बेरोजगारीले बढ्यो दुर्व्यसन

काठमाडौँ — झन्डै ४० प्रतिशत व्यक्तिले बेरोजगारीका कारण लागूऔषध प्रयोग गर्ने गरेको गृह मन्त्रालयको एक अध्ययनले देखाएको छ । 

बेरोजगारीले बढ्यो दुर्व्यसन

सीमा नाकामा जाँच बढाउने, सचेतना कार्यक्रम गर्ने, नि:शुल्क उपचारको व्यवस्था गर्ने र सीप विकासका कार्यक्रम गर्न सके लागूऔषधको प्रयोग घटाउन सकिने अध्ययनले देखाएको छ । कुल प्रयोगकर्तामध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार र १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी गर्ने व्यक्ति रहेका छन् ।

यसैगरी नोकरी गर्ने, ११ दशमलव ७, अध्ययन ८ दशमलव ७, वैदेशिक रोजगारीमा रहेका ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेका छन् । गृह मन्त्रालय लागूऔषध विभागका प्रमुख उपसचिव झंकनाथ ढकालका अनुसार लागूऔषध प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ ।

केन्द्रीय तथ्यांक विभागको सहयोगमा गृहमन्त्रालयले गरेको अध्ययन अनुसार २०६९ सालको तुलनामा ०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ । २०६९ मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको उनले बताए ।

२०६९ सालमा गरिएको अध्ययनको तुलनामा २०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति लागूऔषधको बढी प्रयोग गर्छन् । साथीहरुको संगतले ६७ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्नेहरु रहेको अध्ययनले देखाएको छ । डुलन्ते बिक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागूऔषध लिइरहेका छन् । सबैभन्दा बढी ५१ दशमलव १ प्रतिशतले एकान्त ठाउँ र २० दशमलव ४ प्रतिशतले घरमै यसको प्रयोग गर्ने गरेका अध्ययनले देखाएको छ । झाडीमा १२ दशमलव ८, होटल तथा रेष्टुरेन्टमा २ प्रतिशत, पाटी–पौवामा डेढ प्रतिशत, पुलमुनि ४ दशमलव ३ प्रतिशतले लागूऔषध सेवन गर्नेहरु रहेका छन् ।

यस्तै साथीसँगीको दबाबका कारण लागूऔषध प्रयोग गर्नेको संख्या बढी रहेको छ । ८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा यसको प्रयोग गर्छन् । ७२ दशमलव १ प्रतिशले मनोरञ्जनका लागि, ६२ दशमलव ५ प्रतिशतले उत्सुकताका लागि ४५ ६ प्रतिशतले खुसी हुन ३० दशमलव ६ प्रतिशतले मानसिक तनावका कारण यसको सेवन गर्ने गरेका छन् ।

यस्तै पारिवारिक समस्याका कारण १८ दशमलव ९, डिप्रेसनका कारण १४ दशमलव ९ र पढाइमा आउने समस्याका कारण ८ दशमलव ९ प्रतिशतले लागूऔषध सेवन गर्ने गरेको अध्ययनले देखाएको छ । लागूऔषध सेवनकर्तामध्ये १५ प्रतिशतमा हेपाटाइटिसको समस्या देखिने गरेको छ । मानसिक विचलन ४ दशमलव १ प्रतिशत, क्षयरोग ४ प्रतिशत, एचआइभी–एड्स ३ दशमलव ५ प्रतिशत र २ दशमलव ५ प्रतिशतमा एसटिडीको समस्या देखिने गरेको छ । ४७ दशमलव २ प्रतिशत प्रयोगकर्ताहरुले जीवन सुधारका लागि रोजगारी वृद्धि गर्नुपर्ने अपेक्षा राखेका छन् । ३६ दशलमव ९ प्रतिशतले नि:शुल्क उपचार, २२ दशमलव ८ प्रतिशतले सीप विकास तालिमको व्यवस्था, २१ दशमलव १ प्रतिशतले सचेतना कार्यक्रम र १५ प्रतिशतले प्रभावकारी आपूर्ति नियन्त्रण गरे प्रयोगकर्ताहरुको जीवनमा सुधार ल्याउन सकिने अपेक्ष उनीहरुले गरेका छन् ।

प्रकाशित : असार २३, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?