२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जन्मदिनमा झमकलाई घर

काठमाडौँ — धनकुटा कचिडेस्थित घरमा ४० औं जन्मदिन मनाउन साहित्यकार झमक घिमिरेले आइतबार बिहान सुरसार गरिरहेका बेला काठमाडौंमा भने सरकारले बनाइदिएको तीनतले भव्य निवास चिटिक्क सजिँदै थियो । गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको एक रोपनी जग्गामा बनेको अपांगमैत्री झमक घरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यदेखि प्राज्ञ लक्ष्मी माली, साहित्यकार स्नेह सायमी, वासुदेव अधिकारी, अनन्त वाग्ले, अनिता लामा, सुरेश हाचेकाली, रोजिता बुद्धाचार्य जम्मा भएका थिए ।

जन्मदिनमा झमकलाई घर

सामाजिक दूरी राखेर शाक्यले घरकै परिसरमा एभोकाडो र अम्बाको रूख रोप्दै गर्दा झमक प्रतिष्ठानसम्बद्ध स्रष्टा अनिताले एउटा चिठी निकालेर पढ्न थालिन्, जुन खुट्टाले लेखेरै धनकुटादेखि झमकले पठाएकी थिइन् ।

‘सरकारले स्रष्टालाई गरेको यो ठूलो सम्मान हो,’ चिठीमार्फत झमकले भनिन्, ‘म निकै भावुक बनेकी छु । छिट्टै काठमाडौं आउन चाहन्छु ।’ जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित झमक बोल्न र हिँडडुल गर्न सक्दिनन्, खुट्टाले लेखेरै संवाद गर्छिन् । खुट्टाको तीनवटा औंला मात्रै चल्ने उनले आधा दर्जनभन्दा बढी कृति लेखेकी छन् भने आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाएकी थिइन् । यिनै स्रष्टाको सम्मानमा सरकारले पाँच वर्षअघि घर बनाउने घोषणा गरेको थियो । त्यतिबेलै पशुपति क्षेत्र विकास कोषको जग्गा प्राप्त भए पनि निर्माण कार्य भने दुई वर्ष अगाडि थालिएको थियो । १ करोड ८० लाखको लागत रहेको तीनतले घर निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा छ । प्रधानमन्त्री पत्नी शाक्यको रेखरेखमा निर्माण सम्पन्न भएको घरको छिट्टै हस्तान्तरण गरिने बताइएको छ ।

सहरी विकास मन्त्रालयका तर्फबाट ज्ञानज्योति बिल्डर्सले निर्माण गरेको घर पूर्ण रूपमा अपांगमैत्री छ । भुइँतलामा झमकको बस्ने, लेखपढ गर्ने र सुत्ने थलो बनाइएको छ भने ह्विलचियरबाटै लिफ्ट चढेर छतमा घाम ताप्न जान सकिने बन्दोबस्त मिलाइएको छ । अनिताका अनुसार दोस्रो तलामा झमकको परिवार बस्ने छ भने तेस्रो तलामा पुस्तकालय र सभा हल निर्माण गरिएको छ । वृक्षरोपणपछि प्रधानमन्त्री पत्नी शाक्यले सरकार स्रष्टाहरूको सम्मानमा कटिबद्ध रहेको बताइन् । सामाजिक दूरी कायम राखेर गरिएको कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, साहित्यकार स्नेह सायमी, वासुदेव अधिकारी, अनन्त वाग्ले, अनिता लामा, सुरेश हाचेकाली, रोजिता बुद्धाचार्यलगायतले झमकद्वारा रचित कविता सुनाए ।

प्रकाशित : असार २२, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?