सबै परीक्षाको नतिजा साउन १५ भित्र : त्रिवि पनिका

गणेश राई

काठमाडौँ — त्रिवि परीक्षा नियन्त्रण कार्यालयले लकडाउनअघि लिएको सबै तहको परीक्षाको नतिजा आगामी साउन १५ गतेभित्र प्रकाशित गरिसक्ने जनाएको छ । लकडाउनको बेलासमेत उत्तरपुस्तिका परीक्षण कार्य सुचारु राखेकाले सम्भव भएको परिक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

‘लकडाउनको बेला गाडी पास लिएर विषयगत प्राध्यापकहरूको घरघरै उत्तरपुस्तिका पुर्‍याएर काम गर्न दियौं,’ उनले भने, ‘नियन्त्रण कार्यालयमा सीमित कर्मचारी बसेर नतिजा प्रशोधन कार्य सुचारु राखेका छौं ।’

नियन्त्रण कार्यालयले वैशाख १८ देखि असार २२ गतेसम्म १८ चरणमा नतिजा प्रकाशन गरेको जनाएको छ । उसले बिबिएस र बिए दोस्रो वर्ष, बिएस्सी र बिएड् पहिलो वर्ष, एमएड् दोस्रो वर्ष र पाँच वर्षे बिएएलएलबीको नतिजा प्रकाशन गरेको हो । अब तीन वर्षे एलएलसबी नतिजा प्रकाशन तयारीमा रहेको छ । उक्त तहमा १५ हजार परीक्षार्थी छन् । त्यसैगरी चार वर्षे बिबिएस प्रथम वर्षमा ९६ हजार र बिएमा ५० हजार परीक्षार्थीको नतिजा प्रकाशन तयारी रहेको नियन्त्रक जोशीले जनाए ।

त्यसैगरी स्नातकोत्तर दोस्रो वर्षका केही विषयको नतिजा प्रकाशन बाँकी छ । ‘अहिलेसम्म सम्पन्न सबै तहको परीक्षाको नतिजा साउने १५ गतेभित्र प्रकाशन गर्ने लक्ष्य राखेका छौं,’ नियन्त्रण जोशीले भने । नतिजा प्रकाशन सकिएसँगै नियन्त्रण कार्यालयलाई थप सुधारसहित प्रविधिमैत्री तुल्याइने उनले जनाएका छन् ।

प्रकाशित : असार २३, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा थपिए २८ कोरोना संक्रमित

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।  

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका ४ र ललितपुरका १० जनामा संक्रमण देखिएको हो ।

मंगलबार सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना संक्रमण देखिएको छ । अछाम र बैतडीका ११/११, महोत्तरीका ९, धनुषा र अर्घाखाँचीका ८/८, डोटीका ७, मोरङ र डडेलधुराका ६/६, सल्यान, रुकुम पश्चिम र नवलपसारीका ५/५, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका ३/३, तनहुँ, पाल्पा र बर्दियाका २/२, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा मुलुकभर २०४ संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ हजार १३३ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म पीसीआर विधिबाट २ लाख ६१ हजार ८६१ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार २३, २०७७ १८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×