नेकपा विवाद मिलाउन दोस्रो पुस्ताका नेता सक्रिय, दाहाल निवासमा ओलीका ‘दूत’

बबिता शर्मा

काठमाडौँ — दुई अध्यक्षबीच बुधबार तिक्ततापूर्ण संवाद भएपछि नेकपाका दोस्रो पुस्ताका नेता बिहीबार दिनभर सक्रिय भएका छन् । केही नेताले पार्टीभित्रको तनाव कम गर्ने उपायबारे सामूहिक संवाद गरेका छन् भने केहीले शीर्ष नेतालाई भेटेर छलफल गरेका छन् ।

नेकपा विवाद मिलाउन दोस्रो पुस्ताका नेता सक्रिय, दाहाल निवासमा ओलीका ‘दूत’

पछिल्लोपटक बुधबार स्थगित स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । सहमतिबिनै बैठक बस्दा तनाव बढ्न सक्ने आशंकासहित युवा नेताहरु बिहीबार सक्रिय भएका हुन् ।

दाहाल निवासमा ओलीका ‘दूत’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नेताले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । पार्टी विवाद अन्त्यका विकल्प खोजीमा ओली निकट नेताहरु खुमलटार पुगेर अर्का अध्यक्ष दाहालसँग भेट गरेका हुन् । बुधबार ओली र दाहालबीच तनावपूर्ण संवाद भइरहेको समाचार आएका बेला ओली निकट नेताहरु बिहीबार दाहाल निवास पुगेका हुन् ।

उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बिहीबार दिउँसो खुमलटार पुगेका हुन् । उनीहरुले दाहाललाई सहमति गरेर जान विभिन्न प्रस्तावसहित आग्रह गरेका थिए । त्यसअगाडि उनीहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

‘उहाँले भेट्न भनेर बोलाउनु भएको थियो । हामी तीन जना थियौं । उहाँले आफ्ना कुरा भन्नु भयो । हामीले पनि दुई अध्यक्षबीचको छलफललाई बाक्लो र निरन्तर बनाएर यसलाई टुंगाउनु पर्‍यो । सहमति गर्नुको विकल्प छैन । यसमा तपाईहरुले गर्न सक्नुहुन्छ, गर्नुपर्‍यो भनेर आग्रह गर्‍यौं,’ नेता नेम्वाङले भने ।

सोमबार, मंगलबार र बुधबार लगातार तीन दिन एक्लाएक्लै छलफल गरेका ओली र दाहालबीच बिहीबार भने भेट भएन । सोमबार र मंगलबार एकले अर्कालाई आफ्ना माग र अडान सुनाएका ओली र दाहालबीच बुधबार भने सहमति खोज्ने प्रयासमा छलफल गरेका थिए । तर, दुवै पक्ष आ-आफ्नो अडानमा रहेपछि कुनै विषयमा प्रगति भएको छैन ।

दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष दुवैबाट ओलीको राजीनामा मागेका छन् । तर, ओलीले पछिल्लोपटक बुधबार प्रधानमन्त्रीका लागि अर्को चुनाव कुर्न र पार्टी अध्यक्षका लागि महाधिवेशनसम्म पर्खन भनेका थिए । त्यसपछि ओली र दाहालबीच थप दुरी बढेको थियो । त्यही सन्दर्भमा ओली निकट नेताहरु बिहीबार दाहालकहाँ पुगेको बालुवाटार निकट स्रोतले बतायो ।

नेकपा स्थायी समिति बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी सञ्चालन दुवैतर्फ राम्रोसँग गर्न नसकेको भन्दै दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । यसले नेकपाभित्रको शक्तिसंघर्ष बढाएको छ । र, तनाव बढ्दै जाँदा अन्यपक्ष राष्ट्रपति, कांग्रेस, भारत र चीन पनि नेकपामा विवादमा मुछिएका छन् ।

सिंहदरबारमा ११ नेताको छलफल

बिहीबार दिउँसो सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको कार्यकक्षमा दोस्रो पुस्ताका ११ जना नेताहरुबीच छलफल भएको थियो । छलफलमा सहभागी नेता मणि थापाका अनुसार दुई अध्यक्षबीचको निरन्तरको छलफल सकारात्मक उन्मुख भएको र त्यसलाई अझै निरन्तरता दिएर निकास निकाल्न नेतृत्वसँग माग गर्ने समझदारी भएको छ ।

अर्कोतर्फ सडकमा भइरहेको प्रदर्शनलाई रोक्नु पर्ने र पार्टी कार्यालयमा भइरहेको हस्ताक्षर संकलनलाई पनि रोक्न नेतृत्वलाई सुझाव दिने सहमति भएको नेता थापाले बताए । त्यसका निम्ति मन्त्री भुसाललाई जिम्मा दिइएको छ ।

‘दुई अध्यक्षबीचको छलफल सकारात्मक उन्मुख भएको हुँदा त्यसलाई निरन्तरता दिनु पर्छ । अर्कोतर्फ सडकमा भइरहेको प्रदर्शन, पार्टी कार्यालयमा भइरहेको हस्ताक्षर संकलन र सामाजिक सञ्जालमा एउटै पार्टीका नेता कार्यकर्ताबीच भइरहेको आरोप-प्रत्यारोप बन्द गरिनु पर्छ । त्यसका लागि पार्टीले विज्ञप्ति जारी गरेर हुन्छ वा के गरेर हुन्छ तत्काल यी सबै रोकिनुपर्छ । त्यसका लागि नेतृत्वलाई सुझाव दिने समझदारी भएको छ,’ थापाले भने । दुई अध्यक्षलाई भेटेर सुझाव दिने जिम्मा मन्त्री भुसाललाई भएको थापाले बताए ।

छलफलमा मन्त्री भुसालसहित नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल, मणि थापा र टोपबहादुर रायमाझी थिए ।

यस अघि ती नेताहरु असार १९ मा कृषिमन्त्री भुसालको निवास पुल्चोकमा छलफलमा जुटेका थिए । त्यसबेला उनीहरुले पार्टी एकता बचाउनका लागि स्वतन्त्र र हस्तक्षेपकारी भूमिका खेल्ने सहमति गरेका थिए ।

त्यसबेला उनीहरुले पार्टी एकीकरण गर्दा ०७५ जेठ २ को ५ बुँदे सहमति र ०७६ मंसिर ४ को ओली र दाहालबीचको जिम्मेवारी बाँडफाँडको सहमतिलाई आधार बनाएर अहिलेको विवाद सुल्झाउन माग गरेका थिए ।

पार्टी एकीकरण हुँदाको सहमतिमा एउटा बुँदा दुवै अध्यक्षले साढे २ वर्षमा सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति थियो । तर, मंसिर ४ मा भएको सहमतिमा भने ओली सरकार र दाहाल पार्टी काममा केन्द्रित हुने गरी जिम्मेवारी बाँडफाँड भएको थियो ।

प्रकाशित : असार २५, २०७७ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?