१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रोकिएको छैन गौतम बुद्ध रंगशाला निर्माण

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न करोड हैन अर्बौं रूपैयाँ लाग्छ । जग्गा उपलब्ध भए एकीकृत बस्ती निर्माण गर्दा सहयोग जुटाएझैं देश–विदेशका नेपालीबाट सहयोग उठाएर रंगशाला बनाउने फाउन्डेसनले घोषणा गर्‍यो । रंगशाला निर्माणका लागि रामपुरमा जग्गा जुट्यो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा क्रिकेट रंगशाला बन्ने भयो ।
रमेशकुमार पौडेल

चितवन — कोरोना कहरले कामदार र निर्माण सामग्रीकै अभाव छ । वर्षा सुरु भएको छ । काम गर्दा बाधा पर्न सक्छ । सर्वसाधारणबाट सहयोग रकम जुटाएर अर्बौंको काम गर्नुपर्नेछ । देश विदेशबाट पैसा जुट्ने सम्भावना कमजोर हुँदै गएको छ । एक हैन अनेक बाधा–व्यवधान र प्रतिकूल अवस्था भए पनि चितवन रामपुरमा बन्दै गरेको प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकिएको छैन । जारी छ काम ।

रोकिएको छैन गौतम बुद्ध रंगशाला निर्माण

सदरमुकाम भरतपुर र चितवनको मुख्य बजार क्षेत्र नारायणगढबाट पश्चिम लागेपछि ८ किलोमिटर दूरी पार गर्दा निर्माणस्थल पुगिन्छ । रामपुर क्याम्पसले परिचित कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गरकोमध्ये २० बिघा जग्गा घेरेर रंगशाला निर्माणको काम अगाडि बढेको छ । निर्माणस्थलको मुख्य गेटबाट छिर्नासाथ देखिन्छ हरियो गोलाकार चौर । यो क्रिकेट खेल्न तयार भएको नमुना मैदान हो ।

राष्ट्रियस्तरका कुनै पनि क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने यो नमुना मैदान ५५ मिटर रेडियसको छ । जसमा तीनवटा पिच छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुँदा यसको अस्तित्व रहने छैन । यहाँ पार्किङ एरिया बन्नेछ । तर बन्दै गरेको स्टेडियममा एउटा नमुना मैदान बनाउने र सम्भव भएका खेलहरू चलाउँदै जाने उद्देश्यले यो तयार भएको हो ।

नमुना मैदानदेखि केहीपर दाहिनेतर्फ साइट अफिस र क्यान्टिन छ । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरे अहिले यहीं भेटिन्छन् । अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने अभिभारा फाउन्डेसनले नै लिएको छ । अध्यक्ष कट्टेल परियोजना कार्यालयका प्रशासकीय प्रमुख मुक्ति तिमिल्सिनासँग आर्थिक पक्ष र भावी रणनीतिबारे छलफल गर्दै थिए ।

नमुना मैदान र कार्यालय क्षेत्रबाट दक्षिणतर्फ छ रंगशाला निर्माणस्थल । अस्थायी बारले यी क्षेत्रहरूलाई छुट्याएको छ । निर्माणस्थलमा निमित्त परियोजना व्यवस्थापक मणि दासले प्राविधिक र कामदारहरूलाई निगरानी गरी रहेका छन् । आकार आउँदै गरेको क्रिकेट मैदान र पिलर ठडिँदै गरेको प्यारापिट क्षेत्रको अगाडि उभिएर अध्यक्ष कट्टेलले भने, ‘साउन १ देखि कामलाई झनै तीव्र पार्नेछौं । हामी पटक्कै रोकिँदैनौं ।’

निर्माण यात्राका उतारचढाव

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता त पायो तर क्रिकेट रंगशालाको अभाव थियो । भूकम्पपछि बस्ती पुनर्निर्माणको अनुभव बटुलेको धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना सार्वजनिक गर्‍यो । फाउन्डेसनले देश विदेशमा रहेका नेपालीसँग सहयोग जुटाएर बस्ती निर्माणको काम गरेको थियो । बढीमा ६ करोड रुपैयाँसम्म खर्च गरेर एकीकृत बस्तीहरू तयार भएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्न करोड हैन अर्बौं रुपैयाँ लाग्दछ । जग्गा उपलब्ध भए एकीकृत बस्ती निर्माण गर्दा सहयोग जुटाएझैं देश–विदेशका नेपालीबाट सहयोग उठाएर रंगशाला बनाउने फाउन्डेसनले घोषणा गर्‍यो । रंगशाला निर्माणका लागि रामपुरमा जग्गा जुट्यो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा क्रिकेट रंगशाला बन्ने भयो ।

