बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण

मनसुन
कान्तिपुर संवाददाता

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सम्भावित बाढीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

फाइल तस्बिर ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बुधबारदेखि नै कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाब बढ्दै जाने अनुमान गरेको छ ।

कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना, कान्द्रालगायत नदीका केही स–साना सहायक नदीमा भने आकस्मिक बहाब हुन सक्ने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बिहीबारदेखि देशभरका नदीको बहाब बढ्ने आकलन गरिएको छ ।

२६ देखि २९ गतेसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र तिनका सहायक नदीमा पानीको बहाब बढ्ने महाशाखाको अनुमान छ । ती नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्ने भएकाले सचेत हुन विशेषज्ञहरुले सजग गराएका छन् । यस्तै, कर्णाली, पश्चिम राप्ती, बबई र महाकाली नदीमा पनि पानीको सतह सामान्य बढ्ने अनुमान छ ।

महाशाखाका अनुसार बुधबारदेखि नै प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको चुरे–तराईबाट बहने प्रायः सबै नदीमा पानीको बहाब सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।

प्रकाशित : असार २३, २०७७ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुर टेलिभिजन र कमेडी च्याम्पियनबीच सहकार्य 

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर टेलिभजनले 'कमेडी च्याम्पियन'को टिमसँग सहकार्य गर्ने भएको छ । सोमबार रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारणको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

थ्री प्रोडक्सन र कान्तिपुरको यो सहकार्य 'कमेडी च्याम्पियन'को छैटौं सिजनसम्मको लागि रहेको दिनेशले बताए । यसअघि 'कमेडी च्याम्पियन'ले कान्तिपुरको समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो । अब यसको निर्माण पनि कान्तिपुर टिभीकै सहकार्यमा निर्माण हुनेछ ।

'सिजन वान हामीले धेरै आरोह-अवरोहबीच सक्कायौं । त्यतिबेला आउट सोर्सिङ कार्यक्रम थियो भने अब त हामीले हात मिलाएका छौं । दुई कम्पनी मिलेर अझै बृहत कार्यक्रम बनाउने तयारी छ,' सोका निर्देशक भण्डारीले भने ।

कोभिडको प्रभाव हेरेर सकेसम्म चाँडो कार्यक्रम प्रसारण गरिने डिसीले बताए । कोभिडले दर्शकमा परेको मानसिक तनावलाई कार्यक्रमले केही हदसम्म कम गर्ने निर्माताहरु केकी र रीमाले विश्वास लिएको बताए । 'हाँसो दिनु त हाम्रो प्रमुख उदेश्य नै भयो । कोभिडले निम्त्याएको मानसिक तनाव र चिन्तालाई हटाउन कार्यक्रमले भूमिका त अवश्य खेल्नेछ,' केकीले भनिन् ।

प्रकाशित : असार २३, २०७७ २०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×