१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टिप्पणी : ‘गोदी मिडिया’ को गैर-पत्रकारिता 

'प्रधानमन्त्री ओलीलाई जोडेर बनाइएको रिपोर्ट आपत्तिजनक, सरकारले खण्डन गर्नु आवश्यक'
जगदीश्वर पाण्डे

काठमाडौँ — भारतका चर्चित पत्रकार तथा रोमन म्याग्सेसे अवार्ड विजेता रवीस कुमारले लामो समयदेखि भन्दै आइरहेका छन्, भारतमा दुईखाले मिडिया छन् । पहिलो मिडिया र दोस्रो ‘गोदी मिडिया’ ।

टिप्पणी : ‘गोदी मिडिया’ को गैर-पत्रकारिता 

गोदी मिडिया अर्थात् सन् २०१४ मा पहिलोपटक नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि आफ्नो प्रचार गर्न र विपक्षीलाई आक्रमण गर्न सत्ता पक्षबाट प्रयोग भइरहेका मिडिया !

रवीसले प्रयोगमा ल्याएको यो शब्द भारतीय मिडिया वृत्तमा निकै चर्चित छ । एनडीटीभीका पत्रकार रवीसको भनाईबाट प्रष्ट हुन सकिन्छ, भारतमा पत्रकारिता गर्ने र नगर्ने दुईखाले मिडिया छन् । र, पछिल्लो सयममा गोदी मिडियाको संख्या र प्रभाव बढ्दो छ खासगरी, टेलिभिजन पत्रकारतिामा ।

पत्रकारिताका मूल्य र मान्यताहरुलाई आत्मसात गर्ने तथा त्यसको मर्यादा बढाउनेखालका मिडियाको संख्या नगन्य लाग्न थालेको छ । त्यसैले पछिल्लो समय मिडियामाथि गोदी मिडिया हावी हुँदै गइरहेको छ । भारतीय सत्ता तथा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टीका मुखपत्र जसरी विरोधीमाथि खनिने यी मिडियाहरुले गलत, मनगढन्त र अमर्यादित शैलीमा समेत समाचारहरु दिने गरेको बेलाबेला देखिने गरेको छ । मोदी वा भाजपा विरोधीहरु कांग्रेस आई तथा यसका नेता सोनिया र राहुल गान्धीका विषयमा यिनका यस किसिमका रिपोर्टिङ र टिप्पणीहरुलाई आम मानिन्छ ।

त्यसको पछिल्लो उदाहरण बनेको छ, नेपाल-भारत-चीन सम्बन्ध । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा भारतीय 'गोदी मिडिया'मा सामान्य मर्यादा र शिष्टाचारको समेत पालना नगरी भइरहेका रिर्पोटिङहरुले पत्रकारिताको मर्म माथि नै प्रहार गरेको छ ।

भारतको चर्चित टेलिभिजन कम्पनी जी न्यूजको ‘जी विहार–झारखण्ड च्यानल’मा प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे लगातार गलत रिर्पोटिङहरु भइरहेका छन् । जुन रिर्पोटिङमा कतै पनि पत्रकारितामा अपनाइने शैली र खोजबिन छैन । एकोहोरो मनगढन्ते आरोप र षड्यन्त्रको तानाबाना आफैं बुन्ने र त्यसलाई समाचारको रुप दिएर प्रसारण गर्ने यो शैली पत्रकारिताको शैली होइन । न कुनै तथ्य न कुनै तथ्य । न कुनै आधार । तैपनि गोदी मिडियाले प्रधानमन्त्री ओली र राजदूत यान्छीका बारे जुन किसिमका आपत्तिजनक शब्दहरु प्रयोग गरेको छ, त्यो पत्रकारिता भन्न सुहाउनेखालको छैन ।

जीको उक्त च्यानलले ‘ओली की इश्किया’, ‘अतरंगी मुलाकात और नेपाल हार गए ओली’ जस्ता शीर्ष प्रयोग गरेर समाचार प्रसारण गरेको छ । एक सार्वभौम मुलुकको प्रधानमन्त्री र अर्को मुलुकको राजदूतलाई लिएर गरिएको उक्त रिर्पोटिङ भित्र ‘माया–प्रेम’ का कुरा घोलेर 'हनी ट्रयाप' को कथा बुनिएको छ । यो समाचारले भन्छ- 'नेपाल भारतलाई छोडेर चीनतिर ढल्कियो र यसको कारण हो चिनियाँ राजदूतको रुपमा प्रधानमन्त्री ओली मोहित हुनु ।' यस्तो कथा बुनेर यसलाई चीनले प्रयोग गरेको 'हनी ट्रयाप' भन्दै च्यानलले प्रचार गरिररहेको छ ।

यस्तो आपत्तिजनक समाचारबारे नेपाल सरकार र नयाँ दिल्लीस्थित नेपाली राजदूतावास बोल्नुपर्ने आवाज उठिरहेको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले यसको तीव्र विरोध मात्र गरेका छैनन्, सरकारको आधिकारिक निकायबाट यसको खण्डन गर्नुपर्ने माग पनि गरेका छन् ।