विश्वविद्यालयको उत्तर–पश्चिम कुनामा रहेको घोल जग्गामा रंगशाला बनाउन फाउन्डेसनले भरतपुर महानगरपालिकासँग सहमति गरेको हो । उक्त जग्गा त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका तत्कालीन उपकुलपति ईश्वरीप्रसाद ढकालले रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएका हुन् ।

२०७५ सालको माघ १६ मा काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको उपस्थितिमा भरतपुर महानगरपालिका र फाउन्डेसनबीच रंगशाला निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर भयो । भरतपुर महानगरले जग्गा उपलब्ध गराएपछि सहयोग जुटाएर रंगशाला बनाउने अभिभारा फाउन्डेसनले लियो ।

त्यसको चार दिनपछि माघ २० गते फाउन्डेसनका अध्यक्ष कट्टेल, उपाध्यक्ष घिमिरेसहितको टोली निर्माणस्थल रामपुर आए । उनीहरूको भव्य स्वागत भयो । त्यो दिन भएको कार्यक्रममा अध्यक्ष कट्टेलले ६ महिनाभित्र रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र डीपीआर बनेको दुई वर्षभित्र रंगशाला निर्माण गरेर सक्ने उद्घोष गरे । त्यसपछि निर्माणस्थलमा अस्थायी बार लगाउने काम सुरु भयो ।

निर्माणस्थलको पश्चिम दिशाको बार लगाउँदै गर्दा स्थानीयले असहमति जनाए । विवाद बढ्दै गयो । गत वर्ष जेठ १५ मा डोजर नै लगाएर स्थानीयले बार भत्काए । यो घटनाले रंगशालाको भविष्य नै अन्योलमा पर्‍यो । फाउन्डेसनले तत्काल काम स्थगित गर्‍यो । भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति र फाउन्डेसनबीच छलफल भयो । सुरक्षा र सहयोग गर्नेे प्रतिबद्धतापछि फाउन्डेसन काममा फर्कियो ।

डीपीआर तयार भएपछि गत मंसिर १ गतेदेखि निर्माणको काम औपचारिक सुरु भएको अध्यक्ष कट्टेलले बताए । निर्माण अगाडि बढ्न थालेपछि देश–विदेशका नेपालीले सहयोग गर्न थाले । ‘एक जना वृद्धा आमाले वृद्धभत्ता बुझेर जम्मा गरेको १० हजार रुपैयाँ हामीलाई दिनुभयो । दाल, चामल, नुन, तेल र सागका मुठाहरूसमेत ल्याएर दिए,’ परियोजनाका प्रशासकीय प्रमुख तिमिल्सिनाले भने ।

निर्माण अगाडि बढ्दै गर्दा ठूलो रकम आवश्यक पर्दथ्यो । त्यसका लागि धार्मिक महायज्ञ लगाउने योजना बन्यो । गत माघ १९ देखि २७ गतेसम्म रंगशाला निर्माणस्थलमै महायज्ञ सम्पन्न भयो । यज्ञ आयोजक समितिका महासचिव दिनेश चुकेका अनुसार त्यो बेला उठेको ७ करोड १४ लाख ५६ हजार ६ सय ८४ रुपैयाँ फाउन्डेसनलाई हस्तान्तरण भइसकेको छ ।

तत्काल रकम नदिए पनि महायज्ञका बेला ६१ करोड ५० लाख ७९ हजार ४ सय ९१ रुपैयाँ रंगशालाका लागि सहयोग दिने भनेर विभिन्न निकायले कबोल गरेका छन् । त्यसमा सरकारी क्षेत्रले ५१ करोड ६० लाख ३० हजार ८ सय ३२ रुपैयाँ र निजी क्षेत्रले ९ करोड ९० लाख ४८ हजार ६ सय ५९ रुपैयाँ दिने भनेर कबोल गरेका महासचिव चुकेले जानकारी गराए । सवैभन्दा धेरै वाग्मती प्रदेश सरकारले ३० करोड रुपैयाँ दिने कबोल गरेको छ । महायज्ञले निर्माणका लागि उत्साह थपेको थियो । प्राविधिक र मजदुरहरू गरी दिनमै तीन सय जना काममा खट्न थाले । क्रिकेट मैदानको काम धमाधम हुँदै थियो । श्रीलंकाका पहिलो टेस्ट कप्तान बन्दुला बार्नापुराको सल्लाह र निर्देशनमा क्रिकेट मैदानको काम हुँदै छ । त्यसैगरी प्यारापिटको जग खन्ने र ढलान गर्ने काम पनि अगाडि बढेको थियो । त्यही बेला कोरोना कहर बढ्दै गयो । चैत ९ गतेदेखि निर्माण कार्य स्थगित भयो ।

