बलात्कारको आरोपमा यसरी पक्राउ परे युट्युबर

यही घटनामाथि अनेकन कोणबाट दर्जनौं भिडियो युट्युबमा देख्न पाइन्छ, जसका भ्युअर्स लाखौं देखिन्छन् । बालिकाकी आमाले छोरीहरूमाथि भएको घटनाबारे बनेका दर्जनौं भिडियोमध्ये केही त आपत्तिजनक रहेको र त्यसले छोरीहरूको कलिलो दिमागमा कस्तो असर पार्ला भनेर चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘फुर्सदका बेला छोरीहरू मोबाइल चलाउँछन् । युट्युब पनि हेर्लान् । त्यतिबेला आफ्नै घटनाबारे बनेका भिडियो हेर्न पुगे भने तिनको मनमा कस्तो कुरा आउला भनेर म खुबै आत्तिन्छु ।’
जनकराज सापकोटा

काठमाडौँ — ‘तेरा छोरीहरूलाई बलात्कार गरेर मार्दिन्छु, अनि जेल जान्छु ।’ लाउड स्पिकरमा राखेर मोबाइल फोनमा गफ गर्दागर्दै आक्रोशित बनेका अर्जुन सिवाकोटीले यस्तो शब्द फुत्काएपछि उनी सन्न भइन् ।



अर्जुनसँगको विवाद उत्कर्षमा पुगिरहेका बेला उनी दुई छोरी लिएर लकडाउनका बेला पनि केही दिनका लागि माइत आएकी थिइन् । घिनलाग्दो धम्की उनले त सुनिन् नै, माइती परिवारका सदस्य र छोरीहरूले पनि सुने । हुर्किंदै गरेका १३ र १४ वर्षका छोरीहरूको अनुहार देखेपछि उनले आफूलाई थाम्नै सकिनन्, अनि कोठामा पसेर धेरैबेर रोइन् ।

गत वर्षको असोजदेखि बान्ता हुने, पेट दुखिरहने समस्याले बिरामी परेकी जेठी छोरी स्कुल जानै नसक्ने भएकी थिइन् । निरन्तर जाँचपछि पनि बिमार पत्तो लागेको थिएन । त्यही बेला नजिकका नाता पार्ने सगोलका घरधनी अर्जुनसँग उनको विवाद चर्किंदै गएको थियो । विवाद हात हालाहाल र तुच्छ गालीमा परिणत भएको त्यही साँझ उनलाई जेठी छोरीले मधुरो स्वरमा भनिन्, ‘मम्मी एउटा कुरा भन्छु । गाली त गर्नुहुन्न नि ?’

उनले बिरामी छोरीलाई गाली नगर्ने वाचा गरिन् । त्यसपछि छोरीले जे कुरा सुनाइन्, त्यो उनको कल्पनामा पनि थिएन । उनले हतास मुद्रामा अन्य आफन्तीलाई खबर गरिन् । राति १२ बजेसम्मै आफन्तीहरूले जेठी छोरीसँग घटनाबारे सोधीखोजी गरे । सबैलाई उनले एउटै कुरा बताइन्, अर्जुनले गत वर्षको जेठदेखि उनलाई निरन्तर दुर्व्यवहार र भदौदेखि यौनशोषण गरेका थिए । दिदीको कुरा सकिएपछि बहिनीले पनि आफू पनि गत चैतदेखि त्यस्तै हर्कतको सिकार भएको बताइन् । उनका अनुसार अर्जुनले यस्तो गतिविधिबारे ‘अरूलाई भन्यौ भने मार्दिन्छु’ भनेर धम्क्याएका थिए । एउटै घरमा बस्ने नातेदारले त्यसरी थर्काएपछि दुवै दिदीबहिनी महिनौंदेखि चुप बसेका थिए ।

आफन्तीको सल्लाहअनुसार भोलिपल्टै अर्थात् यही असार १४ गते उनीहरूले प्रहरी परिसर काठमाडौंमा अर्जुनविरुद्ध उजुरी दिए । सोही दिन प्रहरीले बानेश्वरबाट अर्जुनलाई पक्राउ गर्‍यो । परिसर काठमाडौंका अनुसार १३ र १४ वर्षका दुई किशोरमाथि बलात्कारको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितले दिएको जाहेरी दरखास्तमा लामो समयदेखि दुवै किशोरीमाथि निरन्तर यौनशोषण गरेको र पछिल्लो पटक जेठ १० गते यौनशोषण गरेको उल्लेख छ । प्रहरीले दुवै किशोरीको स्वास्थ्य परीक्षण गराएको छ भने अर्जुनमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी राखेको छ ।

