स्थायी कमिटी बैठकको अनिश्चितताबारे के सोच्दै छन् नेकपाका नेता ?
काठमाडौँ — पटकपटक स्थगित भएको स्थायी कमिटी बैठक बोलाएर छलफललाई निरन्तरता दिन र त्यहींबाट अहिलेको विवाद समाधानको खोजी गर्न नेकपाका नेताहरुले माग गरेका छन् ।
असार १० बाट सुरु भएको बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि बढ्दो विवादले नेकपाको स्थायी कमिटी बैठक असार १८ पछि लगातार स्थगित छ ।
शुक्रबार नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । तर, पुन: स्थगित हुने/नहुने अनिश्चित छ । बैठकलाई लिएर बिहीबार फोन संवाद गरेका दुई अध्यक्षबीच शुक्रबार बिहानको भेटपछि बैठकबारे थप निर्णय हुनेछ ।
तर, शीर्ष नेताहरु नै अब बैठक स्थगन गर्न नहुने पक्षमा छन् । ‘पार्टी एकता हुनु अघिल्लो दिन जेठ २ को सहमति माने भने एउटा समाधान निस्कन सक्छ । होइन भने पार्टीले कारबाही गर्दा दुई वटै पद जान्छ । अब के गर्ने भन्ने बालुवाटारमा भरपर्छ । हामीले अरु जान्दैनौं । अब स्थायी कमिटी स्थगित हुँदैन । बैठक बस्छ,’ वरिष्ठ नेता झलनाथ खनालले भने ।
स्थायी कमिटीका अर्का सदस्य युवराज ज्ञवालीले दुई अध्यक्षबीच सहमति नभए अब बैठकबाटै निकास निकाल्ने प्रयत्न गर्नुपर्ने बताए ।‘हामीसँग दुई विकल्प छन् । दुई अध्यक्ष सहमति गरेर आउनु पर्यो र त्यो सहमतिको आधारमा छलफल गरेर अन्तिम टुंगो स्थायी कमिटीले लगाउनु पर्छ । उहाँहरुको बीचमा सहमति हुँदैन भने पनि बैठकमा आउनुपर्यो, त्यहाँ छलफल गरेर नै अन्तिम टुंगो लगाउनु पर्छ । त्यो निर्णय सबैले मान्नु पर्छ । त्यसपछि केन्द्रीय कमिटी बैठक पनि बोलाउनु पर्छ,’ ज्ञवालीले भने, ‘तर अब बैठक कुनै हालतमा स्थगित गर्नु हुँदैन । हामी आफ्ना कुरा राख्छौं । सबै जिम्मेवार नेताहरु हुनुहुन्छ । सकेसम्म सर्वसम्मत गर्ने, यदि सर्वसम्मत भएन भने पनि बहुमत अल्पमतका आधारमा एउटा निष्कर्षमा अब पुग्नै पर्छ ।’
स्थायी कमिटीका अर्का सदस्य मणि थापाले भने दुई अध्यक्षबीचको सहमतिपछि मात्रै बैठक बस्दा राम्रो हुने बताए । ‘एउटा निष्कर्षमा नपुगेसम्म स्थायी कमिटी बैठकको अर्थ रहेन । पहिला उहाँहरुको बीचमा दुरी कम गरेर समाधानका उपायहरु खोज्नुपर्ने स्थिति छ । त्यसकारण उहाँहरु नै बस्ने हो । उहाँहरु एउटा निष्कर्षमा पुगेपछि फेरि छलफलको निम्ति स्थायी कमिटी आउनु पर्छ,’ थापाले भने ।
बैठक स्थगितको यस्तो छ श्रृंखला
पार्टी भित्रको समस्या सुल्झाउन भन्दै ठूलो कोसिसपछि बोलाइएको स्थायी कमिटी बैठक भने लगातार स्थगित छ । ठूलो दबाब र तनावपछि बसेको नेकपाको स्थायी कमिटी बैठक बहस गरेरभन्दा स्थगित गरेर धेरै समय बितेको छ । बरु यहीबीचमा पार्टी फुटको तहसम्म राजनीतिक घटनाक्रम विकसित भएका छन् ।
पछिल्लो पटक बुधबारका लागि बोलाइएको बैठक शुक्रवारसम्मका लागि स्थगित भएको छ । विहान ओली र दाहालवीच छलफलपछि शुक्रवारको बैठक बस्ने नबस्ने निश्चत हुनेछ । दुई अध्यक्षवीच सहमति जुटाउन भन्दै पछिल्लो पटक बैटक स्थगित हुँदै आएका छन् ।
असार १० मा ओली र दाहाल बोलेपछि बैठक असार १२ सम्मका लागि स्थगित भएको थियो । अनि १२ र १३ असारमा बैठक बसेको थियो । त्यस दिन बैठक छलफल सीमा समस्या र समाधानमा केन्द्रित थियो । त्यसपछि असार १४ र १५ असारका लागि तय भएको बैठक स्थगित भयो ।
त्यसपछि मदन जयन्तीको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्य संयन्त्र र पार्टी नेताहरु लागेको आरोप लगाएपछि १६ असारको बैठक नयाँ विषयमा प्रवेश गर्यो । असार १६ मा बसेको बैठकको एजेन्डा प्रधानमन्त्रीको राजीनामा मागमा केन्द्रित थियो ।
अर्को दिन असार १८ मा बैठक बसेकै बेला मन्त्रिपरिषद् बैठक बस्यो । बैठकले संसद् अन्त्यको निर्णय लियो । र, नेकपा बैठक प्रभावित भयो, असार २० सम्मका लागि स्थगित भयो ।
त्यसपछि नेकपा विवाद झन्झन् तात्दै गयो । असार २० मा बैठक नै बसेन । बैठक २२ असारसम्मका लागि स्थगित भयो । असार २२ मा बैठक बस्न सकेन, बरु असार २४ सम्म स्थगित भयो ।
पछिल्लो पटक असार २४ का लागि बोलाइएको बैठक दुई दिन पछाडि सर्यो र असार २६ मा बस्ने गरी स्थगित भयो ।
स्थायी कमिटी बैठकमा सात एजेन्डा तय भएका थिए । नयाँ-नयाँ विवादले यी विषयमा छलफल नै हुन पाएको छैन ।
प्रकाशित : असार २५, २०७७ २२:३७