१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कर्णालीमा हवाइ सेवा सुचारु

सुर्खेत — कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा र मुगुमा हवाइ सेवा सुचारु भएको छ । लामो समयदेखिको लकडाउनका कारण खाद्यान्‍न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव हुन थालेपछि हवाइ सेवा सुचारु गरिएको हो ।

कर्णालीमा हवाइ सेवा सुचारु

उडान बन्द हुँदा विशेष कामले बाहिर जाने यात्रुहरु समस्यामा थिए भने गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत उद्दार गरिएको थियो । हुम्लामा सडक सुविधा नहुँदा हवाइसेवाको विकल्प छैन भने डोल्पा र मुगुमा वर्षाका कारण सडक यातायात बन्द भएपछि उडान सुचारु भएको हो ।

उडान सुचारु भएपछि हुम्लामा यस वर्ष खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव छैन । एक साता उडान रोकिए हुम्लामा उपभोग्य सामग्रीको हाहाकार मचिने सिमकोटका अगुवा लोटइ लामाले बताए । ‘जहाज आए सबैथोक पाइन्छ,’ उनले भने, ‘रोकिए सबै कुराको अभाव ।’ उनका अनुसार उत्पादन कम हुने भएकाले ताजा तरकारी पनि बाहिरैबाट ल्याउनुपर्ने बाध्यता छ ।

जुफाल विमानस्थलमा असार पहिलो सातादेखि कार्गो उडान भइरहेको छ भने गृह मन्त्रालयको स्वीकृतिमा निजी एयरलाइन्सले अलपत्र यात्रुलाई डोल्पा ल्याइरहेका छन् । ‘२ वर्षअघि ट्रयाक खोली सदरमुकामसम्म सडक सुविधा पुर्‍याइए पनि भेरी नदी र विभिन्‍न खोलामा पुल नहुँदा गाडी चलाउन समस्या छ,’ डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने, ‘लकडाउनकै अवधिमा काठमाडौं र नेपालगन्जमा अलपत्र परेका स्थानीयलाई झण्डै एक दर्जन उडानबाट जिल्लामा ल्याइयो ।’

वर्षा सुरु भइसकेकाले केही महिनासम्म हवाइ उडानको विकल्प नभएको उनको भनाइ छ । अहिले डोल्पामा तारा र समिट एयरलाइन्सले सातामा १५ वटासम्म कार्गो उडान भरिरहेका छन् ।

मुगुस्थित रारा विमानस्थलमा ३ महिनापछि बुधबारदेखि उडान सुचारु भएको छ । सीता एयरलाइन्सले गृह मन्त्रालयको अनुमतिमा विमानस्थलमा उडान सुचारु गरेको हो । लकडाउनका कारण उडान नहुँदा बाहिर जाने र मुगु भित्रिने यात्रुहरु समस्यामा परेपछि चार्टर फ्लाइट सुरु गरिएको सहायक विमानस्थल प्रमुख किरण दाहालले बताए । उनका अनुसार एयरलाइन्सले सातामा १० फ्लाइट गर्ने सहमति भएको छ । ‘जहाजमा यात्रा गर्ने व्यक्तिले अनिवार्य रुपमा आरडीटी वा पीसीआर रिपोर्ट बुझाउनुपर्ने नियम बनाइएको छ,’ उनले भने, ‘जहाजमा सामाजिक दूरी कायम गरिनेछ ।’

रारा विमानस्थलका अनुसार जहाज चढ्ने व्यक्तिका लागि जिल्ला प्रशासनको अनुमति अनिवार्य गरिएको छ । चार्टर उडानमा नेपालगन्जबाट १० हजार र मुगुबाट नेपालगन्ज जाँदा ५ हजार ८ सय ३५ रुपैयाँ भाडा कायम गरिएको सीता एयरलाइन्सले जनाएको छ ।

सामान ढुवानीमा हवाइ कम्पनीको प्रतिस्पर्धा

सडक यातायातले नछोएको हुम्लामा सामान ढुवानी गर्न निजी हवाइ कम्पनीको प्रतिस्पर्धा चलेको छ । यसअघि प्रतिकिलो १ सय ५० रुपैयाँ प्रतिकिलो रहेको हवाइ भाडा लकडाउनयता झण्डै १ सय रुपैयाँमा झरेको छ ।

ढुवानी सहज भएपछि जिल्लामा खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्रीको मौज्दात बढेको छ । अहिले नेपालगन्ज र सुर्खेतबाट दैनिकजसो निजी एयरलाइन्सले उडान भरिरहेको निर्माण व्यवसायी शक्तिसिंह ऐडीले बताए ।

‘कुनै बेला जहाजले सामान ढुवानी गर्न नमान्दा नेपालगन्ज र सुर्खेतमा निर्माण सामग्री लामो समयसम्म थन्क्याउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले निर्माण सामग्रीको अभाव नभएपछि विकास निर्माणका काम सहज बनेका छन् ।’ लकडाउनयता सामान ढुवानीको सिन्डिकेटसमेत हटेको उनको भनाइ छ ।

यात्रुको चाप नहुँदा पनि सामान ढुवानी सहज बनेको सीता एयरलाइन्स, सिमकोटका स्टेसन प्रमुख छेबेल लामाले बताए । उनका अनुसार सीता एयरले अहिले नेपालगन्ज र सुर्खेतबाट प्रतिकिलो ९५ रुपैयाँमा सामान ढुवानी गरिरहेको छ । सिमकोट विमानस्थलका अनुसार समिट एयर र तारा एयरले १ सय रुपैयाँ प्रतिकिलो सामान ढुवानी गरिरहेको छ ।

सुर्खेतबाट कृष्णप्रसाद गौतम, मुगुबाट राजबहादुर शाही र हुम्लाबाट छपाल लामा

प्रकाशित : असार २७, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?