अर्जुन पक्राउ प्रकरणबारे युट्युबमा दर्जनौं भिडियो सामग्री देख्न पाइन्छ किनकि उनी आफैं ‘मेकिङ नेपाल’ नामक युट्युब च्यानलका निम्ति भिडियो उत्पादनमा संलग्न थिए । २०१६ जनवरीमा दीपेश पाण्डेले दर्ता गरेको यो युट्युब च्यानलमा करिब चार महिनाअघि मात्रै अर्जुन जोडिएका थिए । आफूलाई कलाकार पृष्ठभूमिको बताउने दीपेशले कान्तिपुरसँगको कुराकानीमा आफूले केही फिल्म र आधुनिक गीतमा अभिनय गरेको बताए । त्यही बेला आफैं केही गरौं न त भनेर उनले मेकिङ नेपाल नामक युट्युब खोलेका थिए । पछिल्लो समय उनले छिमेकी अर्जुनले मिलेर काम गरम् न भनेपछि आफूसहितका १२ साथी मिलेर अफिस खोलेको बताए । उनले भने, ‘अर्जुनले भने होस्ट गर्ने जिम्मेवारी पाएका थिए ।’

भर्खरभर्खरै युट्युबको भ्युअर्स बढेका कारण आफूहरूले कुनै पैसा कमाइ नसकेको र अर्जुनलाई पनि मासिक यति नै तलब दिने भनेर नतोकिएको उनले सुनाए । यिनै अर्जुन बलात्कारको आरोपमा पक्राउ परेको खबर साताअघि पत्रकार ऋषि धमलाले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पीडित किशोरी र उनका आमाबाबुसँग घटनाबारे अन्तर्वार्ता लिएपछि सार्वजनिक चासोमा आयो ।

पत्रकारिताको कुनै पनि औपचारिक/अनौपचारिक पृष्ठभूमि नभए पनि गत भदौयता मात्रै अर्जुनले युट्युबका निम्ति दुई दर्जन हाराहारी भिडियो उत्पादन गरेको देखिन्छ । जसमध्ये आधाभन्दा धेरै एमसीसी सम्झौताविरुद्ध भन्दै सडकमा भएका प्रदर्शन र त्यसका अगुवासँगको अन्तर्वार्तासँग सम्बन्धित छन् भने केही हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने विषय समेटिएका सामग्री छन् ।

पारिवारिक स्रोतका अनुसार परिवारकै सदस्य हिन्दुराष्ट्रको अभियानमा संलग्न भएकाले अर्जुन आफैं पनि हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने अभियानमा सक्रिय रूपमा लागेको देखिन्छ । केही भिडियोहरूमा अर्जुन विश्व हिन्दु महासंघको कार्यक्रममा सक्रिय रहेको र मन्तव्य दिएको पनि देखिन्छ । कतिसम्म भने कतिपय भिडियोको कन्टेन्टको परिचय खण्डमा त एमसीसीविरुद्धको फलानो ठाउँमा यति गते यति बजे हुने आन्दोलनमा सहभागी बनौं भन्ने सूचना पनि राखिएको छ । असार १७ मा ‘टप न्युज नेपाल’ नामक युट्युबमा पोस्ट भएको भिडियोमा अर्जुनले एमसीसीबारे आफ्ना कुरा राखेको देखिन्छ । ‘अर्जुन सिवाकोटी आए लाइभमा, खास कुरा यस्तो रहेछ,’ शीर्षकको उक्त भिडियो झन्डै ६ हजारले हेरिसकेको देखिन्छ ।

दुई किशोरी बलात्कारको आरोपको घटनाको अन्तर्य बुझ्न मोरङ स्थायी घर भएका अर्जुन र पीडित परिवारले सम्बन्धको उतारचढावलाई पनि बुझ्नुपर्ने हुन्छ । करिब आठ वर्षअघि पीडित परिवार र अर्जुनले साझेदारीमा कोल्ड स्टोरसमेत चलाएका थिए । त्यसपछि नै उनीहरूबीच आर्थिक लेनदेनको कारोबारसमेत सुरु भएको थियो । कोल्ड स्टोर बेचेर किशोरीका बाबु र अर्जुन एक वर्षको अन्तरमा दुबई गएका थिए । क्रमशः चार र तीन वर्ष दुबई बसेर फर्केपछि उनीहरूले सामूहिक रूपमा २१ कोठा भएको चारतले घर बनाएका थिए । किशोरीका बाबुका अनुसार दुवैको नाममा भएको जग्गामा बनाइएको घरमा अर्जुनले तीन कोठा र उनीहरूले दुई कोठा लिएर अरू सबै भाडामा लगाएका थिए । पछिल्लो समय यही घरको भाडाका विषयमा दुई परिवारबीच कचमच सुरु भएको देखिन्छ । प्रहरी स्रोतका अनुसार एकै घरमा बस्ने भए पनि भाडा र अन्य आर्थिक कारोबारको विवादले उनीहरूबीच हात हालाहालकै अवस्था आएको समेत देखिन्छ । गत मंसिरमा त किशोरीका बाबुआमा अर्जुनले कुटपिट गरेकाले जीउधनको सुरक्षा गरिपाऊँ भन्ने निवेदन लिएर महानगरीय प्रहरी वृत्त महाराजगन्जसमेत पुगेका थिए । प्रहरीले दुवै पक्षलाई राखेर छलफल गराएपछि त्यतिबेला विवाद टुंगिएको थियो ।

