एकैरातको पानीले तराई डुबानमा

बर्सेनि डुबानको समस्या देखिए पनि केन्द्र र प्रदेश सरकारले कुनै सहयोग नगरेको स्थानीय तहका प्रमुखहरूले गुनासो गरेका छन् ।
नदी किनारका कति बस्ती र परिवार जोखिममा छन् भन्ने आकलन छैन ।
प्रदेश २ ब्युरो

जनकपुर — बुधबार रातभर परेको पानीले प्रदेश २ का ८ वटै जिल्ला डुबानमा परेका छन् । खोलामा पानीको बहाव तीव्र बनेको छ । तटीय क्षेत्रका बासिन्दामा बगाउने पीर छ । प्रदेशको अस्थायी राजधानी जनकपुर, महानगर वीरगन्ज, राजविराज, लहान, जलेश्वर, मलंगवा, गौर, कलैया लगायतका ठूला सहर एकै रातको वर्षाले डुबानमा छन् ।

एकैरातको पानीले तराई डुबानमा

पर्साको सीमावर्ती क्षेत्रमा बर्सेनि डुबानको समस्या देखिए पनि केन्द्र र प्रदेश सरकारले कुनै सहयोग नगरेको स्थानीय तहका प्रमुखहरुको गुनासो छ । पकाहामैनपुर गाउँपालिकाका ४ वडा प्रत्येक वर्षामा डुबानमा पर्छन् । भारतीय सीमासँग जोडिएका वडामा ८ फिटसम्म पानी जम्छ । धोबिया टोलमा प्रत्येक वर्ष ८ देखि १० फिटसम्म पानी जम्ने गरेको गाउँपालिका अध्यक्ष विजय चौरसियाले बताए । पालिकाका करिब हजारभन्दा बढी घर प्रत्येक वर्ष डुबानले प्रभावित हुने गरेका छन् । ‘बाढी आउँदा घर वा विद्यालयको छतमा ओत लाग्छन्,’ उनले भने, ‘प्रभावितलाई गाउँपालिकाले खानाको व्यवस्था गर्छ ।’ सीमा जोडिएको भारतीय रेल्वे ट्रयाक र दुईवटा भारतीय नहरका कारण वर्षाका बेला डुबान हुने गरेको उनले बताए ।

पर्साको ठोरी गाउँपालिकामा वर्षात्मा बाढीको पानी जम्ने समस्या नभए पनि बाढीसँगै आउने माटो, ढुंगा, बालुवाले गाउँ र खेत नै छोपिदिने गरेको छ । पालिका अध्यक्ष पदमलाल श्रेष्ठका अनुसार वडा १, २ र ३ बढी प्रभावित छन् । ३५ सय घरधुरी बाढीले प्रभावित हुने गरेको उनले बताए ।

तयारीमा बस्न निर्देशन

रौतहटमा जिल्ला प्रशासन कार्यालयले केही दिन तयारी हालतमा बस्न स्थानीय तहलाई निर्देशन दिएको छ । सबै नगरपालिकाका प्रमुखलाई बोलाएर जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी र डुबानले जाखिममा रहेको भन्दै तयारी गर्न निर्देशन दिएको हो । गत वर्षको असार र साउनमा रौतहटको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो । डुबान र बाढीमा गत वर्ष रौतहटमा १५ जनाको ज्यान गएको थियो । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले तीन दिन नदीहरुमा बहाव बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । केही नदीमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिएपछि जिल्लामा त्रास बढेको हो ।

यसपटक वाग्मती लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुरले भत्किएको स्थानमा मर्मत गरिसकेकाले केही राहत हुने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘बाढी र डुबानबाट जोगिन र क्षति कम गर्न सबै स्थानीय तहलाई तयारी हालतमा बस्न भनेको छु,’ उनले भने । गत वर्षको साउनमा जिल्लाभर ४ हजारभन्दा बढी घर बाढीले पूर्ण क्षति पुर्‍याउँदा २० हजारभन्दा बढी विस्थापित भएका थिए । दशगजामा एकतर्फी लगाइएको बाँधका कारण पानीले निकास नपाउदा बर्सेनि डुबानको समस्या निम्तिने गरेको हो ।

