१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अनलाइनबाटै हिंसामा पर्छन् किशोरी–युवती

लकडाउनका बेला इन्टरनेटमा बढी झुम्मिन थालेका युवती–किशोरीहरूमाथि अनलाइन यौनशोषण र दुर्व्यवहारका घटना बढेका छन्
विद्या राई

काठमाडौँ — स्कुलले अनलाइन कक्षा सुरु गरेसँगै उनलाई इन्टरनेट चलाउने बहाना मिल्यो । पहिलेभन्दा बढी ल्यापटप, मोबाइलमा अल्झिन थालिन् । यही बीच कक्षा ९ मा पढ्ने ती किशोरी एक अपरिचित पुरुषसित फेसबुकमा जोडिइन् । विस्तारै भिडियो कल हुन थाल्यो । मायाप्रेमका कुरासम्म पुग्यो सम्बन्ध ।

अनलाइनबाटै हिंसामा पर्छन् किशोरी–युवती

डेढ महिनापछि पुरुषले किशोरीलाई भिडियोमै टिसर्ट खोलेर छाती देखाउन भने । अर्को दिन कम्मरमुनिको कपडासमेत खोल्न भने । किशोरी त्यसै–त्यसै गर्दै गइन् । तर, विस्तारै उनको व्यवहारमा परिवर्तन आउन थाल्यो । साथीहरूमाझ बस्दा पनि निराश अनि एकोहोरिएजस्तो देखिन थालिन् । ‘फ्री–फ्रयांक मान्छे एक्कासि निराश, गलेकोजस्तो देखिने, हामीसँग बोल्नै छाडी,’ उनकी छिमेकी साथीले भनिन्, ‘धेरै कर गरेपछि बल्ल भनी, ऊ त अनलाइन दुर्व्यवहारको सिकार भइसकेकी रहिछ ।’

जेठ अन्तिम साता काठमाडौंकै १७ वर्षीया किशोरीको म्यासेन्जरमा अपरिचित पुरुषले एउटा तस्बिर पठाए । नांगो शरीरमा तिनै किशोरीको टाउको जोडिएको तस्बिर थियो । त्यही देखाएर ती पुरुषले किशोरीलाई भिडियो कलमा यौनजन्य गतिविधि गर्न दबाब पनि दिए, ‘मानिनौ भने यो तिम्रो फोटो भाइरल गरिदिन्छु, तिम्रा बाआमाको इज्जत बर्बाद गरिदिन्छु ।’ किशोरीले आत्तिएर सबै कुरा आमालाई सुनाइन् । तिनै पुरुषले आमालाई पनि यस्तै सम्बन्धका लागि दबाब दिँदै आएका रहेछन् ।

लकडाउनका बेला इन्टरनेटको बढ्दो प्रयोगसँगै बालिका तथा युवतीहरूमाथि यौनशोषणको जोखिम बढेको देखिन्छ । भोटाहिटीस्थित प्रहरीको केन्द्रीय साइबर ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार इन्टरनेटको पहुँचमा रहेका बालबालिका र किशोरकिशोरीलाई ललाइ–फकाइ गर्न सहज हुने भएकाले यौनशोषण र दुर्व्यवहारमा पर्ने गरेका छन् ।

ब्युरोका अनुसार गत पुस, माघ र फागुनमा १८ वर्षमुनिका १८ बालबालिकाले साइबर अपराधसम्बन्धी उजुरी गरेका थिए । लकडाउनयता चैत, वैशाख र जेठमा यस्ता उजुरीको संख्या ३७ छ ।

बालबालिका तथा युवालाई इन्टरनेट सुरक्षा कार्यक्रम चलाउँदै आएको चाइल्ड सेफ नेट संस्थाले युनिसेफसँगको सहकार्यमा गरेको अनलाइन सर्वेक्षणमा झन्डै ७४ प्रतिशतले मनोरञ्जन प्रयोजनले इन्टरनेट प्रयोग गरेको पाइन्छ । गत अप्रिल १७ देखि २१ सम्मको सर्वेक्षणमा १ हजार २ सय २८ बालबालिका तथा युवायुवती सहभागी थिए । जसमा १३ देखि १७ वर्षका १२.२४ बालिका र ४.११ बालकले अनलाइन मेसेजमा अश्लील फोटो, भिडियो पाएको बताए । त्यस्तै १८ देखि २४ वर्ष उमेरका १८.९३ प्रतिशत युवती र १०.८७ प्रतिशत युवकलाई त्यस्ता सामग्री आएका थिए । यसै गरी १३ देखि १७ वर्षका १६.४४ प्रतिशत बालक र १४.२९ बालिकाले अश्लील मेसेज पाएको बताए । १८ देखि २४ वर्षका १३.४१ युवा तथा १९.२० युवतीले दुर्व्यवहारजन्य अनलाइन मेसेज पाएको जनाए । यो तथ्यांकले बालक तथा युवाभन्दा बालिका तथा युवतीहरू अनलाइन यौनशोषण र दुर्व्यवहारको उच्च जोखिममा रहेको देखाउँछ ।