पछिल्लो समय आर्थिक विवादको किचलो झनै उत्कर्षमा पुगेको थियो । यही विवादबाट आजित भएर उनी जेठको अन्तिम साता दुई छोरी लिएर माइत आएकी थिइन् । माइत आएका बेला एक दिन घर पुगेर दुई कोठाको भाडा उठाएर फर्केकी थिइन् । त्यही कुराबाट थप आक्रोशित बनेर अर्जुनले उनलाई अश्लील शब्दसहितको गाली गरेका थिए । त्यही बेला फुत्केको थियो, ‘बलात्कार गरेर छोरीहरू मार्दिने र जेल जाने कुरा ।’

पीडित किशोरीकी आमाले घटना दर्ता भएपछि पनि निरन्तर युट्युब मिडियामा यसबारे आएका सामग्रीहरूले आफ्नो नीद हराम गरेको बताइन् । उनले नजिकका आफन्तमार्फत आफूहरू ऋषि धमलाको सम्पर्कमा पुगेको र त्यतिबेलै छोरीहरूसहितको अन्तर्वार्ता लिइएको बताइन् । पीडित छोरीहरूलाई पनि अन्तर्वार्तामा सामेल गरेर भने आफूहरूले गल्ती गरेको उनको बुझाइ छ । उनले भनिन्, ‘मलाई त के हुन्छ, कसो हुन्छ भन्ने पनि थाहा थिएन । मुख छोपेर अन्तर्वार्ता गरे केही फरक पर्दैन भनेपछि छोरीसहित अन्तर्वार्ता दिइयो ।’ उक्त अन्तर्वार्ता प्रसारण भएपछि सिवाकोटीको समर्थनमा केही युट्युब च्यानलका मान्छे माइतीघर मण्डलमा आउन लागेको भन्ने खबर पनि आफूले सुनेको उनले बताइन् । उनले भनिन्, ‘घटनाले त दुःख दिएकै छ, त्यस्तै दुःख घटनापछि युट्युबमा आएका अनेकथरी लाञ्छनायुक्त सामग्री र छोरीहरूको परिचय नै खुल्ने खालका सामग्रीले बनाएको छ ।’

युट्युबमा सक्रिय सिवाकोटी नै बलात्कारको आरोपमा पक्राउ परेका घटनामा दर्जनौं भिडियो कन्टेन्टहरू युट्युबमा छ्याप्छ्याप्ती देखिन्छन् । जसमध्ये धेरैजसो सामग्रीमा अर्जुनका परिवारका सदस्यले रुँदै आरोपबारे आफ्ना कुरा राखेको देखिन्छ । ‘नेपाली रियाक्सन’ नामक युट्युब च्यानलमा ‘अर्जुन सिवाकोटीको बाबुको अन्तर्वार्तामा भक्कानिए, खोले रहस्य’ शीर्षकको भिडियो सामग्री देखिन्छ । जसलाई ६ दिनमा झन्डै ९ हजारले हेरेको देखिन्छ । त्यस्तै सिवाकोटीकी श्रीमती न्याय खोज्दै छोरीलाई लिएर शीर्षकमा अर्जुन नै होस्ट रहेको मेकिङ नेपालमा अर्को भिडियो आठ दिनमा झन्डै साढे १६ हजारले हेरेका छन् । यही घटनामाथि अनेकन कोणबाट दर्जनौं भिडियो युट्युबमा देख्न पाइन्छ । जसका भ्युअर्स लाखौं देखिन्छन् । किशोरीकी आमाले छोरीहरूमाथि भएको घटनाबारे बनेको दर्जनौं भिडियोमध्ये केही त आपत्तिजनक रहेको र त्यसले छोरीहरूको कलिलो दिमागमा कस्तो असर पार्ला भनेर चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘फुर्सदका बेला छोरीहरू मोबाइल चलाउँछन् । युट्युब पनि हेर्लान् । त्यतिबेला आफ्नै घटनाबारे बनेका भिडियो हेर्न पुगे भने तिनको मनमा कस्तो कुरा आउला भनेर म खुबै आत्तिन्छु ।’

