बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध, सयौं यात्रु अलपत्र- समाचार - कान्तिपुर समाचार

बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

मेनुका ढुंगाना

अम्कोट,बाजुरा — बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत बुढीगंगा नगरपालिका १ मा पर्ने अम्कोट-द्वारी खण्ड बाढीले बगाउँदा सयौं यात्रु अलपत्र परेका छन् ।

पहिरोसँगै बुढीगंगा नदीमा आएको बाढीले सडकको दुवैतिरबाट कटान गरेपछि सडक खण्ड बाढीले बगाएको छ । घटनास्थल साँफे बगरबाट ४० किलोमिटर माथि र सदरमुकाम मार्तडीबाट १३ किलोमिटर तल पर्छ ।

३ दिनअघि खसेको पहिरोले बुढीगंगा नदी थुनिएको थियो । दुवैतर्फबाट नदी कटान हुन थालेपछि सडक बगाएको बाजुरका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । अविरल वर्षासँगै आएको बाढीका कारण ताप्रीसेरामा रहेको झोलुंगे पुल पनि नदीले डुबाएको छ । बाढीले एउटा घर बगाएको प्रजिअ गैरेले बताए ।

अम्कोट, बल्दे, सेरा बगर, द्वारी र ताप्रीसेरा पहिरोको उच्च जोखिममा रहेको बुढीगंगा नगरपालिकाकी उपप्रमुख तारा खातीले बताइन् । घटनास्थलमा उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : असार २५, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

क्‍वारेन्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजिटिभ

मेनुका ढुंगाना

अछाम — अछामको क्‍वारेन्टाइनमा मृत्यु भएका एक जनामा कोराना संक्रमण पुष्टि भएको छ । उनको गत शनिबार राति रामारोशन गाउँपालिकाको कैलाशेश्वर घट्टखेती आधारभूत विद्यालयमा निर्मित क्‍वारेन्टाइनमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार उनी जेठ २७ गते कैलालीको गौरीफन्टा नाका हुँदै अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएको थियो ।

उनको मृत्युपछि आइतबार स्वाब संकलन गरी परीक्षणका लागि सेती प्रयोगशाला धनगढी पठाइएको थियो । मंगलबार उनीसँगै अछामका अन्य ६६ जनामा कोरोना पोजिटिभ देखिएको हो । अछाममा हालसम्म १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : असार १६, २०७७ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×