डिस्इन्फेक्टेन्ट, औषधिहरू तयारी अवस्थामा राखेका छौं ।

फोहोरमैला व्यवस्थापन कस्तो छ ?

विभिन्न सर्भेअनुसार अस्पतालले फोहोर व्यवस्थापन राम्रै पाइएको छ । तर छुट्याइसकेपछिको फोहोरमैला फेरि एकै ठाउँमा गएर व्यवस्थापन हुने गर्छ । त्यसलाई चाहिँ हेर्नुपर्ने हुन्छ ।

महामारीका बेला पनि मेडिकल सामग्रीमा कमिसन, गुणस्तरहीन सामान बिक्री वितरणका कुरा आएको छ । यसमा कसरी नियमन गरिराख्नुभएको छ ?

संकटका बेला खेल्ने मान्छे वा समूहहरू पनि हुन्छन् । कोरोनाको सुरुवाती चरणमा गुणस्तरहीन सामान बेचेको पाइएपछि कारबाही गरेका थियौं । यसरी हेर्दा गुणस्तरहीन सामान आउन सक्छ र अर्कोचाहिँ सामग्रीमा मूल्य अत्यधिक वृद्धि भई सर्वसाधारणको पहुँचभन्दा बाहिर हुन सक्छ । यी दुइटै कुरा स्वास्थ्यका लागि घातक हो । महामारी एक त हामीलाई सिकाइको कुरा पनि रह्यो । देशमै उत्पादन गर्नुपर्छ भन्ने भयो । सेनिटाइजर र मास्कहरू उत्पादन भइरहेका छन् । यस्ता अनियमितताको अनुगमन उद्योग मन्त्रालयसहितको सीसीएमसीको टिमले पनि गरिराखेको छ ।

संक्रमण अझ फैलियो भने जोखिम कम गर्ने तयारी कस्तो छ ?

संक्रमण एक व्यक्तिबाट अर्को र समुदायमा संक्रमण नफैलियोस् भनेर कोसिस गरिरहेका छौं । अब समुदायमा फैलिन थालेको जस्तो आभास भएको छ । समुदायमा कत्तिको फैलिएको छ, अध्ययन गर्न बाँकी छ । राम्रो कुरा त संक्रमितहरू लक्षणविहीन छन् । उपचारमा धेरै खर्च भएको छैन । मानिस पनि धेरै गुमाएका छैनौं । अब संक्रमितको संख्या बढ्दै जाँदा जटिल समस्या आउँछन् । त्यसका लागि अस्पतालको तयारी महत्त्वपूर्ण छ । त्यसका लागि टिम मोबिलाइज गर्ने र अस्पताल म्यापिङको काम भइरहेको छ । ७७ जिल्लाकै वडामा रहेका व्यक्तिहरू कुन अस्पतालमा जाने, त्यहाँ उपचार भएन भने विकल्प के हुने भनेर म्यापिङ, नेटवर्क र फ्लोचार्ट बनाएर काम गरिरहेका छौं । केही दिनमा प्रकाशित गर्छौं ।

अस्पतालभित्रको तयारीको कुरा गर्दा जनशक्ति, पूर्वाधार, उपकरण र औषधि नै हो । लक्षणविहीनलाई अस्पतालबाहिर राख्न सक्यौं भने लक्षणका बिरामीलाई अस्पतालमा उपचार गर्न सक्छौं । अहिले भएका क्वारेन्टाइनलाई थप व्यवस्थित गरी आइसोलेसन सेन्टर बनाउनुपर्छ, जसले गर्दा अक्सिजनसहितको सुविधा दिन सकिन्छ । जनशक्ति अहिलेलाई ठिकै छ । विभिन्न डाक्टर, नर्सिङ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । करारमा कर्मचारी लिन पनि सकिन्छ । २–४ महिनादेखि उपकरण किनिएको छ । करिब ४ महिनाभन्दा बढी पुग्ने औषधि स्टक छ । कोभिडका लागि चाहिने एन्टिभाइरल औषधि प्रयोगका लागि अनुमति दिँदैछौं ।

प्रकाशित : असार २८, २०७७ १०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×