कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजस्थानबाट उत्तरपूर्व हावा चलेपछि नेपालमा फेरि सलह आउने सम्भावना

गोविन्द पोखरेल

काठमाडौँ — भारतको राजस्थानबाट उत्तरपूर्व हावा बहन थालेपछि त्यहाँ रहेका सलहका ठूला झुन्डहरु नेपाल प्रवेश गर्न सक्‍ने प्रबल सम्भावना रहेको सलह सूचना केन्द्रले जनाएको छ ।

राजस्थानबाट उत्तरपूर्व हावा चलेपछि नेपालमा फेरि सलह आउने सम्भावना

केन्द्रका प्रमुख एवं कीट विज्ञ रामकृष्ण सुवेदीले राजस्थानबाट पश्चिम दक्षिणबाट बहिरहेको हावा उत्तरपूर्व बहन थालेपछि त्यहाँ रहेका सलहका ठूला झुन्डहरु नेपाल प्रवेश गर्ने सम्भावना धेरै रहेको बताएका हुन् । उनले भने,'राजस्थानबाट उत्तरपूर्व हावा बहनु भनेको नेपालतिर हो । त्यहाँ ठूलो झुन्ड छ । अहिलेकै अवस्थामा हावाको बहाव रह्यो भने हाम्रो देशमा पस्‍ने प्रवल सम्भावना छ । '

सलह अध्ययन गर्न गठित प्राविधिक कार्यदलका सदस्य एवं कीट विज्ञ सुनिल अर्यालले राजस्थानको सिकर आसपासका क्षेत्रमा करिब ४ सय हेक्टर क्षेत्रफलमा फैलिएका ५ वटा झुण्डहरु चुरु हुँदै पूर्व र उत्तरतर्फ साहजहाँपुर तथा सीतापुर क्षेत्रमा अगाडि बढ्न सक्ने पूर्वानुमान गरिएको बताए ।

'अनुकूल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमि (पश्चिम) तर्फ जानुपर्ने यी परिपक्‍व हुँदै गरेका झुण्डहरु हावाको बहावसँगै पूर्वोत्तरतर्फ लाग्‍न सक्ने पूर्वानुमान गरिएको छ,' अर्यालले भने,'यस्तो अवस्थामा हावाको बहावसँगै उक्त झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ । '

नेपालमा कस्तो खालको सलहको झुन्ड आउँछ भन्ने कुरा भारतमा सलह नियन्त्रणका लागि गरिने प्रयासमा निर्भर हुने सलह सूचना केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सुवेदीले नेपालमा प्रवेश गर्ने झुन्डलाई हावा,पानी र बादलमा भर पार्ने बताए । उनले हावाको बहाव केही दिन उत्तर पूर्व बहने भएकाले नेपाल प्रवेश गर्न सक्‍ने सम्भावना रहेको बताए । यस्तै भारतको उत्तर प्रदेशमा पानी परिरहेकाले केही झुन्डहरु त्यतै बस्‍न सक्‍न सम्भावना पनि रहेको बताए । कालो बादल देखिदा सलहको समूह धेरै उड्न नसक्‍ने उनले बताए ।

कीट विज्ञहरुले भदौसम्म नेपालमा सलह प्रवेशको त्रास हुने जनाएका छन् । अर्यालले भने,'अहिले राजस्थानमा स-साना झुन्डहरु पनि छन् । तिनीहरु परिपक्‍व हुन भदौसम्म लाग्छ । हावाको बहाव परिवर्तन भइदियो भने ती झुन्डहरु नेपाल प्रवेश गर्न सक्‍ने सम्भावना हुन्छ । '

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सलह नियन्त्रणका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ र विभिन्‍न उपकरणहरु खरिद गर्न पनि सुझाव दिइसकेको छ । केन्द्रले कृषि मन्त्रालयलाई पावर स्प्रेयर,गाडीमा लोड गर्ने स्प्रेयर,दमकलमा फिट गर्न सकिने स्‍पे,नेट लगायतका उपकरण तथा विषादीहरु खरिद गर्न सुझाव दिएको सुवेदीले बताए ।

प्रकाशित : असार २६, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?