कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम- समाचार - कान्तिपुर समाचार

कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम

अवधेश झा

सप्तरी — पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाले उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । उर्लंदो भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास छ ।

सप्तकोसी ब्यारेजमा शनिबार सााझ बढेको पानीको बहाव । तस्बिर : अवधेशकमार झा । कान्तिपुर


बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । योजनाले बाँधको उचित मर्मतसम्भारमा ध्यान नदिएकाले कमजोर तटबन्ध भत्काएर कोसीको भेल पश्चिम पस्ने जोखिम बढेको कोसीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले बताए । ‘हामीले पटक–पटक भन्दै आएका छौं कि कोसीमा बालुवाको तटबन्ध निर्माण गरेर बचाउ गर्न सकिँदैन,’ उनले भने, ‘कोसी योजनाले तटबन्ध निर्माणमा लापरबाही गर्दा जोखिम बढ्यो । कोसीकै बालुवा खनेर पश्चिम तटबन्ध बनायो, अहिले त्यही कारणले डलुवाको १३ ठाउँमा सिपेज भएर कोसी फुट्ने खतरा बढेको हो ।’

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलुवामा नदीको भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेको उनले बताए । नेपाल हुँदै भारततर्फ बग्दै आएको सप्तकोसी नदीअन्तर्गत तटबन्धसहित सबै सुरक्षा तथा बचाउको काम कोसी सम्झौताअनुसार भारतको हो । नेपालले भारतीय प्राविधिक र बचाउ कामको सुरक्षा गर्ने सम्झौतामा उल्लेख छ । सन् १९६३ को अगस्टमा सप्तकोसीको बाँध डलुवामा फुटेपछि त्यहाँ नेपाल सरकारको अगुवाइमा भारतले करिब ५ किलोमिटर दूरी भएको अर्को तटबन्ध निर्माण गरेको थियो ।

अहिले फेरि कोसीका भारतीय अधिकारीको उदासीनताले उक्त रिङ बाँधलाई राम्ररी मर्मतसम्भार नगरेका कारण ५७ वर्षपछि पुनः सोही स्थानमा तटबन्ध भत्किने जोखिम बढेको छ । डलुवामा तटबन्ध भत्किए हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिकाका झन्डै २५ हजार परिवारको उठिबास हुने जोखिम छ ।

यसअघि पछिल्लो सात वर्षदेखिको प्रयासमा गत वर्ष भारतले कोसीमा निर्माण गरेको पाइलट च्यानलले बहावको धार परिवर्तन भई पश्चिमी तटबन्धमा दबाब बढेको हो । बाढीको दबाबले शनिबार डलुवा क्षेत्रमा बाँधबाट सिपेज (रसाएको) भएको पानीले तीन वटा स्थानीय तहका ३ सय ६२ वटा घर जलमग्न भएका छन् ।

कोसीकै बाढीले तटीय क्षेत्रका हनुमाननगर कंकालिनी नगरपालिका २ सय ५० र तिलाठी कोइलाडी गाउँपालिकाका १ सय १२ घर जलमग्न भएका हुन् । ‘कोसी योजनाका प्राविधिकहरूको लापरबाहीले हाम्रो नगरपालिकालाई जोखिम भयो । सिपेजले जलमग्न बनाइसक्यो, बाँधै फुट्दा के झन् होला,’ हनुमाननगर कंकालिनी नगरप्रमुख शैलेश साहले भने, ‘बाँध सिपेज भइरहेको ठाउँमा तत्कालै मर्मतसम्भार गरेन भने सप्तरीका एक लाखभन्दा बढी जनसंख्या प्रभावित हुने निश्चित छ ।’

गोबरगाढा बस्ती दुई दिनदेखि जलमग्न छ । ‘अहिले वडाका बस्तीमा झन्डै दुई फिट पानी जमेको छ,’ शनिबार साँझ गोबरगाढाका वडाध्यक्ष विन्देश्वरी यादवले भने, ‘राति पानी बढ्यो भने हुने क्षति आकलनसमेत गर्न सक्दैनौं ।’ गोबरगाढामा ८० परिवारका २ सय जना फसेका छन् । मेयर साहले उनीहरूलाई उद्धार गर्ने तयारी गरिएको बताए ।


प्रकाशित : असार २८, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

मध्यराति प्रहरी छिरेर कुटपिट गरेपछि सप्तरीको क्‍वारेन्टाइनमा तनाव

बिहानैदेखि प्रहरीविरुद्ध नाराबाजी, पीडितहरु भोक हड्तालमा
अवधेश झा

काठमाडौँ — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्‍वारेन्टाइनमा तनाव भएको छ । मंगलबार मध्यराति प्रहरीको एक टोली क्‍वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्‍वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्ताल पनि थालेका छन् ।

स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आइ क्‍वारेन्टाइनमा रहेकालाई कुटपिट गरेको आरोप छ । यो क्‍वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन् ।

मध्यराति प्रहरीले कोठा कोठामा छिरेर अभद्र व्यवाहार गर्दै कुटपिट गरेको अनु कुमारीले बताइन् । क्‍वारेन्टाइनमै रहेका शिव मुखियाले भने, 'मदिरा सेवन गरेर आएका प्रहरीले बिनाकारण कुटपिट गरे ।' क्‍वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राति प्रहरी प्रवेश गरी कुटपिट गरेको बताए । पीडितहरुका अनुसार प्रहरीले यहाँ को-को भारतीय छौं सब निस्केर जा‌ओ भन्दै कुटपिट गरेका थिए ।

क्‍वारेन्टाइनमा तनाव भएपछि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय राजविराजबाट डिएसपी तिलक भारती यहाँ पुगेका छन् । घटनाबारे आफूले बुझिरहेको भारतीले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×