बाढीपहिरोका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौँ — भारी वर्षाका कारण  देशभरका विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

बाढीपहिरोका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमश: करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबड भएको छ, करिब ५ सय मेगावाट उत्पादन नहुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’,घिसिङले भने । ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’ उनले बन्द रहेका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन सञ्‍चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।

बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी 'ए' विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव बढेर आएकाले विद्युत्‌गृह कहिले सुचारु हुन्छ भन्ने यकिन नभएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।

प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युत्‌गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : असार २६, २०७७ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?