२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सत्ताको खेलमा नलाग्‍न नेताहरुलाई कांग्रेस केन्द्रीय सदस्यहरुको खबरदारी

सत्ताको लोभमा च्याखे थाप्‍नु आत्मघाती हुन्छ : केसी

काठमाडौँ — सत्तारुढ नेकपामा बढेको विवादमा आफ्नो पार्टी र सभापति शेरबहादुर देउवा पनि जोडिन थालेपछि कांग्रेस केन्द्रीय सदस्यहरुले सत्ताको खेलमा अहिले नलाग्न खबरदारी गरेका छन् । केन्द्रीय समितिको सोमबारको बैठकमा बोल्ने सदस्यहरुले कांग्रेसका लागि यो सत्ताको लोभ गर्ने समय नभएको बताएका हुन् ।

सत्ताको खेलमा नलाग्‍न नेताहरुलाई कांग्रेस केन्द्रीय सदस्यहरुको खबरदारी

नेकपा विभाजित भए पनि सत्तामा जानका लागि कुनै पनि सम्झौता नगर्न नेताहरुलाई उनीहरुले सचेत गराएका छन् । निर्वाचन परिणामले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्यानडेट दिएको भन्दै उनीहरुले सत्ताको खेलमा नेताहरुलाई नफस्न आग्रह गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले यस विषयमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले कांग्रेसले सत्ताका लागि कुनै पनि खालको बार्गेनिङमा लाग्न नहुने धारणा राखेको बताए ।

‘नेकपाभित्रको आन्तरिक कलहमा कांग्रेस कुनै पनि समूहको पक्ष र विपक्षमा संलग्न हुनु हुन्न । सभापतिले बैठकमा संलग्नता नभएको भनेर प्रष्ट पनि पार्नु भएको छ । बाहिर जुनखालका चर्चा परिचर्चा आएका छन्, त्यो गलत छ,’ केसीले भने, ‘सत्ताको साझेदारी र लोभमा च्याखे थाप्ने काम गर्न थाल्यौं भने आत्मघाती हुन्छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निचोड पनि यही हो ।’

‘सत्तारुढ दल नेकपाको आन्तरिक जीवनमा उत्पन्‍न द्वन्दसँग कांग्रेस निरपेक्ष रहेको छ । गत निर्वाचनमा नेपाली जनताले दिएको म्याडेड बमोजिम जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी प्रतिबद्ध छ,’ कांग्रेसले निर्णयमा भनेको छ,‘सत्ता द्वन्दसँग कांग्रेसलाई जोडेर गरिएका प्रचारहरुलाई यो बैठक सम्पूर्ण रुपले खारेज गर्दछ ।’

प्रकाशित : असार २२, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?