कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक सवारी सञ्‍चालनको पहलका लागि कार्यदल गठन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सार्वजनिक सवारी सञ्‍चालनका लागि आवश्यक पहल गर्न भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनहरुले कार्यदल गठन गरेका छन् । महासंघ र तीनवटा मजदुर संगठनको शनिबार ललितपुरमा बसेको संयुक्त बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै ४ सदस्यीय कार्यदल गठन गरेको हो ।

फाइल तस्बिर

कार्यदलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका कार्यवहाक अध्यक्ष दिपक केसी छन् ।

कार्यदलले लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधनहरु सुरक्षित रुपमा सञ्चालनका लागि आवश्यक पहलकदमी गर्ने बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । व्यवसायी र मजदुर संगठनले यथास्थितिमा सवारी साधनहरु सञ्चालन गर्न नसिकने भन्दै उपयुक्त वातावरण बनाउन सरकारसमक्ष अनुरोधसमेत दोहोर्‍याएका छन् ।

२३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका आवश्यक मापदण्ड पुर्‍याइ काठमाडौं उपत्यकाकाभित्र र बाहिरका जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, शुक्रबार महासंघले आफ्ना सर्त सरकारले पूरा नगरेको भन्दै तत्काल यातायातका साधन नचलाउने निर्णय गरेको थियो ।

सरकारले कोभिड १९ को महामारी नियन्त्रणका लागि भन्दै गत चैत ११ देखि लागू गरेको लकडाउनका कारण सार्वजनिक सवारी साधनहरु चलेका छैनन् ।

यो पनि

प्रकाशित : असार २७, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

क्‍वारेन्टाइनमा रहेका वृद्धको मृत्यु

सम्झना रसाइली

तनहुँ — जिल्लाको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्‍वारेन्टाइनमा राखिएका एक वृद्धको मृत्यु भएको छ । शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । 

असार २४ गते भारतबाट बिरामी अवस्थामै ल्याइका ती ६६ वर्षीय वृद्धलाई क्‍वारेन्टाइनमा राखिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार बिरामी अवस्थामा ल्याइएको ती वृद्ध सुगर,प्रेसर,दम,प्यारालाइसिस जस्ता रोगबाट पीडित थिए ।

‘शुक्रबार रातिसम्म उनको स्वास्थ्यमा खासै केही समस्या देखिएको थिएन’, उनले भने, ‘शनिबार बिहान करिब ४:३० बजेको समयमा अचानक स्वास्थ्य समस्या देखिएपछि एम्बुलेन्स बोलाएर उनलाई पोखरा उपचारका लागि लगिएको थियो ।’

वृद्धको स्वाबको नमुना संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।

प्रकाशित : असार २७, २०७७ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×