पानीको निकास नहुँदा बस्ती डुबेको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको सकरपुरा लगायतका बासिन्दाले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । सप्तकोसी नदीको कटानको त्राससँगै अन्य नदीको तटबन्ध बर्सेनि भत्किँदा कैयौं बस्ती संकटमा पर्दै आएका छन् । कोसी नदी, त्रियुगा, सुन्दरी, महुली, खाँडो, खडग, बलान, कजरा, मुतनी, घोडदह, भलुवाही, गंगाजली, जिता, सुरङ्गा, पौडा, बिहुल, पाची, अमहा, सुखलाहीलगायत नदी र खोलाको बाढीले अधिकांश क्षेत्र प्रभावित हुँदै आएका छन् ।

सप्तरी नदी कटान डुबानको उच्च जोखिममा रहे पनि सरकारी स्तरबाट तयारी भने सन्तोषजनक छैन । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बाढी आए उद्धारदेखि अन्य कार्यको तयारी पूरा भएको दाबी गर्छन् । तर जिल्लामा कुन–कुन नदी र कति जनसंख्या जोखिममा छन् भन्नेबारे जिल्ला प्रशासनमा कुनै तथ्यांक छैन ।

सिरहामा भने मुख्य रूपमा बलान, कमला, गागन र घुर्मी खोलाको बाढीबाट समस्या हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार बलान खोलाले लहान नगरपालिकादेखि भगवानपुरसम्मको क्षेत्र, कमला नदीले करजनहा र कल्याणपुर, सिरहा र गागन खोलाले धनगढी र गोलबजार क्षेत्र तथा घुर्मी खोलाका कारण मिर्चैया र कल्याणपुर क्षेत्रमा जोखिम छ । बाढीको जोखिमका कारण सिरहा प्रशासनले नदी किनारमा रहेकालाई त्यहाँबाट हट्न एक महिनाअघि निर्देशन गरेको थियो । मनसुन प्रतिकार्य योजना बनाइएको र खोज तथा उद्धारका लागि ३ वटा रबरबोटसहित ५ वटा बोट तयारी अवस्थामा राखिएको सहायक प्रजिअ भण्डारीले बताए ।

बासकै समस्या

बारामा बाढी जोखिम क्षेत्रका बासिन्दा अस्थायी बास खोज्न थालेका छन् । दर्जनभन्दा बढी ठाउँका बस्ती बर्सेनि डुबानमा पर्ने गरेका छन् । अहिले नै आफू बासको जोहोमा लागेको फेटा गाउँपालिका–१ भलुहीका राजकिशोर दास तात्वाले बताए । वर्षामा बाढी आएका बेला ओत लाग्ने ठाउँ कतै नहुँदा तीन दशकदेखि उनीहरुको बसोबासनजिकैको विद्यालयमा हुन्छ । ‘हिउँदमा हामी स्थायी रूपमा बस्छौं, वर्षामा अस्थायी हुन्छौं,’ उनले भने, ‘तीन दशकदेखिको बसाइ यस्तै चलिरहेको छ ।’ दासको घरसँगै बंगरी खोला बगेको छ । खोला छेउमा दास परिवारजस्तै सयौंको बसोबास छ । बाढी आएपछि यहाँका भलुही, भर्वलिया, रजबटिया, बिनबलिया, त्रिवेणी, एकबनियालगायत बस्तीमा भागाभाग हुने गरेको छ ।

जिल्लाकै दुधौरा, लालबकैया, पसाहा, थलही, तियरलगायत खोला छेउको बस्तीका बासिन्दाको पीडा उस्तै छ । वर्षामा हुन सक्ने सम्भावित घटनालाई ख्याल गरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

