कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना संक्रमितको संख्या किन घटिरहेको छ?

संक्रमित कम हुनु भनेको जोखिम घट्नु होइन : स्वास्थ्य मन्त्रालय
बुनु थारु

काठमाडौँ — नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या घटिरहेको देखिन्छ । बिहीबार २४ घण्टामा मात्रै १०८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै हालसम्म संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २०४ संक्रमित थपिएका थिए ।

कोरोना संक्रमितको संख्या किन घटिरहेको छ?

केही दिनअघिको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या घटिरहेको देखिन्छ । विगत १० दिनको तथ्यांक केलाउँदा असार १९ गते २४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै धेरै ७७४ थियो । त्यसकाे भोलीपल्ट नै असार २० गते २३२ जनामा मात्रै संक्रमण देखिएको थियो । त्यसपछि संक्रमितको संख्यमा खासै बढोत्तरी भएको देखिँदैन ।

यस्तै पीसीआर परीक्षणको संख्या पनि हरेक दिन घट्दै गएको समेत देखिन्छ ।


परीक्षणमा कमी ?
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि परीक्षणको दायरालाई बढाएर दैनिक १० हजार पुर्‍याउने घोषणा गरेका थिए । मन्त्री ढकालले दैनिक १० हजार परीक्षण गर्ने भनेको दिनमा हालसम्मकै धेरै ७ हजार ७९१ परीक्षण भएको थियो । तर, त्यसपछि भने परीक्षणको कुल संख्याले रेकर्ड कायम गर्न सकेको छैन ।

केही दिनयता दैनिक परीक्षणहरु ४ हजार आसपास मात्रै भइरहेको छ । बिहीबारकै तथ्यांक हेर्ने हो भने २४ घण्टामा ४ हजार ५ सय ८८ पीसीआर परीक्षणहरु भएका देखिन्छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइन तथा आइसोलेसनमा बस्ने मानिसहरुको संख्या घटिरहेको कारणले गर्दा परीक्षणको दायरा केही घटेको हो । बिहीबारसम्म प्रदेश १ मा २ हजार ८५०, प्रदेश २ मा २ हजार ९९०, बाग्मती प्रदेशमा १ हजार ९०७, गण्डकी प्रदेशमा ४ हजार २५० , प्रदेश ५ मा ५ हजार २४०, कर्णाली प्रदेशमा १ हजार ८९९ र सुदुरपश्चिममा ५ हजार २८९ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यसका साथै आइसोलेसनमा प्रदेश १ मा १९६, प्रदेश २ मा २ हजार २४ , बाग्मती प्रदेशमा ४२९, गण्डकी प्रदेशमा ८६२ , प्रदेश ५ मा १ हजार ७२७, कर्णाली प्रदेशमा ४०५ र सुदरपश्चिममा २ हजार ९६२ रहेका छन् ।

त्यसैगरी निको हुनेको संख्यामा पनि वृद्धि भएको देखिन्छ । बिहीबारसम्म निको भएर घर फर्किनेको संख्या ७ हजार ८९१ पुगेको छ ।

परीक्षणको दायरा साँघुराे बनाइएकै कारण संक्रमित देखिनेको संख्या घटिरहेको हो भनेर टिकाटिप्पणी हुन थाले पनि मन्त्रालयले भने भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेको संख्यामा नै कमी आएकाले त्यस्तो देखिएको दाबी गरेको छ ।

'केही दिन यता संक्रमितको संख्या घट्नुको कारण स्वास्थ्य निकायको व्यवस्थापन र बोर्डरमा गरिएको आवजावतमा कडाइले गर्दा हो,' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘कोरोना संक्रमण घट्दै जाँदा जनजीवन सामान्यीकरणमा जान थालेको र जनमानसमा सर्तकता कम हुँदै गएको, भिडभाड हुँदै गएको देखिन्छ । तर, संक्रमितको संख्या घट्नु भनेको कोरोना संक्रमणको जोखिम घट्नु होइन । कोरोना रोकथामको उपायलाई निरन्तरता दिए मात्र कोरोनाबाट बच्न सकिन्छ ।’

जनस्वास्थ्य प्रयोगशाालाका एक अधिकारीका अनुसार क्वारेन्टाइनमा मान्छे कम भएसँगै केही दिन यता नमुना संकलनमा पनि कमि आएको छ । त्यसैले गर्दा संक्रमितको संख्या पनि घटेको हो ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे फेसबुकमा लेख्छन्,'नेपालमा केही हप्तायता संक्रमितको संख्या घट्नु भनेको परीक्षणको गति एकदम सुस्त हुनु, लामो समय होल्डमा राखेका स्याम्पलको आरएनए नष्ट हुनु, प्रयोगशालामा गलत रिपोर्ट आउनु, कन्ट्याक्ट ट्रेसिङ नगर्नु आदि कारण हुन सक्छन् ।'

उनले सामुदायिक तथा निजी प्रयोगशालालाई पीसीआर टेस्ट गर्न दिने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयन गर्न आगह्र गरेका छन् । उनले कोरोना संक्रमण समुदायमा कुन स्तरमा छ भनी परीक्षण बिनै सार्वजनिक यातायात खोल्ने निर्णय अवैज्ञानिक रहेको बताएका छन् ।

५ जिल्ला 'कोरोना फ्री'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ५ वटा जिल्लामा कोरोना संक्रमण शुन्यमा देखिएको छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लालाई 'कोरोना फ्री' जिल्ला भनिएको छ ।

त्यसैगरी ५०० भन्दा बढी संक्रमित देखिएको जिल्ला भनेका महोत्तरी ,रौटहट, पाल्पा, अछाम ,कैलाली र बाजुरा रहेका छन् ।

प्रकाशित : असार २५, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?