१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पूर्ण इजलासद्वारा तत्कालीन प्रधान्यायाधीशको राय बदर

दाइजोसँग सम्बन्धित एक हत्याको मुद्दामा संलग्‍न आरोपितहरुले सफाई पाउनुपर्ने भनी तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको रायलाई सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ । 
कृष्ण ज्ञवाली

काठमाडौँ — दाइजोसँग सम्बन्धित ज्यान मुद्दाका दुई आरोपितहरुले सफाइ पाउनुपर्ने भन्‍ने तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको रायलाई सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ ।

पूर्ण इजलासद्वारा तत्कालीन प्रधान्यायाधीशको राय बदर

संयुक्त इजलासमा बाझिएपछि पूर्ण इजलासमा पेश भएको उक्त मुद्दामा सर्वोच्च अदालतले कसुर स्थापित हुने भन्दै हत्यामा संलग्‍न रहेको ठहरसहित मृतकको पति र उनका दाईलाई जन्मकैदको फैसला गरेको हो ।

दाइजोको विवाद नमिल्दा पति र पतिका दाई मिलेर गरेको हत्यालाई तत्कालीन प्रधानन्यायाधीश पराजुलीले कसुर स्थापित नहुने भनी सफाइ पाउने राय दिएका थिए । उनको रायसँग न्यायाधीश ईश्वरप्रसाद खतिवडाको राय बाझिएपछि पूर्ण इजलासमा पेश भएको थियो । जिल्ला अदालतले सफाइ दिएको मुद्दामा पछि पुनरावेदन अदालतले दुईजनालाई कसुरदार ठहर गरेको थियो ।

घटना यस्तो हो....

मोरङको पोखनियाका सुनितादेवी मण्डल र रमेश मण्डलबीच २०६४ सालमा प्रेमविवाह भएको थियो । विवाहका क्रममा रमेशले ससुरालीबाट दाइजो स्वरुप ५१ हजार रुपैयाँ पाएका थिए । दाइजो थोरै भएकोमा असन्तुष्ट बनेका केटा पक्षले मोटरसाइकल र टिभी पनि मागेका थिए । रमेश वैदेशिक रोजगारमा भएको बेलामा त्यही खटपट चलेपछि सुनिता नजिकैको माइतीमा गएर बसेकी थिइन ।

वैदेशिक रोजगारीबाट फर्केपछि रमेश श्रीमतीलाई लिन ससुराली गए । त्यहाँ पनि दाइजोका विषयमा विवाद भएपनि रमेशले ससुरालीमै श्रीमतीमाथि हातपात गरे । अनि ससुरालीले गरेको आग्रहको जवाफमा ‘तिमीहरुको खाना खान्न’ भनी निस्के र पछि श्रीमतीलाई बोलाएर लगे । रमेशको दाबी अनुसार, ससुराले आवेशमा आई छोरी कुटेका थिए । भोलिपल्ट भने नजिकैको कदमको रुखमा झुण्डिएको अवस्थामा सुनिताको शव भेटियो ।

सुनिताको माइती पक्षले कुटपिट गरी हत्या गरेको आरोपमा ज्वाई रमेश, उनका दाजु विजय मण्डल अनि रमेशका बाबुआमा भरतलाल र रामवती मण्डल विरुद्ध किटानी जाहेरी दिए । जाहेरी अनुसार, २०६८ साल फागुन २० गते साँझ सुनितामाथि घरमा कुटपिट भएको थियो । भोलीपल्ट साडीले पासो लगाएको अवस्थामा घरदेखि डेढ किलोमिटर टाढा शव भेटियो ।

शव परीक्षण मुचुल्कामा मृतकको नाक र मुखबाट रगत बगेको उल्लेख छ । घाँटीमा मसिनो डोरीले कसेको डाम भेटियो । घाँटी नजिक खोस्रिएको घाउ पनि छ । घटनास्थलको अनुसन्धान गर्दा घरमा चुराका टुक्राहरु फेला परे । घरनजिकैको गोठमा कुटपिट भएको अवस्था देखियो । त्यहाँ रगतको दाग थियो भने बाँसको लाठी पनि बरामद भयो । प्रहरीसँगको बयानमा मृतकका सासुससुराले आफूहरुले केही नगरेको भन्दै छोराले कुटेको हुनसक्ने बताए । मृतकका पतिले आफ्नो दाइ विजय मण्डलसँग मिलेर मुख थुनेको र मरेपछि रुखमा झुण्डयाएको स्वीकारे ।