प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले सिवाकोटीविरुद्धको मुद्दा अनुसन्धानका क्रममा रहेको बताए । उनले भने, ‘म्याद थप गरेर थुनामा राखेका छौं । केही दिनमै अदालतमा पेस गरिन्छ ।’ प्रकाशित : असार २८, २०७७ १०:१९

प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं उपत्यकामा संक्रमण रैथाने कि आगन्तुक ?

कन्ट्याक्ट ट्रेसिङसँगै अवस्था विश्लेषणको तयारी । चिकित्सक भन्छन्– बाहिरबाट आउनेमा बाहिरी लक्षण नदेखिँदैमा संक्रमण अरूमा सार्दैन भनेर ढुक्क बस्न मिल्दैन ।
फातिमा बानु

काठमाडौँ — नेपालमा देखिएका ९७ प्रतिशत कोरोना संक्रमित विदेशबाट भित्रिएकाहरूबाट भए पनि उपत्यकामा उपचाररत २ सय ६ संक्रमितमध्ये कति बाहिरबाट आएकाहरू हुन् भन्ने एकिन छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीमा कन्ट्याक्ट ट्रेसिङको काम भइरहेकाले केही दिनपछि संक्रमणको विश्लेषण हुने जनाएको छ । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार तीन प्रतिशत संक्रमण मात्रै स्थानीय हुन् ।

‘राजधानीमा कन्ट्याक्ट ट्रेसिङको काम हुँदै छ, अहिले कति आयातित हो टुंगोमा पुग्न बाँकी छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।

जनस्वास्थ्यविद्का अनुसार संक्रमण तीन प्रकारका हुन्छन् – आयातित, स्थानीय र समुदाय । विज्ञका अनुसार नेपालमा अहिलेसम्म समुदाय संक्रमण फैलिएको छैन, उपत्यकामा यसको झिल्को मात्रै देखिएको छ । विदेशबाट भित्रिएका संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई संक्रमण सर्दा तीन प्रतिशत स्थानीय संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । स्थानीय संक्रमण रोक्नका लागि सरकारले विदेशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राखेर मात्रै घर पठाउने गरेको छ । तीमध्ये संक्रमणको लक्षण देखिएकालाई पीसीआर र नदेखिएकालाई आरडीटी परीक्षण गर्ने गरिएको छ ।

‘पीसीआर रिपोर्ट पोजिटिभ आए आइसोलेसनमा राखेर उपचार हुन्छ नत्र घर गएर होम आइसोलेसनमा बस्न भनिएको छ,‘ डा.अधिकारीले भने, ‘सम्भावित संक्रमितले समुदायमा संक्रमण नसारोस् भनेर यस्तो गरिएको हो ।’ उनका अनुसार अहिले देखिएको अधिकांश स्थानीय संक्रमण संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी हुन् । पछिल्लो समय सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गररे हवाईमार्गबाट ल्याइरहेको छ । सरकारको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका अनुसार असार २५ गतेसम्म २२ हजार ३ सय ६९ नेपाली हवाईमार्गबाट नेपाल आइपुगेका छन् । उनीहरूबाट समुदायमा संक्रमण नसरोस् भनेर काठमाडौंका सात ठाउँमा होल्डिङ सेन्टर राखिएको छ । त्यहाँ सोधपुछ र प्रारम्भिक जाँचपश्चात् मात्रै समुदायमा छिर्न दिने गरिएको छ । ‘शंकास्पदलाई भने सेन्टरबाट क्वारेन्टाइनमा पठाउँछौं । उनीहरूलाई पीसीआर गरेर १४ दिनपछि मात्रै घरमा पठाइन्छ,’ उनले भने, ‘घरमा गएर नियम पालना गर्छु भनेर निखित प्रतिबद्धता गर्ने या होटलमा बस्छु भन्नेलाई जान दिइएको छ । उनीहरू सम्बन्धित स्थानीय तहको निगरानीमा हुन्छन् ।’

