२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ओली–दाहालका 'म्याराथन भेट', अझै भेटिएन संकटमोचन सूत्र

बबिता शर्मा

काठमाडौँ — नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि भन्दै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दैनिकजसो घन्टौं छलफल भइरहेका छन् । तर, एकअर्काप्रति आक्रामक अभिव्यक्तिसँगै दबाब बनाउने रणनीति लिएका ओली र दाहालले झण्डै विभाजनको तहमा पुगेको पार्टीको संकट टार्ने उपाय भने अझै भेट्टाउन सकेका छैनन् ।

ओली–दाहालका 'म्याराथन भेट', अझै भेटिएन संकटमोचन सूत्र

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक असार १८ पछि लगातार स्थगित छ । बैठक रोकेर ओली र दाहालले कहिले एक–एक जना बसेर त कहिले पार्टीका दोस्रो तहका नेतासमेत राखेर पटक–पटक छलफल गरेका छन् । नेकपाका नेताहरुका अनुसार अहिलेसम्म उनीहरुले संकटमोचन सूत्र भने फेला पारिसकेका छैनन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘सहमति जुटाउने प्रयासस्वरुप दुई अध्यक्षबीच लगातार वार्ता भएका छन् । शुक्रबार बस्ने स्थायी कमिटी बैठक अगाडिसम्म सहमति जुटाउने कोसिस छ ।’

नेकपामा अध्यक्ष दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् । नभए कम्तिमा एक पद छाड्नै पर्ने यो समूहको अडान छ । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली आफूविरुद्ध षड्यन्त्र भएको भन्दै दुवै पद नछाड्ने अडानमा छन् । आफ्नो अडानमा आउन दाहाल र नेपाललाई बाध्य पार्ने ओलीको रणनीति छ ।

बैठक चलिरहेका बेला संसद् अधिवेशन अन्त्य गरेपछि नेकपाभित्रको विवाद झन् चुलिएको थियो । बैठक सुरु भएकै दिन ओली र दाहालले पार्टी र सरकार संचालनका विषयमा परस्परविरोधी अभिव्यक्ति दिएपछि विवाद फराकिलो बन्दै गएको थियो । दुवै पक्षका अडानले सहमति जुटाउन कठिन भएको नेताहरु बताउँछन् । प्रधानमन्त्री ओलीले दुवै अध्यक्ष बसेर छलफलबाट समाधान निकाल्नुपर्ने नभए पार्टी विभाजन हुने चेतावनी दिएको दाहाल पक्षको भनाई छ ।

बुधबारसम्मको छलफलमा ठोस प्रगति भएको छैन । बुधबार स्थायी कमिटी बैठक रोकेर साँझ ओली र दाहालले दुई घन्टा लामो कुराकानी गरे । पार्टीको आन्तरिक विवादलाई लिएर अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष सकियो । दाहालका प्रेस संयोजक विष्णु सापकोटाले दुवै अध्यक्षबीच भएको छलफलबाट कुनै निष्कर्ष ननिस्किएको बताए ।

मन्त्रिपरिषद् बैठकबाट संसद अधिवेशन अन्त्यको सिफारिस गरेपछि स्थायी कमिटी बैठक स्थगित गरेर ओली–दाहालबीच असार १८ मा छलफल भएको थियो । त्यस दिन करिब एक घन्टाको छलफलमा ओलीले राजीनामा बाहेक कुरा भएमात्र छलफलमा बस्न तयार भएको बताएका थिए । असार १९ मा अध्यक्षद्वयबीच करिब ४ घन्टा वार्तालाप भए पनि दुवैले अडान नछाडेपछि सहमति हुन सकेन । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । असार २० को छलफल स्थगित भएको थियो । असार २१ मा दुई अध्यक्षबीच भनाभन नै भयो । यो छलफलमा महासचिव पौडेल, स्थायी कमिटी सदस्य वर्षमान पुन, शंकर पोखरेल र शर्मा पनि सहभागी थिए ।

त्यसपछि असार २२ मा भएको दुईजनाबीचको छलफलमा प्रधानमन्त्री ओलीले आफ्ना कुरा राखेका थिए । यसमा ओलीले आफूलाई सबैतिरबाट सिध्धाउने प्रयास भएपछि प्रतिरक्षामा उत्रेको बताएका थिए । ‘मलाई माधवसँग मिलेर सिध्याउन खोजेपछि मैले पनि कदम चालें । तर, दुवै पदबाट राजीनामा दिन्नँ,’ ओलीको भनाइ थियो ।

त्यसको अर्को दिन असार २३ मा दाहालले आफ्ना कुरा राखेका थिए । दाहालले जेठ २ को सहमतिअनुसार प्रधानमन्त्री पद छाड्न माग गरेका थिए । ‘केही कुरा सुन्नु हुन्न । आफ्नो हिसाबले चल्नु हुन्छ । अब साथीहरुको कुरा पनि सुन्नु पर्‍यो तपाईंले । जेठ २ गतेको सम्झौताअनुसार छोड्नुस्,’ दाहालको भनाई थियो । त्यसपछि असार २४ दुवै अध्यक्षबीच छलफल भएको थियो । तर, दुवैजना अडानमै रहे ।

स्थायी कमिटी बैठकमा ७ एजेन्डा तय भएका थिए । तर, नयाँ नयाँ विवादले यी विषयमा छलफल नै हुन पाएको छैन ।

प्रकाशित : असार २४, २०७७ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?