१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री राउत र मन्त्रीहरुको राजीनामा माग

अजित तिवारी

जनकपुर — संघीय समाजवादी पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहित सबै मन्त्रीहरुको राजीनामा माग उठेको छ । जनकपुरस्थित मुख्यमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री र मन्त्रीहरुले सरकार चलाउन नसकेको र बजेटलाई आफ्नो केन्द्रित गरेको भन्दै सांसदहरुले राजीनामा मागेका हुन् ।

पार्टी संसदीय दलको बैठकमा मुख्यमन्त्री राउत र मन्त्रीहरुको राजीनामा माग

सर्लाहीका प्रदेश सांसद अशोककुमार यादवले मुख्यमन्त्री राउत र मन्त्रीहरुले काम गर्न नसकेको भन्दै राजीनामा मागे । ‘मुख्यमन्त्री र मन्त्रीहरु आफ्नो जिल्ला र पालिकामा मात्रै केन्द्रित भए । फुटकर र सानातिना योजनामा आखाँ गाँडेका छन् । यसरी प्रदेश सरकार चल्न सक्दैन,’ दलको बैठकमा सांसद यादवले भने, ‘तपाईंहरु सरकार चलाउन सक्नु भएन । राजीनामा गर्नुस् । अर्को टिमले सरकार चलाउँछ ।’

‘प्रदेश सरकारले अहिलेसम्म तीनवटा आर्थिक वर्षको बजेट चलाइसक्यो । प्रदेशमा कहाँ र कुन ठाउँमा प्रभावकारी विकास भएको छ, देखाइदिनु पर्‍यो,’ सांसद यादवले बैठकमा राखेको धारणा उल्लेख गर्दै स्रोतले भन्यो,‘ मन्त्रीहरु आफ्नै स्वार्थमा लागेका छन् । बजेट जति आफ्नै पालिका र क्षेत्रमा खन्याएका छन् । जति भनेपनि सुध्रिनु भएन । अब राजीनामा गर्नुस् ।’

प्रदेश २ मा समाजवादी पार्टीबाट मुख्यमन्त्री राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सरकारमा छन् ।

सांसद यादवले संसदीय दलको बैठकमा सरकार र मन्त्रीहरुको काम–कारबाही प्रभावकारी नभएको भन्दै आलोचना गरिएको बताए । ‘धेरै सांसदहरुले सरकारका मुख्यमन्त्री र मन्त्रीहरु आफ्नै लयतालमा रहेकाले प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना गरे,’ सांसद यादवले कान्तिपुरसँग भने, ‘काम गर्न सक्नुहुन्न भने बाटो खुल्ला गर्न भनिएको छ ।’ प्रदेश सरकारको नेतृत्व गरेको ३ वर्ष नबित्दै सत्तासिन दलमा असन्तुष्टि चुलिएको छ ।

संसदीय दलको बैठकमा सांसद पारस साह, करिमा बेगम, सञ्चमाया मोक्तान लगायतले सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले पनि मन्त्रीहरुको कार्यशैलीप्रति रोष प्रकट व्यक्त गरेका छन् ।

संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपनि प्रदेश २ मा यी दुई दलकै संयुक्त सरकारले छुट्टाछुट्टै संसदीय दल अझै कायम छ ।

प्रकाशित : असार २७, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?