कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली–दाहाल संवादमा नेपालको असन्तुष्टि

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई जना बसेर विवाद समाधानका लागि संवाद गर्ने सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

सोमबार ओली र दाहालबीच पार्टीको आन्तरिक विवादमा सहमतिको सूत्र खोज्न दुई अध्यक्षमात्र संवादमा जुट्ने सहमति भएको थियो । यसैलाई लिएर वरिष्ठ नेता नेपालको असन्तुष्टि आएको हो । ओली र दाहालबीचको भेट लगत्तै नेपाल र दाहालबीच भेटवार्ता भएको थियो ।

स्रोतका अनुसार यही भेटवार्तामा नेता नेपालले दुई अध्यक्षको सहमतिलाई लिएर असन्तुष्टि जनाएका हुन् । नेता नेपालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दुई अध्यक्षले संवाद साँघुरो बनाएकोमा असन्तुष्ट छन् ।

ओली र दाहालले आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफल गरेका थिए । पौडेल र पोखरेल ओली निकट नेता हुन् भने पुन र शर्मा दाहाल निकट मानिन्छन् ।

दुई–दुई जना निकट नेता राख्दा पनि दाहालले आफ्नो समूहका नेता नराखेकोमा नेपालको असन्तुष्टि थियो । यी चार नेतालाई सहमतिको गृहकार्य गर्ने जिम्मा दिइएको बताइए पनि पछि दाहालको सचिवालयले यस्तो नभएको दाबी गरेको थियो । त्यहीबीचमा नेकपाको सहमतिको पाँच बुँदे मस्यौदा नाम दिइएको पत्र बाहिरिएको थियो । यसलाई पनि दाहालको सचिवालयले गलत भन्दै खण्डन गरेको थियो ।

त्यसको अर्को दिन दुई अध्यक्षले आवश्यक परे अरु नेता राख्ने नत्र आफैले संवाद गर्ने सहमति गरेका हुन् । यसले नेकपाभित्र दाहाल–नेपाल समूहमा आंशका बढाएको छ । विगतमा ओली र दाहाल मिलेर आफूलाई किनारा लगाएको नेपाल समूहका नेताहरुको बुझाई छ ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग्नेमा नेपाल समूहका नेता धेरै थिए । तर, सोमवारसम्म ओली कुनै पद नछाड्ने आफ्नो अडानमा कायमै छन् ।

दुई अध्यक्षले समझदारी गर्ने र बैठकमा अनुमोदन गर्ने कुरा स्वीकार्य नहुने नेपाल निकट एक नेताहरुको भनाइ छ । स्थायी कमिटीबाटै निर्णय हुनुपर्ने उनिहरुको भनाइ छ ।

पार्टी प्रवक्ता श्रेष्ठले अध्यक्षहरुले सहमति जुटाउन छलफल अघि बढाए पनि प्रगतिबारे जानकारी नभएको बताए ।

प्रकाशित : असार २२, २०७७ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्

कैलालीमा ओली र दाहाल पक्षधर नेकपा कार्यकर्ताबीच झडप

अर्जुन शाह

धनगढी — कैलालीको लम्कीमा नेकपा कार्यकर्ताहरुबीच झडप भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समूहका कार्यकर्ता एकापसमा झडपमा उत्रिएका हुन् ।

केन्द्रमा दुवै पक्षका शीर्ष नेताबीच विवाद चुलिरहेकै बेला स्थानीय कार्यकर्ताबीच झडप भएको थियो ।

सचेत नागरिक समाज नाममा प्रधानमन्त्री ओलीको सर्मथनमा अपरान्ह लम्की चोकमा र्‍यालीसहित कोणसभाको आयोजना गरेको थियो । सोही क्रममा दुवै पक्षबीच भएको विवाद हात हालाहालमा परिणत भएको थियो ।

स्थानीयका अनुसार ओली पक्षले, ‘हामीलाई दाहालको एक-एक हर्कत थाहा छ’ भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।

नेकपाका कार्यकर्ता नरबहादुर खड्काले दाहालका विरुद्ध अभिव्यक्ति दिएको आरोपमा दाहाल निकटका केही युवाहरु खड्काको माइक खोस्‍न अग्रसर भएपछि दुवै पक्षबीच झगडा भएको थियो ।

झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले अवस्था साम्य गरेको लम्कीका स्थानीय देवानन्द न्यौपानेले बताए । लम्कीमा खटिएका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले भने, ‘सुरक्षाकर्मीको तत्काल परिचालनका कारण ठूलो दुर्घटना हुन पाएन ।’

प्रकाशित : असार २२, २०७७ २२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×