नेकपा बैठक : स्थगित हुनुका ६ कारण
काठमाडौँ — पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक दुई अध्यक्षको संवादपछि एक साता धकेलिएको हो । मुलुकमा बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएको र यसमा जुट्नु पर्ने भएकाले बैठक स्थगित भएको नेकपाको दावी छ ।
तर, बैठक स्थगित हुनुमा प्राकृतिक विपत्तिमात्र कारण नभएर राजनीतिक कारण पनि छन् । पार्टीभित्रको शक्तिसंघर्ष, शीर्ष नेतामाथि दबाब र चिनियाँ चासोलगायतका राजनीतिक कारण पनि बैठक स्थगित हुनुको कारण मानिएका छन् । १० असारबाट सुरु भएको बैठक असार १८ देखि लगातार स्थगित छ ।
बैठक अब साउन २ मा मात्रै बस्नेछ । त्यसबीचमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवाद जारी रहने तथा आबश्यक परे अन्य नेताहरुले पनि संवाद गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । एक नेताका अनुसार यो बीचमा पार्टी सचिवालयको बैठक पनि बस्ने सम्भावना छ । बैठक स्थगित हुनुका यी हुन् ६ मुख्यकारण :
पार्टी विभाजन रोक्ने ओली दाहाल–चाहना
नेकपाको स्थायी कमिटी बैठक सात दिनपछि सार्नुको मुख्य राजनीतिक कारण पार्टी विभाजन रोक्नु हो । असार १० बाट सुरु भएको बैठक दुई अध्यक्षबीचको सहमति बिनै अगाडि बढाउँदा प्रधानमन्त्रीको राजीनामालाई लिएर अल्पमत–बहुमत धुव्रीकरण हुने र त्यसले पार्टी विभाजन हुन सक्ने भय थियो । दुई अध्यक्षबीचको संवादमा एकले अर्कामाथि पार्टी विभाजनको तयारी गरेको आरोपसमेत लगाइसकेका थिए । राजीनामा मागिएको विषयले पार्टी नै फुटको संघारमा पुगेपछि तत्कालको संकट टार्न स्थायी कमिटी बैठक रोकेर नेकपाका नेताहरूले अध्यक्षद्वय ओली र दाहाललाई गहन छलफलमा बस्न सुझाव दिएका थिए । त्यही सुझावअनुसार ओली र दाहाल पटकपटक वार्तामा बसेका थिए । यसबीचमा दुई नेता र सहयोगीबीच भएको वार्ताबाट पनि कुनै ठोस निष्कर्ष निस्किएन ।
बरु बिहीबारको छलफलमा ओलीले दाहाललाई अध्यक्ष बन्न महाधिवेशन र प्रधानमन्त्री हुन अर्को चुनाव कुर्नुपर्ने बताएपछि नेकपाको विवाद तत्काल साम्य नहुने ठाउँमा पुगेको थियो । त्यसैले दुई अध्यक्षकै सहमतिमा बैठक सात दिन पछाडि सारिएको छ, यसमा उनीहरु दुवैको राजनीतिक चाहना–पार्टी विभाजन रोक्नु रहेको केही नेताहरुको बुझाई छ । स्रोतका अनुसार यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि नेकपा विभाजन नहोस् चाहना थियो । त्यसो हुँदा राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठ्ने भय शितलनिवासलाई थियो ।
पार्टीभित्रैबाट नेतृत्वमाथि दबाब
बैठक सुरु भएको दुई साता बित्दा पनि त्यसका एजेन्डामा ठोस छलफल नै हुन पाएन । तर, पहिला तय भएका एजेन्डाकै बीचमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको राजीनामाको मुद्दा बैठकमा प्रमुख विषय बन्यो । यसले बैठकको स्वरुप र नेताहरुको मनस्थिति नै बदलियो । पार्टीका दुवै समूहबीच टकराव बढ्दै गयो ।
यहीबीचमा पार्टीका दोस्रो तहका नेताहरुले पनि सक्रियता बढाए, जसको उद्देश्य पार्टी एकता बचाइराख्ने र सहमतिमै नेतृत्वको कार्यविभाजन गर्नु थियो । दुवै समूहका नेताहरुले शीर्ष नेतृत्वसँग संवाद गरे । कृषिमन्त्री घनश्याम भुसालको पहलमा स्थायी कमिटीका ११ नेताले दुई पटक बैठक गरे । भुसालले ओली र दाहाललाई भेटेर पार्टी विभाजन गर्नु हुँदैन, बरु समय लिएर भए पनि सहमति जुटाउनुपर्छ भन्ने सन्देश सुनाए । सात दिन बैठक स्थगनका लागि यो पनि एउटा कारण बन्यो । भिन्दाभिन्दै उद्देश्य राखेर गरिएका धर्ना र सडक प्रर्दशनले पनि नेताहरुलाई जोखिमपूर्ण निर्णय नलिन दबाबमा राख्यो ।
चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश
नेकपासँग भाईचारासम्बन्ध बनाएको चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश पनि बैठक स्थगितका लागि अर्को कारण बन्यो । काठमाडौंस्थित चिनियाँ राजदूतले नेताहरुसँग भेटेर चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश सुनाइन् । सन्देश थियो–हतारमा निर्णय लिदा अप्रिय घटना नहोस् । बरु, थप तयारी र संवादबाट निकास दिनुस् । यो कारण पनि बैठक स्थगन जोडिएर आयो । नेकपा विवादपछि चिनियाँ राजदूत होउ यान्छीले नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई भेटेर बेइजिङको सन्देश सुनाएकी थिइन् । राजदूत होउले असार १९ मा राष्ट्रपति भण्डारीलाई पनि भेटेकि थिइन् । यद्यपि राजदूत होउले गरेका पछिल्ला भेटघाट विवादमा छन् ।
भारतीय ‘हस्तक्षेप’ रोक्ने प्रयास
नेकपाको शक्तिसंघर्षमा अप्रत्यक्षरुपमा भारतीय चासो पनि जोडियो । यतिसम्म कि प्रधानमन्त्री ओली आफैंले पनि असार १४ मा आफ्नो नेतृत्वको सरकार ढाल्न भारतीय राज्य संयन्त्र परिचालन भएको दावी गरेका थिए । त्यसयता प्रधानमन्त्रीको राजीनामालाई लिएर भारतीय संचारमाध्यमले कैयौं रिपोर्ट प्रकाशन तथा प्रशारण गरे । पछिल्लो पटक त प्रधानमन्त्री र चिनियाँ राजदूतको सम्बन्धमाथिसमेत प्रश्न उठाएर भारतीय संचारमाध्यमा अतिरञ्जनात्मक समाचार आए ।
भारतीय मिडियाबाट दुष्प्रचार भइरहेको विषयमा नेपालले भारतसमक्ष असन्तुष्टि प्रकट गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले बिहीबार यस विषयमा भारतको विदेश मन्त्रालयलाई मौखिक रूपमा ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीले सरकार ढाल्न भारतीय राज्य संयन्त्र लागेको दावी गर्ने र यहीबेला जुनसुकै मूल्यमा भए पनि प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पार्दा ‘भारतपरस्त’ को आरोप लाग्ने भय दाहाल–नेपाल समूहमा देखियो । नेकपाको स्थायी कमिटी बैठक तत्काल भारतीय ‘हस्तक्षेप’ रोक्ने प्रयासको अर्को कडी पनि बन्यो ।
प्रधानमन्त्रीले लिन सक्ने सम्भावित कदम
शक्तिसंघर्ष चर्कदै जाँदा प्रधानमन्त्रीले केही राजनीतिक कदम चाल्न सक्ने आकलन पनि थिए जसको संकेत उनले अचानक संसद अधिवेशन अन्त्य गरेर दिइसकेका थिए । पार्टीमा आफूलाई हटाउने षड्यन्त्र भएको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बोलाएर प्रतिरक्षाका लागि अरु कदम चाल्न पनि पछाडि नपर्ने सन्देश दिएका थिए । पार्टीभित्र अल्पमतमा परेका ओलीले संसद विघटन, मध्यावधी चुनाव र पार्टी विभाजन गरेर कांग्रेससँग समीकरणलगायतका विकल्पका कदम चाल्छन् कि भन्ने डर दाहाल–नेपाल समूहमा थियो । ओलीले आफ्नो पक्षमा सडकमै निकट कार्यकर्ता उतारेपछि नेकपाकै कार्यकर्ताबीच केही ठाउँमा टकराव भएका थिए । ओली र दाहाल–नेपाल समूहका आ–आफ्ना अडानकाबीच बैठक चलाउँदा कार्यकर्ताबीच तनाव बढ्ने खतरा पनि थियो । यसलाई टार्नसमेत नेकपाले सात दिन बैठक स्थगित गरेको मानिएको छ ।
कोरोनाको बढ्दो संक्रमण र प्राकृतिक विपत्ति
नेकपाको बैठक स्थगनमा राजनीतिक मात्र नभएर प्राकृतिक विपत्ति पनि एउटा कारणका रुपमा आयो । मुलुकमा बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएकाले स्थायी कमिटी बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएकोबारे नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरूमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिादै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको छ ।’
प्रकाशित : असार २६, २०७७ १२:४८