कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ब्युँताइयो ऐतिहासिक दुई पोखरी

लीला श्रेष्ठ

भक्तपुर — संरक्षण अभावमा वर्षौंदेखि खेल मैदानको रुपमा परिणत ऐतिहासिक दुई पोखरी (निगुःपुखुः) लाई मध्यपुर थिमि नगरपालिकाले ब्युँताएको छ ।

ब्युँताइयो ऐतिहासिक दुई पोखरी

मध्यपुर थिमि–४ दुईपोखरी संरक्षण तथा पुनर्निर्माणको पहिलो चरणमा सानो पोखरी पुनर्निर्माण गरी नगरपालिकाले शनिबार साँझ सांस्कृतिक मौलिक बाजागाजा सहित उद्घाटन गरेको हो ।

नगरपालिकाले उपभोक्ता समिति मार्फत चारैतिर इँटाको पर्खाल लगाई, कालीमाटी बिछ्याएर, इँटा छापेर पानी भरेको छ । सुरूमा ६ इञ्च कालीमाटी, ३ इञ्च पाङ्गो माटो र पुनः ६ इञ्च कालीमाटी गरी १५ इञ्च माटो बिछ्याएपछि इँटा सोलिङ्ग गरेर पानी टिकाउने कार्य गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सानो पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले करिब डेढ करोड रुपैयाँ खर्चेको छ ।

दुईपोखरी अन्तर्गत ठूलो पोखरी संरक्षण तथा पुनर्निर्माणको कार्य समेत थालनी भएको उनले बताए । उक्त पोखरी संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाले चालुआर्थिक वर्ष ०७६/७७ मा १ करोड २५ लाख रुपैयाँ र वाग्मती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । पोखरी संरक्षणका गर्न स्थानीय निरन्जन श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको छ ।

आकाशे पानी संकलन गरेर प्रशोधन गरेपछि मध्यपुरथिमि–४ स्थित ऐतिहासिक दुई पोखरीमा पानी भर्ने प्रस्ताव अनुरुप पुनर्निर्माण भएको हो । मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुईस्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने नगरपालिकाले जनाएको छ ।

तीनवर्षमा दुवै पोखरी पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रको रुपमा दुईपोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए । हाल पोखरी वरिपरी ६ वटा फल्चा अवस्थित छ ।

करिब ३ सय वर्षपहिले गंगा महारानीले दुईपोखरी स्थापना गरी मध्यपुर थिमिबासीलाई पानीको स्रोत दिएको भन्ने कथन छ । कुनै भवितव्य होस् अथवा सिँचाइ, जुनसुकै प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने चलन थियो । बढ्दो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा ध्यान जान छाडेको संस्कृतिविद्हरू बताउँछन् । दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीचबाटोमै टुटेपछि पोखरीमा पानी सुकेको हो ।


२०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुईपोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेदेखि नै पोखरीको पानी सुक्न थालेको स्थानीय उत्तरकुमार श्रेष्ठ बताउँछन् । बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको छैन । गाविस हुँदासम्म पोखरीमा पानी थियो, नगरपालिका भएदेखि पोखरीमा मैदानमा परिणत भएको स्थानीय बताउँछन् ।

०६५ मा नगरपालिकाले १० लाखको लगानीमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेको थिएन । जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व थालेपछि मध्यपुर थिमि नगरको ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाहरु मौलिकशैली मै ठडिन थालेको छ ।

नगरपालिकाले दुईपोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रर्दशन स्थल निर्माण गर्ने लक्ष्य लिएको मध्यपुर थिमि–४ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । इनायटोलदेखि दिगुभैरव मन्दिरसम्म पैदल मार्ग निर्माण गरी ठूला सवारी निषेध गर्ने समेत उनले बताए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिरहेको अवस्थामा कुनै सावधानी बिना सयौं नागरिक उपस्थित गराई पोखरी उद्घाटन गरेकोमा केहीले गुनासो समेत गरेका छन् ।

प्रकाशित : असार २७, २०७७ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?