मास्क नलगाई घरबाहिर निस्किनेलाई नियन्त्रणमा लिन गृहको परिपत्र- समाचार - कान्तिपुर समाचार

मास्क नलगाई घरबाहिर निस्किनेलाई नियन्त्रणमा लिन गृहको परिपत्र

मातृका दाहाल

काठमाडौं — गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको अधिकारीले बताए ।

‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ ।’

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रकाशित : असार २२, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

दुर्गमका स्वास्थ्यकर्मीले तोकिएको पारिश्रमिक पाएनन्

अर्जुन शाह

धनगढी — बाजुरामा कोरोना संक्रमणको रोकथाम, व्यवस्थापनलगायतका कार्यमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले सरकारले दिने भनेको जोखिम भत्ता त परै जाओस मासिक तोकिएको पारिश्रमिक समेत पाएका छैनन् ।

बुढीगंगा नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको नियुक्ति पत्रमा मासिक तलब २२ हजार १७० तोकिएको भएपनि उनीहरुलाई १६ हजार मात्र दिइने गरेको पाइएको छ ।

नगरपालिका अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र ताप्रामा एक वर्षदेखि करार सेवामा करार सेवामा कार्यरत अनमी आशा थापाले पाएको नियुक्ति पत्रमा उल्लेख भए बमोजिमको तलब पाएकी छैनन् । ‘नियुक्ति पत्रमा मासिक २२ हजार १७० पाउने उल्लेख छ,’ थापाले भनिन्, ‘दिने बेला १६ हजार मात्र दिने गरेका छन् ।’ दिनरात एक्लै खट्नु परेको भएपनि तोकिए अनुसारकै पारिश्रमिकसमेत नपाउँदा चित्त दुख्ने गरेको उनले बताइन् ।

सुरुदेखि नै चार वटा क्वारेन्टाइनको व्यवस्थापन तथा त्यहाँ रहेका संक्रमितहरुको उपचारमा दिनरात खटिरहेकी अनमी दिया सिंहलाई पनि तोकिएको पारिश्रमिकसमेत नपाउँदा खल्लो लाग्ने गरेको छ । बाजुराको धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिंह एक्लैको काँधमा सुरुदेखि नै धुराल्सैन मावि, अम्कोट, कुणीकोट र कुणी प्राविमा गरी चार वटा क्वारेन्टाइन तथा त्यहाँ रहेकोहरुको रेखदेख गर्ने जिम्मेवारी छ । ‘अरुतिर स्वास्थ्यकर्मीहरुलाई यस्तो बेला अतिरिक्त भत्ता दिने व्यवस्था रहेको सुन्छौं । हामी भने तोकिएकै पारिश्रमिकसमेत पाउँदैनौं,’ उनले भनिन्, ‘कामको मुल्यांकन नहुने रहेछ ।’

बुढीगंगाकै झालीमा कार्यरत अहेब मीनबहादुर कटुवालले कोरोना रोकथामका लागि जोखिम मोलेर खटिरहेको भएपनि तोकिएकै पारिश्रमिक पनि नपाउँदा अन्याय भएको बताए । ‘जो फिल्डमा खटिन्छन् उनीहरु पुरा तलब पनि पाउँदैनन् । दोब्बर खानेहरु काम गर्दैनन्,’ उनले भने, ‘यस्तो असमान नियमले चित्त नदुख्ने कुरै भएन ।’

बुढीगंगा नगरपालिका अन्तर्गत ७ वटा आधारमूत स्वास्थ्य केन्द्रहरु छन् । ती स्वास्थ्य केन्द्रहरुमा एक जना अहेव र एक जना अनमी र एक जना कार्यालय सहयोगी नियूक्त छन् । उनीहरुका लागि केन्द्रबाट एकमुष्ट वार्षिक पाँच लाख मात्र आएकोले तोकिए बमोजिम पारिश्रमिक उपलब्ध गराउन नसकिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनले बताए । ‘हरेक केन्द्रका लागि आउने त्यही पाँच लाख भाग हालेर तीन जना कर्मचारीको पारिश्रमिक निर्धारण गरेका हौं’ उनले भने, ‘उनीहरुलाई भत्ता दिने निर्णय पनि अहिलेसम्म भएको छैन ।’

मासिक रुपमा पारिश्रमिक उपलब्ध गराउन नसकिएको सन्दर्भमा उनले नगरपालिकामा लामो समयदेखि कार्यकारी प्रमुख नभएकाले ढिलाइ भएको बताए । ‘म आएको तीन महिना भयो । महिनौदेखि वितरण हुन नसकेको शिक्षक र स्वास्थ्यकर्मीको पारिश्रमिक, सामाजिक सुरक्षाभत्ता लगायतका रकमहरु म आएपनि बल्ल निकासा हुन सकेको अवस्था हो,’ प्रमुख प्रशासकीय अधिकृत महर्जनले भने, ‘करार सेवाका स्वास्थ्यकर्मी नियूक्त गर्ने बेला अनुमान गरिएभन्दा न्यून रकम माथिबाट आएकाले सोही अनुसार पारिश्रमिक उपलब्ध गराइएको हो ।’

आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुकै काँधमा कोरोना संक्रमितको व्यवस्थापन तथा क्वारेन्टाइनको रेखदेखको जिम्मेवारी छ । तर पालिकापिच्छे ती केन्द्रमा कार्यरतहरुका स्वास्थ्यकर्मीले पाउने सेवा सुविधा बेग्लाबेग्लै छ ।

त्रिवेणी नगरपालिकाले मासिक साढे १५ हजार पारिश्रमिक तोकेको पालिकाका स्वास्थ्य ईकाई प्रमुख चिरञ्जीवी साहले बताए । ‘पहिलो चरणमा त हामीले पालो पालो लगाएर दैनिक एघार सयका दरले जोखिम भत्ता पनि दिएका हौं’ उनले भने, ‘तर पारिश्रमिक अत्यन्तै न्यून भएपनि पालिकाले थप गरिदिए मात्र बढाएर दिन सकिने अवस्था छ ।’

यस्तै छेडेदह गाउँपालिकाले पनि साढे १५ हजार मात्र दिने गरेको त्यहाँका स्वास्थ्य इकाइ प्रमुख नन्दबहादुर राउतले बताए । ‘हाम्रो पालिकामा कोरोना महामारिमा खटिए वापत पाउनु पर्ने जोखिम भत्ता भने कसैले पाएका छैनौं,’ उनले भने ।

बाजुराको अर्को गाउँपालिका गौमुलले भने आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मासिक २१ हजार पारिश्रमिक दिने गरेको बताएको छ । ‘सारै अन्याय हुने ठानेर हामीले थपेर उनीहरुको तलब मासिक २१ हजार निर्धारण गरेका छौं,’ गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले भने, ‘हामीले पालिकामा कार्यरत स्वास्थ्यकर्मी सबैलाई समान रुपमा सतप्रतिशत र ७५ प्रतिशतका दरले जोखिम भत्ता पनि उपलब्ध गराएका छौं ।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले जिल्लाभर कार्यरत ४ सय स्वास्थ्यकर्मीमध्ये डेढ सय करार सेवाका रहेको बताए ।

प्रकाशित : असार २२, २०७७ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×