‘मैदानको काम धेरै नै अगाडि बढेको थियो । चैतकै रफ्तारमा काम गर्न पाएको भए अहिले त लगभग मैदानको काम सकिन्थ्यो,’ अध्यक्ष कट्टेलले भने । रोकिएको काम वैशाख २० बाट बिस्तारै अगाडि बढ्दै छ । डीपीआरअनुसार क्रिकेट रंगशाला ३० हजार दर्शक अट्ने क्षमताको हुनेछ । ७५ मिटर रेडियसको मैदानमा सातवटा पिच हुनेछन् । प्यारापिटमा ३ सय ६८ वटा पिलर रहने निमित्त परियोजना व्यवस्थापक मणि दासले बताए ।

‘समग्रमा अहिले १० प्रतिशत हाराहारीमा काम भयो भन्दा हुन्छ । समस्याहरू यस्तो छ । कामको गति घटेको छ । पहिलाको तुलनामा १० प्रतिशत जति पनि कामको रफ्तार छैन,’ निमित्त व्यवस्थापक दासले भने । डीपीआरअनुसार रंगशालाको लागत तीन अर्ब रुपैयाँभन्दा बढी छ । हालसम्म १७ करोड २९ लाख रुपैयाँबराबरको काम भएको छ । अब कामको रफ्तार ह्वात्तै बढाउने तयारीमा फाउन्डेसन छ ।

अब के हुन्छ ?

‘आउँदो साउन १ लाई आधार मानेर त्यस दिनपछि १८ महिनाभित्र निर्माणको काम सक्ने तयारीमा जुट्ने हाम्रो योजना हो,’ फाउन्डेसनका अध्यक्ष कट्टेलले भने । मैदानको काम १५ प्रतिशत बाँकी छ । प्यारापिटको पिलरको जग राख्ने काम लगभग सकिएको छ । वैशाख २० देखि लगभग सय कामदार फिल्डमा जुटेका छन् । ७० वटा पिलर ढलानको काम अगाडि बढ्दै छ । कामको रफ्तार बढाउन कामदारसँगै खर्च पनि आवश्यक पर्दछ । आउँदा दिनहरूमा दैनिक हजार जना कामदार खट्नुपर्ने हुन्छ ।

देश विदेशका नेपालीबाट सहयोग जुटाउने अभियानमा कोरोना कहरले बाधा पुर्‍याएको छ । पहिला दिनमा सरदर ७ लाख रुपैयाँ सहयोग राशि जुट्ने गर्दथ्यो । अहिले फाट्टफुट्ट कुनै दिन ४०–५० हजार रुपैयाँ आउँछ । कुनै दिन केही पनि जुट्दैन । महायज्ञका बेला दिने भनर कबोल गरिएको बाँकी ६१ करोड रुपैयाँ दिन थाले यो बेला धेरै सहज हुने उनले बताए । यसमध्ये ग्लोबल आईएमई बैंकले हालै मात्र एक करोड दिएको छ ।

‘अहिलेलाई हाम्रो ठूलो आशा भरोसा भनेकै त्यही महायज्ञका बेला बोलेको रकम नै हो,’ अध्यक्ष कट्टेलले भने । अहिलेसम्म १७ करोड रुपैयाँभन्दा बढी खर्च भए पनि आम्दानी १४ करोड रुपैयाँ मात्रै छ । कट्टेलले सरकारले पनि अनुदानको रूपमा सहयोग गर्न सक्ने बताउँछन् । तर अहिलेसम्म सरकारबाट हेटौंडा उपमहानगरको ३० लाख रुपैयाँबाहेक नगद सहयोग अन्यत्रबाट आएको छैन । सरकारी निकायहरू सकारात्मक भएको हुँदा आफू आशावादी भएको उनले बताए ।

लकडाउन र कोरोनाको महामारी नआएको भए जनस्तरबाटै सहयोग जुट्ने राम्रो वातावरण बन्दै गएको सुनाउँछन् अध्यक्ष कट्टेल । ‘यस्तो विषम अवस्था छ । हामीलाई सहयोग दिनुस्/गर्नुस् मात्रै कति भन्ने ? तर काम आँट्यौं, गर्दै पनि छौं । अहिलेसम्म हामीले आर्थिक कारणले काम रोकेका छैनौं । अब पनि त्यस्तो पक्कै हुँदैन भन्ने लाग्छ,’ उनले भने ।

प्रकाशित : असार २७, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?