पत्रकार राजेन्द्र दाहाल उक्त समाचार प्रसारणको विषयमा सबैभन्दा पहिला त नेपाल सरकार बोल्नु पर्ने सुझाव दिन्छन् । ‘यदि त्यो कुरा गलत हो । त्यो आपत्तिजनक हो भने सबैभन्दा पहिला नेपाल सरकारका प्रवक्ताले त्यसलाई खण्डन गर्नुपर्‍यो । नेपाल राज्यले त्यसमा आफ्नो चासो देखाउनुपर्‍यो । सरकारले खण्डन गरेपछि नेपाली मिडियालाई, नागरिक समाजलाई र भारतको पनि अरु मिडियालाई यस विषयमा थाहा हुन्छ,’ उनले भने, ‘भारत प्रेस स्वतन्त्रता भएको मुलुक हो र त्यहाँका सबै मिडिया त्यस्ता छैनन् । त्यसकारण उनीहरुलाई पनि यस विषयमा थाहा हुन्छ । नेपाल सरकारको संचार मन्त्रालय छ, मिडियालाई हेर्न बसेको छ । नेपाल सरकारले प्रवक्ता राखेको छ । बोल्नुपर्‍यो । उक्त विषयमाथि प्रतिक्रिया दिनुपर्‍यो ।’

दाहालले सरकारको खण्डनपछि उक्त समाचार गलत रहेछ, निराधार रहेछ भन्ने कुरा नेपाली मिडिया, भारतीय मिडिया र अन्तर्राष्ट्रिय मिडियाहरुलाई पनि थाहा हुने बताए । ‘जसले गर्दा सही कुराप्रति चासो हुन्छ र सत्य कुराको प्रचार हुन्छ,’ उनले भने ।

उनले भने, 'मिडियाले त भारतीय मिडियाले यस्तो बकवास प्रशारण गरिरहेको छ भनेर समाचार लेख्ने हुन् । नेपाल सरकारको पक्षबाट किन प्रतिक्रिया आएको छैन मलाई अचम्म लागेको छ । पत्रकार बोलेर हुँदैन । सरकार पो बोल्नु पर्‍यो । सरकार बोलेपछि सरकारका सम्पूर्ण निकायहरु आफ्नो काम गरिहाल्छन् । हामी खण्डन गछौं, भर्सना गछौं भन्नु पर्‍यो नी सरकारले ।’

नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष दाहाल सरकारले उक्त विषयलाई लिएर चरण–चरणमा काम गर्नु पर्ने बताउँछन् । ‘पहिले प्रशारण गरिरहेको छ भने त्यो बन्द गर र माफी माग भन्नु पर्‍यो । दोस्रो चरणमा कारबाहीतिरका कुरा हुन्छन्,’ उनले भने ।

सामाजिक सञ्जालमा यस विषयमा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यलाई प्रश्न गरिएपछि उनले प्रसंग नखुलाई बिहीबार ट्वीट गरेका छन्, ‘बोल्न पर्ने ठाउँमा बोल्ले हो, भन्न पर्ने कुरा भन्ने हो । त्यो भएको छ । बोलिएको छ, भनिएको छ ।’

यो समाचारलाई लिएर पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र कमल थापाले आपत्ति जनाएका छन् । श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वसौमिकता र भौगालिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्को छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

थापाले भने भारतको अग्रेंजी पत्रिका टाइम्स अफ इन्डियाले याकको शरीरमा प्रधानमन्त्री ओलीको टाउको राखेर छापेको विषयमाथि आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री ओलीसँग विभिन्न विषयमा गम्भीर मतान्तर भए पनि भारतीय मिडियाको उक्त कृयाकलापको भर्त्सना गरेका छन् । उनले ट्वीटरमा यस्तो प्रकारको क्रियाकलापले नेपाल–भारत सम्बन्ध राम्रो हुन नसक्ने पनि उल्लेख गरेका छन् ।

मेरो भनाई तोडमोड र सम्पादन गरेर राखियो : यादव

भारतीय च्यानल टिभी-९ ले आफ्नो प्रतिक्रियालाई तोडमोड गरेको पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बताएका छन् । उनले आफू उक्त च्यानलको गलत नियतको शिकार भएको बताएका छन् । आधा घन्टा गरिएको कुराकानीलाई ७ मिनेटमा झार्दा थुप्रै प्रसंग काटिएको र अनर्थ लाग्ने गरी प्रयोग गरिएको उनको भनाई छ ।

प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीको विषयमा यादवसँग टीभी–नाइनका अभि उपाध्यायले प्रश्न सोधेका थिए । ‘अन्तर्वार्ताका दौरान आधा घन्टा कुरा भएको थियो । तर त्यसलाई सम्पादन गरेर करिब ७ मिनेटमा झारिएको छ, ‘ यादवले कान्तिपुरसँग भने, ‘त्यहाँ मेरो भनाईहरु तोडमोड गरिएको छ । एउटा प्रसंगमा भनिएको कुरालाई अनर्थ लाग्नेगरी अन्यत्र लगेर जोडिएको छ ।'

यसअघि नेपालले जारी गरेको नयाँ नक्साको विषयमा पनि भारतीय मिडियाको एउटा हिस्साले गरेको रिपोर्टिङ असन्तुलित र नेपाललाई होच्याउने किसिमको भएको भन्दै नेपालमा आपत्ति जनाइएको थियो । रिपब्लिक टिभी, जी र आजतकजस्ता च्यानलहरुमा गरिएका टिप्पणी र नेपाली वक्ताहरुलाई गरिएका प्रश्नहरुलाई लिएर पनि आलोचना भएको थियो । रिपब्लिक टिभीका अर्नव गोस्वामीलाई त कांग्रेस नेता मीनेन्द्र रिजालले प्रश्न सोध्ने तरिका के हो भन्ने बारेमा समेत बताएका थिए ।

भूकम्पलगत्तै पनि भारतीय मिडियाले नेपालका बारे गरेको रिपोर्टिङलाई लिएर व्यापक असन्तोष प्रकट भएको थियो । ब्याकअफ इन्डियन मिडिया ह्यासट्याग त्यसबेला ट्रेन्डिङमा आएको थियो ।

प्रकाशित : असार २५, २०७७ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?