तर जिल्ला अदालत पुगेपछि उनले बयान फेरे । ‘म ससुराल हुँदै घर फर्कने क्रममा थिए । ससुरा आवेशमा आई मेरो खुट्टामा कुटे । म घर भागेँ’ बयानमा रमेश मण्डलले भनेका छन्, ‘भोलि हेर्न जाँदा त्यहाँ झुण्डयाएको शव भेटियो । मेरो पत्नी माइतीमा थिइन । बरु ससुराले छोरी कुटेको हो ।’ जिल्ला न्यायाधीश चण्डीराज ढकालले घटनास्थल र शव भेटिएको ठाँउ एक किलोमिटरभन्दा टाढा रहेको भन्दै मारेको भए त्यति टाढा लगेर शव व्यवस्थापन गर्न सम्भव नहुने भन्दै मृतकले आत्महत्या गरेको ठहर सहित आरोपित सबैलाई सफाइ दिए ।

जिल्लाको फैसलापछि मुद्दा पुनरावेदन अदालत विराटनगर पुग्यो । पुनरावेदन अदालतले घटनामा अरु सलग्न भएको नदेखिएको भन्दै मृतक सुनिताका पनि रमेश र रमेशका दाई विजय मण्डल संलग्न भएको ठहर गर्दै उनीहरुमाथि सर्वस्वसहित जन्मकैद हुने फैसला सुनायो । फैसलामा चित्त नबुझाएको दुवै पक्ष सर्वोच्च अदालत पुग्यो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले यो मुद्दा आफू सहित न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा राखे ।

मुद्दाको सुनुवाइ पनि फैसला सुनाउने क्रममा दुवै न्यायाधीशको राय बाझियो । प्रधानन्यायाधीश पराजुलीले आत्महत्या भन्ने ठहर गर्दै सबै आरोपितलाई सफाइ दिन खोजे । मृतकको शरीरमा बाहेक अन्यत्र चोटकपटक नदेखिएको, घटनास्थल र शव भेटिएको ठाँउ करिव एक किलोमिटरको दुरीमा रहेको भन्ने आधारमा उनले आत्महत्या भएको ठहर्‍याउन खोजे । घटनामा मुछिएकालेहरु कसुरमा इन्कार गरेको र उनका साक्षीहरुले पनि त्यस्तै बयान गरेको भन्ने आधारमा पराजुलीले सबै आरोपितलाई सफाइ हुनुपर्ने राय दिए । उक्त रायमा विमती जनाउँदै न्यायाधीश खतिवडाले शव परिक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का लगायतका आधारमा मृतकको पति र पतिका दाजु संलग्न देखिएको भन्दै उनीहरुलाई दोषी ठहर्ने पुनरावेदन अदालतको फैसला सदर गर्न खोजे । राय बाझिएपछि उक्त मुद्दा तीन सदस्यिय इजलासमा पेश भएको हो ।

मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतमा दीपककुमार कार्की, प्रकाश ढुंगाना र हरि फुयालको तीन सदस्यिय इजलास गठन भयो । उनीहरुले सर्वोच्च अदालतमा न्यायाधीश खतिवडाको राय सदर गर्दै तत्कालिन प्रधान्यायाधीश पराजुलीको राय उल्ट्याइदिए । उनीहरुले शव परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का लगायतका आधारमा आत्महत्या भन्न नमिल्‍ने ठहर गरे ।

मृतक सुनितादेवीको दुवै हातको नङमा माटो लागेको थियो । बाँया खुट्टाको गोलीगाँठोमा खोस्रिएको दाग थियो भने दुवै खुट्टामा गोबर थियो । घर नजिकैको गोठको खम्बामा रगतको सुकेको दाग भेटिएको थियो । गोबरमा मानिसहरु लछारपछार भएका संकेतहरु घटनास्थल मुचुल्कामा थियो । अनि सुनितादेवी चढ्न नसक्ने रुखमा उनको शव झुण्डिएको थियो । यी सबै वस्तुस्थिती र घटनाक्रमको विवेचना गर्दै सर्वोच्च अदालतले हत्या भएको ठहर गर्दै मृतकका पति रमेश र विजय मण्डललाई जन्मकैदको फैसला गरेको हो । एक वर्षअघिको फैसलाको पूर्णपाठ हालै तयार भएको हो ।

प्रकाशित : असार २२, २०७७ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?