२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेकपा विवाद : तत्काललाई टर्‍यो विभाजन, तर सहमति...

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा छैनौं : दाहाल
बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपा विभाजनको खतरा तत्कालका लागि टरेको छ । सत्तासंघर्षले झन्डै फुटको संघारमा पुगेकोमा शुक्रबारसम्म आउँदा नेकपा विभाजन हुँदैन भन्ने प्रस्ट सन्देश प्रवाह भएको हो ।

नेकपा विवाद : तत्काललाई टर्‍यो विभाजन, तर सहमति...

बुधबारसम्म एक अर्कामाथि कटाक्ष गरेका र आ-आफ्नो अडानबाट एक कदम पछाडि हट्न तयार नभएका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार नाटकीय रुपमा के संवाद भयो भन्ने अन्योल नै छ ।

बाढी–पहिरो, डुबान र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका नेकपा अध्यक्ष दाहालले हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउने पक्षमा आफूहरु नरहेको बताएर पार्टी फुट्दैन भन्ने सन्देश दिएका छन् । ‘हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं । देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्छु’, दाहालले भने, ‘मैले हतार गर्न खोजेको भए अर्को दुर्घटना वा के हुन्थ्यो म अहिले भन्न सक्दिनँ । हामी कुनै न कुनै समझदारी, सहमतिबाट हल निस्कन्छ । पछिल्लो पटक अर्का अध्यक्षसँग भएका कुराहरुको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।,’

बुधबारसम्म प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट कुनै पनि हालतमा राजीनामा नदिने अडान राखेका ओली शुक्रबार धेरै ‘सफ्ट’ देखिएका छन् । यसले नेकपाभित्र पर्दापछाडि भएका घटनाक्रम सकारात्मक दिशा उन्मुख छन् भन्ने देखाएको छ । शुक्रबार राति राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादलाई स्वाभाविक मान्दै छलफलबाट निकास निस्कने बताएका थिए । यसका लागि केही समय लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । पार्टीको स्थायी कमिटी बैठक एक साता पछाडि सारेपछि ओलीले विवाद आपसी छलफलबाटै टुंगिने भएकाले धैर्य र संयम हुन आग्रह गरेका छन् ।

‘अहिले कतिपय राजनीतिक विषय–सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्छ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वाभाविक हो । महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्न उठ्नु अन्यथा पनि होइन । जुनसुकै राजनीतिक दलभित्र हुने विवाद र बहस आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित दल र राजनीतिक नेताहरूकै हो,’ प्रधानमन्त्रीले भनेका छन्, ‘पार्टीभित्र हुने यस्ता बहस, छलफल र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै टुंग्याउनेछन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

ओली र दाहालको अभिव्यक्तिले हतारमा निर्णय नगर्ने र सहमति जुटाउन अरु समय पर्खने उनीहरुबीच सहमति बनेको देखाउँछ । शुक्रबार ओलीले विवाद हल गर्न धैर्य र संयम चाहिने बताएका थिए भने शनिबार दाहालले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा नरहेको बताएका थिए ।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार ओली र दाहालका एक दिनका अन्तरमा एउटै आशयका अभिव्यक्ति आउनु संयोगमात्र होइन । उनले भने, ‘यसको अन्तर्यमा राजनीतिक सन्देश छ जस्तो देखिन्छ । घटनाक्रमले पनि त्यहीँ भनिरहेको छ ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, उनका विश्वास पात्र मानिएका नेता र अध्यक्ष दाहाल निकट नेताहरुले ‘आत्मविश्वास’ का साथ पार्टी विभाजनको संकट टरेको बताएका छन् ।

प्रधानमन्त्रीको नरम अभिव्यक्ति आउनु अगाडि उनका विश्वास पात्र मानिएका प्रदेश–५ का मुख्यमन्त्री एव स्थायी कमिटी सदस्य शंकर पोखरेलले त पार्टी विभाजनको दुर्घटना टरेको बताएका थिए । ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथ सहयोग रहने विश्वासका साथ म आजै शुक्रबार कार्यक्षेत्र बुटवल फर्किएको छु । पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै संवादको प्रक्रिया अघि बढाउन भूमिका खेल्नु हुने सबै धन्यवादको पात्र हुनुहुन्छ,’ मुख्यमन्त्री पोखरेलले शुक्रबार साँझ बुटवल पुगेर सामाजिक सञ्जालमार्फत विकसित राजनीतिक घटनाक्रमबारे धारणा राखे ।

र, उनले पार्टी विवाद समाधानका लागि सूत्र अगाडि सारे, ‘पार्टी एकताले नै आजको शक्तिआर्जन भएको हो र पार्टी एकताको रक्षाबाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ । पार्टी एकता रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौं । निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन । धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडामा रहेका जनताको सेवामा जुटौं । बेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुँदैन ।’

मंगलबार ओली र दाहाल संवाद हुँदा सहभागी चारमध्ये एक नेता पोखरेल पनि हुन् । त्यही संवादमा सहभागी दाहाल निकट अर्का नेता जनार्दन शर्माले पनि पार्टीभित्रको किचलो बिर्सिएर विपदको बेला नयाँ सिराबाट काम थाल्नुपर्ने बताए । ‘आज फेरि अँध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको विपतबाट पार पाउन नयाँ सिराबाट काम थालौं ।’

बिहीबार के भएको थियो ?

बिहीबार दुई अध्यक्षबीच भेट नभए पनि टेलिफोनमा संवाद भएको थियो । यसबाहेक ओली निकट चार नेताले अध्यक्ष दाहाललाई उनकै निवास पुगेर भेटेका थिए । उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवाली दाहाल निवास खुमलटार थिए । सोही दिन उपाध्यक्ष वामदेव गौतमले पनि दाहाललाई भेटेका थिए । यस्तै, पूर्वमाओवादी समूहका स्थायी कमिटीका केही नेताहरु पनि दाहाललाई भेट्न खुमलटार गएका थिए ।

सोही दिन पार्टीका दोस्रो तहका ११ नेताको पनि बैठक भएको थियो । पार्टी एकता बचाइराख्ने र सहमतिमै नेतृत्वको कार्यविभाजन गर्न बैठकको सन्देश लिएर कृषिमन्त्री घनश्याम भुसाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रवक्ता श्रेष्ठको भनाइ छ– ‘अन्धता र स्वार्थकेन्द्रित दासत्व घातक विष हो’

तर, बैठक स्थगन र दुई अध्यक्षबीचको छलफलका विषयवस्तुतर्फ केही असन्तुष्टि पोख्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ थियो, ‘कम्युनिष्ट हुन–आलोचनात्मक र क्रान्तिकारी होउ । तथ्यबाट सत्य पत्ता लगाउ । सत्य, न्याय, देश, श्रमजीवी वर्ग र जनताका पक्षमा उभिउँ । व्यक्तिवाद होइन, पद्धति र सामूहिकताको पक्ष लिउँ । स्पष्ट र खुला होउ, छलछाम होइन । आफ्नै टाउको हल्लाउ र विवेक प्रयोग गर । अन्धता र स्वार्थकन्द्रित दासत्व घातक विष हो ।’

प्रकाशित : असार २७, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?