१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भारतीय सीमारक्षामा खटिएका एक गोर्खा सैनिकको मृत्यु

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

भारतीय सीमारक्षामा खटिएका एक गोर्खा सैनिकको मृत्यु

युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले कान्तिपुरसँग घटना शुक्रबार सबेरै भएको र उपचारका क्रममा गुरुङको मृत्युको पुष्टि गरे । प्रवक्ता आनन्दका अनुसार ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

प्रकाशित : असार २६, २०७७ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?