कैलालीमा ओली र दाहाल पक्षधर नेकपा कार्यकर्ताबीच झडप
धनगढी — कैलालीको लम्कीमा नेकपा कार्यकर्ताहरुबीच झडप भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समूहका कार्यकर्ता एकापसमा झडपमा उत्रिएका हुन् ।
केन्द्रमा दुवै पक्षका शीर्ष नेताबीच विवाद चुलिरहेकै बेला स्थानीय कार्यकर्ताबीच झडप भएको थियो ।
सचेत नागरिक समाज नाममा प्रधानमन्त्री ओलीको सर्मथनमा अपरान्ह लम्की चोकमा र्यालीसहित कोणसभाको आयोजना गरेको थियो । सोही क्रममा दुवै पक्षबीच भएको विवाद हात हालाहालमा परिणत भएको थियो ।
स्थानीयका अनुसार ओली पक्षले, ‘हामीलाई दाहालको एक-एक हर्कत थाहा छ’ भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।
नेकपाका कार्यकर्ता नरबहादुर खड्काले दाहालका विरुद्ध अभिव्यक्ति दिएको आरोपमा दाहाल निकटका केही युवाहरु खड्काको माइक खोस्न अग्रसर भएपछि दुवै पक्षबीच झगडा भएको थियो ।
झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले अवस्था साम्य गरेको लम्कीका स्थानीय देवानन्द न्यौपानेले बताए । लम्कीमा खटिएका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले भने, ‘सुरक्षाकर्मीको तत्काल परिचालनका कारण ठूलो दुर्घटना हुन पाएन ।’
प्रकाशित : असार २२, २०७७ २२:१९