३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अवैध रुपमा मिर्गौला प्रत्यारोपण आरोपमा चितवनबाट दुई चिकित्सकसहित चार पक्राउ

रमेशकुमार पौडेल

चितवन — अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा भरतपुरको पुरानो मेडिकल कलेजका दुई चिकित्सकसहित चार जना शनिबार पक्राउ परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी नान्तिराज गुरुङले काठमाडौंबाट आएको मानव बेचबिखन ब्युरोको टोलीले उनीहरुलाई गिरफ्तार गरेको बताए ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपण आरोपमा चितवनबाट दुई चिकित्सकसहित चार पक्राउ

पक्राउ पर्नेमा अस्पतालका चिकित्सकद्वय डा. सुप्रभात श्रेष्ठ, डा.बालकृष्ण कालाखेती, कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल छन् । ललितपुर जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनीहरु पक्राउ परेका हुन् । यो बाहेक औपचारिक जानकारी आफूसँग नभएको एसपी गुरुङले बताए ।

पुरानो मेडिकल कलेजका निर्देशक डा.मनोहर प्रधानले एक वर्षअघि भएको मृगौला प्रत्यारोपणसम्बन्धी विषयमा उनीहरु समातिएको जानकारी दिए । ‘एक वर्ष अगाडि हाम्रोमा एउटा मिर्गौला प्रत्यारोपण भएको थियो । भक्तपुरको बिरामीलाई ललितपुरको व्यक्तिले मिर्गौला दिएका थिए । विषय त्यही हो,’ डा.प्रधानले भने, ‘नियमअनुसार मिलेन भनेर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढेको बुझेको छु । तर हामीले सबै काम ऐन, नियम र निर्देशिकाअनुसार गरेका छौं ।’

अंग प्रत्यारोपण निर्देशिका अनुसार कानुनी सल्लाहकार र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सम्मिलित समिति बनाएर काम गरेको उनले बताए । त्यही समितिमा रहेका प्रशासनका प्रतिनिधि र अस्पतालका कानुन व्यवसायी गिरफ्तार भएका हुन् । मिर्गौला प्रत्यारोपणका लागि पुरानो मेडिकल कलेजले मान्यता पाएको र नियम मिचेर केही नगरेको प्रधानले दाबी गरे ।

प्रकाशित : असार २७, २०७७ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?