इन्टरनेटको सुरक्षित प्रयोग गर्ने ज्ञानको कमी र देखासिकीले पनि बालबालिकाहरू अनलाइन यौनशोषणको सिकार भइरहेको चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले बताए ।

लकडाउनमा बालबालिका तथा युवायुवतीले इन्टरनेटमा बिताउने समय निकै बढेको छ । लकडाउनअघि २७ प्रतिशतले मात्रै दैनिक ४ देखि ६ घण्टा इन्टरनेटमा बिताउँथे । अहिले यो दर ३५ प्रतिशत पुगेको छ । ६ देखि ९ घण्टा इन्टरनेट चलाउनेको संख्या १२ प्रतिशतले बढेको छ । त्यस्तै दैनिक १० देखि १२ घण्टा इन्टरनेट चलाउने १० प्रतिशत र १२ घण्टाभन्दा बढी चलाउनेको संख्या ७ प्रतिशतले बढेको छ ।

पछिल्लो समय विद्यालयले चलाएका अनलाइन कक्षाको बहानामा इन्टरनेट बसाइ लम्बिँदा पनि दुर्व्यवहारको जोखिम बढेको रघुवंशी बताउँछन् । ‘छोराछोरी अनलाइनमा क्लास मात्र लिइरहेका छन् कि अरू केही गरिरहेका छन्, यसमा अभिभावकको ध्यानै पुग्दैन,’ उनले भने, ‘इन्टरनेटमा जति धेरै इन्गेजमेन्ट भयो उति नै अनलाइन सेक्स अब्युजरहरूले मौका पाइरहेका हुन्छन् ।’

‘लकडाउनमा सबै जना अनलाइनमा छन्, दुर्व्यवहार गर्ने मान्छेलाई यो समय निकै सहज भएको छ,’ सिविनकी अनुसन्धान अधिकृत अञ्जली शाक्य भन्छिन्, ‘सुरुमा पत्याउनै सकिँदैन, इन्टरनेटबाट दुर्व्यवहार गर्ने पुरुषले यति चतुर्‍याइँ गर्छ कि बालिका र किशोरीहरू नजानिँदो गरी फसाइन्छन् ।’

सिविनले लकडाउनका ८२ दिनमा बालबालिकालाई अनलाइन शोषणको जोखिम र मानसिक स्वास्थ्यमा पर्ने असरबारे सर्वेक्षण गरेको थियो । जसमा ५ देखि १८ वर्षका ५ सय १ बालबालिकालाई सहभागी गराइएको थियो । तीमध्ये २५ जनाले आफूमाथि अनलाइन बुलिङ, २५ जनाले अनावश्यक फोन सम्पर्क र ४ जनाले जबर्जस्ती यौनजन्य सामग्री पठाइएको उल्लेख गरेका थिए ।

छोराछोरीलाई यस्तो समस्याबाट जोगाउन अभिभावकले निगरानी राख्नुपर्ने मनोसामाजिक परामर्शदाता पार्वती सुवेदी बताउँछिन् । बच्चाबच्ची घरमै भएकाले सुरक्षित छन् भन्ने अभिभावकलाई भान परे पनि यही बेला बाहिरी मान्छेबाट उनीहरू यौनशोषण र दुर्व्यवहारमा पर्ने सम्भावना धेरै हुने उनको भनाइ छ ।

‘अभिभावकले मोबाइल इन्टरनेट चलाउन नदेलान् भनेर बच्चाबच्चीले भन्न नसकिरहेका हुन सक्छन्,’ सुवेदीले भनिन्, ‘चलाउँदा–चलाउँदै कोही आए मोबाइल लुकाउने, परिवारसँग कुराकानी गर्न छाड्ने, रिसाउने र निराश हुने हुन सक्छ । ढिला सुत्ने, ढिला उठ्ने हुन सक्छ, आमाबुबा, परिवारले विशेष ख्याल राख्नुपर्छ  ।’

प्रकाशित : असार २५, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?