ओत लाग्ने ठाउँ छैन

सर्लाहीको दक्षिणी क्षेत्रस्थित तटीय क्षेत्रका दर्जनौं बस्ती बर्सेनि डुबानमा पर्छन् । ठूलो मात्रामा जनधनको क्षति हुँदै आए पनि व्यवस्थापनमा तीनै तहको सरकार चुकेको छ । तटीय क्षेत्रका जोखिमयुक्त बस्तीमध्येको एक हो धनकौल गाउँपालिका–३ ढापटोल । वाग्मती नदी किनारमा रहेको ढापटोलमा ८० घरधुरी दलित बस्ती छ । यहाँका स्थानीय हरेक वर्ष वर्षाको बेला त्रासमा बस्ने गरेका छन् । बस्तीको पश्चिममा वाग्मती नदी र पूर्वमा मनुष्मारा खोला छ । नदी र खोलाको बीचमा रहेकै कारण यो बस्ती बर्सेनि वर्षाका बेला जोखिममा पर्ने गरेको छ । ‘बाढी आयो भने घरमा बस्न सकिँदैन, बाहिर ओत लाग्ने ठाउँ हुँदैन । बालबच्चासहित भिजेर रात कटाउनुपर्छ,’ स्थानीय लखपतिया देवीले भनिन्, ‘जोखिममा रहेको नदीको बाँधमै आएर बस्छौं, अर्को विकल्प हुँदैन ।’

धनुषामा उच्च सतर्कता

धनुषामा बाढी र डुबानको जोखिम क्षेत्रमा सुरक्षा निकायलाई अलर्ट गरिएको छ । कमला नदीको बाढीले र डुबानको जोखिममा रहेको जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका र मुखियापट्टी मुसहरनियको जोखिम क्षेत्र पहिचान गरी सुरक्षा निकायलाई अलर्ट गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । ‘जनकनन्दनीमा रेल्वे लिक निर्माणले गाउँको पानी थुनिने गर्छ,’ निरौलाले भने, ‘कमला नदीको बाढी गाउँमा प्रवेश गर्न सक्ने खतरा छ ।’

बर्सेनि डुबानमा पर्दै आएकालाई उद्धार गरेर विद्यालयमा ल्याउने व्यवस्था थियो । यसपालि विद्यालयमा क्वारेन्टाइन बनाइएकाले व्यवस्थापनमा समस्या हुने सम्भावना छ । धनुषामा डुबान क्षेत्रमा उद्धारका लागि प्रदेश सरकार र जिल्ला विपद् कोषबाट २ वटा रबरबोट खरिद गरी सशस्त्र प्रहरीलाई प्रदान गरिएको छ । डुबान क्षेत्रका लागि लाइफ ज्याकेट र ट्युब खरिद गरिएको प्रजिअ निरौलाले बताए ।

महोत्तरी सदरमुकाम जलेश्वर पनि बाढीको जोखिममा छ । जिल्लाको मटिहानी, बथनाहा, मनरा सिस्वा बर्सेनि डुबानमा पर्दै आएका छन् । डुबान क्षेत्रमा खोज, उद्धार र राहतको तयारीसँगै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रजिअ कृष्णबहादुर कटुवालले बताए । ‘बिग्ही, रातुसहित अन्य नदीमा आउने बाढीले जिल्लामा खतरा छ,’ उनले भने, ‘डुबान क्षेत्रमा खोज र उद्धारको जिम्मेवारी प्रहरीलाई र राहत तथा बास स्थानको जिम्मेवारी स्थानीय तहलाई तोकेका छौं ।’

-अवधेशकुमार झा (सप्तरी), सन्तोष सिंह (सिरहा), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा) र भूषण यादव (वीरगन्ज)

प्रकाशित : असार २६, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?