कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश २ का आठै जिल्ला डुबानमा

उच्च सतर्कता अपनाउन सुरक्षा निकायका प्रमुखलाई मुख्यमन्त्री राउतको निर्देशन
प्रदेश ब्युरो

जनकपुर — बुधबार रातिदेखिको लगातारको झरीले प्रदेश २ का ठूला नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा पनि वर्षा नरोकिएकाले प्रदेश २ का आठै जिल्ला डुबानमा परेका छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका प्रमुखलाई शुक्रबार उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । रौतहट, सर्लाही, महोत्तरी र सप्तरी बाढीको उच्च जोखिममा छन् ।

प्रदेश २ का आठै जिल्ला डुबानमा

शुक्रबार विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले बाढीको जोखिम न्यूनीकरणका लागि तयारी बस्न र आवश्यक सामग्री तत्कालै उपलब्ध गराउन सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिए । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डीआईजी राजु अर्यालका अनुसार जोखिम क्षेत्रमा सतर्कता अपनाउन उद्धारसहितको छुट्टै टिम पनि परिचालन गरिएको छ । ‘बढी जोखिम क्षेत्र नजिकका पोस्टलाई अलर्टमा राखिएको छ,’ उनले भने, ‘पोहोर जहाँ बढी क्षति पुर्‍यायो, त्यहाँ बढी फोकस गरेर रणनीति बनाइएको छ ।’ गत वर्ष असारको अन्तिम साताको वर्षाले प्रदेश २ का सबै जिल्ला प्रभावित बनेका थिए । तटबन्ध भत्काउँदै बाढी बस्तीमा छिरेपछि जनधनको ठूलो क्षति भएको थियो । प्रदेशका ठूला नदी कमला, वाग्मती, बकैया, रातु, खाँडो र लखनदेहीमा पानीको बहाव तीव्र बनेको छ । प्रदेश १ र २ को सीमाबाट बग्ने कोसी नदी पनि उफानमा छ ।

बिहीबार रातिको वर्षाले रौतहटको चन्द्रपुर–२ स्थित पूर्वपश्चिम राजमार्गको लच्का खण्डमा बाढी पसेपछि शुक्रबार बिहान ४ बजेदेखि सवारी आवागमन प्रभावित भएको छ । बाढीले बगाउने खतराका कारण रोकिएका गाडीलाई सुरक्षाकर्मीले वारपार गराएका छन् । रौतहटको दक्षिणी क्षेत्र डुबानमा पर्ने त्रासमा स्थानीय छन् । पानीको निकास नहुँदा उत्तरी भेगका केही गाउँ पनि डुबानमा परेका छन् । गत असार र साउनमा रौतहटको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो ।

महोत्तरीका १५ स्थानीय तहमध्ये दक्षिणी भेगका १४ स्थानीय तह उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । उत्तरतर्फको बर्दिवास नगरपालिकामा भने किसाननगर, पशुपतिनगर, विजलपुरालगायतका स्थानमा मात्र बाढी र डुबानको समस्या छ । रातु नदीको डिलमै घर भएका भंगाहा–४ पोका टोलका राजकुमार दासले कतिबेला घर छोडेर भाग्नुपर्छ भन्ने त्रास भएकाले वर्षा लागेपछि रातभरि निद्रा नपरेको बताए ।

जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने अस्थायी बासस्थान पहिचान गरिएको र खोज उद्धारका सामग्री खरिद गरिसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार यहाँ १९ हजार ७ सय ८८ घर उच्च जोखिममा छन् । महोत्तरीको रातु, जंगाहा, मराहा, बाँके, बिगही, बक्सीलगायत नदीको बाढीले बर्सेनि जनधनको क्षति पुर्‍याउने गरेको छ ।

-अजित तिवारी (जनकपुर), शिव पुरी (रौतहट) र सुनिता बराल (महोत्तरी)

प्रकाशित : असार २७, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?