मन्त्रालयका अनुसार देशभर अहिले २४ हजार ४ सय २५ जना क्वारेन्टाइनमा बसिरहेका छन्, जो अधिकांश विदेशबाट फर्किएका हुन् । वाग्मती प्रदेशमा मात्रै १९ हजार ७ जना छन् । डा.अधिकारीका अनुसार आयातित भनिएका अधिकांश संक्रमित भारतबाट फर्किएका हुन् । उनका अनुसार दैनिक दुई हजारको हाराहारीमा भारतबाट नेपालीहरू फर्किरहेका छन् भने जापान, सिंगापुर, दक्षिण कोरिया, थाइल्यान्ड र मलेसियालगायत २२ मुलुकबाट दैनिक करिब एक हजार मानिस भित्रिइरहेका छन् । हवाईमार्गभन्दा स्थलमार्गबाट लुकीछिपी भित्रिने संक्रमितले नेपालमा बढी जोखिम निम्त्याएको जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए । यसरी भित्रिनेलाई नियन्त्रणमा लिएर व्यवस्थित क्वारेन्टाइनमा नराखे समुदायमा संक्रमण फैलिन सक्ने उनको भनाइ छ । ‘केही संक्रमितको त हालसम्म संक्रमण स्रोत पत्ता लागेको छैन । कन्ट्याक ट्रेसिङ प्रभावकारी नहुँदा यस्तो अवस्था आएको हो,’ उनले भने, ‘ट्रेसिङबाट पत्ता लागेको व्यक्तिलाई सुरक्षित क्वारेन्टाइनमा राख्न नसक्दा पनि संक्रमण बढी फैलियो ।’

कन्ट्याक ट्रेसिङ प्रभावकारी बनाएर विदेशबाट आएका संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गरी आइसोलेसनमा राख्नसके मात्रै आयातित संक्रमणबाट समुदाय संक्रमण रोक्न सकिने उनले बताए । उनका अनुसार विदेशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइन राख्नसमेत सुरक्षित छैन । ‘पीसीआर परीक्षणको दायरा बढाएर ती व्यक्तिले २ दिनभन्दा बढी क्वारेन्टाइन बस्नु नपर्ने अभ्यास गर्न जरुरी छ,’ उनले भने, ‘जति धेरै दिन क्वारेन्टाइनमा राख्यो उति त्यहींबाट संक्रमण सर्ने जोखिम हुन्छ । क्वारेन्टाइन व्यवस्थित नहुँदा त झन् उच्च जोखिम हुन्छ ।’ हवाईमार्गबाट आउनेहरू भने धेरै हदसम्म सुरक्षित भएको उनले बताए । उनीहरूको विदेशमै परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै देश फर्काइएकाले सुरक्षित मान्न सकिने उनको तर्क छ । रिपोर्ट नेगेटिभ छ भन्दैमा परीक्षणबिना समुदायमा फर्काउन भने नहुने उनले बताए । नेपालमा अहिले संक्रमण दर घट्दै गएको तथ्यांक छ ।

अधिकांश संक्रमित लक्षणविहीन भएको अवस्थामा आयातित संक्रमण चुनौतीपूर्ण हुन सक्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनका अनुसार यस्तो चुनौतीले विशेषगरी दीर्घरोगी र वृद्धवृद्धाको जीवनरक्षामा जोखिम हुन्छ । ‘ट्राभल हिस्ट्री भएका व्यक्तिको लक्षण नभए पनि अनिवार्य रूपमा पीसीआर गर्नुपर्छ,’ उनले भने, ‘लक्षण नहुँदैमा संक्रमण नसार्ने भन्ने हुँदैन । सार्ने सम्भावना कम हुने मात्रै हो ।’ भारत सीमावर्ती क्षेत्रबाट भित्रिएका, क्वारेन्टाइनबाट भागेका र पोजिटिभ रिपोर्ट आए समाजले बहिष्कार गर्ला भनेर परीक्षण नगराएकाहरूले संक्रमण सार्ने जोखिम भएकाले यतातिर चनाखो हुनुपर्ने उनले बताए । ‘कोरोना आममानिसहरूले सोचेजस्तो खतरनाक होइन, निको हुने रोग हो,’ उनले भने, ‘संक्रमणमुक्त भएर समुदाय फर्केका व्यक्तिमाथि पनि यस्तै विभेद हुने हो भने कोही पनि परीक्षण गर्न प्रेरित हुँदैन र आयातित संक्रमणबाटै समुदायभित्र फैलिन सक्छ ।’



* यसअघि प्रकाशित तथ्यांकमा गल्ती भएकाले सच्याइएको र अद्यावधिक समेत गरिएको छ ।

प्रकाशित : असार २८, २०७७ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×