कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'महाअभियोग’ मुद्दामा ओली–दाहाल भनाभन

दाहाललाई ओलीको प्रश्न- राष्ट्रपतिलाई महाअभियोग लगाउने भनेर कानुन व्यवसायीसँग किन छलफल गरियो ?
दाहालको जवाफ- गलत कुरा नगर्नुस्, छलफल भएको भए प्रमाण ल्याउनुस्
सोमबारको छलफलअघि गृहकार्यको जिम्मा पौडेल, पुन, शर्मा र पोखरेललाई
बबिता शर्मा

काठमाडौँ — 'राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको' भन्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो ।

शनिबार साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको भन्दै यसका विरुद्ध लड्ने रणनीति सार्वजनिक गरेका थिए । त्यसको अर्को दिन भेटमा ओली र दाहालबीच सवालजवाफ भएको हो । दाहाल र ओलीबीच भएको संवादबारे दुवै समूहले आ–आफ्ना निकट नेताहरुलाई बताएका छन् ।

छलफलको सुरुमै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा दाहालले ‘गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस्’ भनेको नेकपाको उच्चस्रोतले बतायो । त्यसपछि ओलीले ‘मलाई थाहा छ, तपाईंहरु के गर्दै हुनुहुन्छ’ भन्ने जवाफ फर्काएको स्रोतले बतायो । बालुवाटारमै मन्त्रीहरु बोलाएर गलत सूचना प्रभाह गरेको भन्दै दाहालले पनि असन्तुष्टि पोखेका थिए ।

दाहालसँगको भेटमा ओलीले शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । जवाफमा दाहालले प्रधानमन्त्री नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएको स्रोतले जानकारी दियो ।

शनिबार दाहाल निवासमा दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामहादुर थापाबीच छलफल भएको थियो । यसैलाई लिएर प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो । खुमलटारमा केही कानून व्यवसायीसँग दाहाल–नेपाल समूहका नेताहरुको छलफललाई लिएर ओलीले प्रश्न उठाएका थिए । स्रोतका अनुसार जवाफमा दाहालले ‘तपाईंले पार्टी विभाजन गर्नुभयो भने के गर्ने भनेर छलफल गरेको हो’ भन्ने जवाफ दिएका थिए । बालुवाटारबाटै प्रधानमन्त्री आफैंले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएको बताएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो ।

ओलीसँग भेट गर्नुअगाडि दाहाल पार्टीका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई लिएर प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न राष्ट्रपतिकहाँ पुगेका थिए । राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको भन्दै विश्वस्त हुन आग्रह गरिएको नेता खनालले बताए । हल्ला बालुवाटारबाटै फैलाइएको भन्दै उनीहरूले राष्ट्रपतिको संस्थालाई आफूहरूले विवादमा नपार्नेसमेत बताएका थिए ।

‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस् । तर, म तर अन्तिमसम्म यसको सामना गर्छु’प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग भनेका थिए ।

प्रधानमन्त्रीको भनाईमा कृषि मन्त्री घनश्याम भुसाल र उर्जा मन्त्री बर्षमान पुनले आपत्ति जनाएका थिए । उर्जामन्त्री पुनले यस्ता कुरा पार्टी बैठकमै गर्नुपर्ने भन्दै शंकाका भरमा षड्यन्त्र भयो भन्दै हिँड्न नहुने बताएका थिए । मन्त्री भुसालले शीर्ष नेताहरू अनावश्यक हल्लाको बहकाउमा लागेको उदाहरण आफूसँग धेरै भएको भन्दै सूचनाको दुरुपयोग भएको कुरा बुझ्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

आइतबार केहीबेर महाअभियोगकै मुद्दामा दुई अध्यक्ष ओली र दाहालबीच सवालजवाफपछि थप संवाद सोमबार गर्ने सहमति बनेको थियो । त्यसका लागि गृहकार्य गर्न महासचिव विष्णु पौडेल, बर्षमान पुन, शंकर पोखरेल र जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । चार नेताको गृहकार्यपछि सोमबार ओली–दाहालबीच संवाद गर्ने र त्यसपछि मात्रै स्थायी कमिटी बैठक बस्ने नेताहरुको तयारी छ । आइतबार दाहाल र ओलीसँगै पौडेल, पुन, पोखरेल र शर्मा पनि बालुवाटार छलफलमा उपस्थित थिए ।

नेकपाको स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ । नेकपामा दाहाल–नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने अडानमा छ । ओलीले अन्तिमसम्म लड्ने तर राजीनामा नदिने जवाफ दिएका छन् । यही विवादले असार १० बाट बसेको स्थायी कमिटी बैठक पटक–पटक स्थगित भएको छ । दुवैपक्ष भावी कदमबारे विमर्शमा जुटेका छन् ।

प्रकाशित : असार २१, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ सरकारद्वारा प्रहरीलाई १७० थान मोटरसाइकल

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश सरकारले प्रदेश १ प्रहरीलाई १७० थान मोटरसाइकल र १० थान स्कुटर आइतबार हस्तान्तरण गरेको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ प्रहरी प्रमुख ईश्वरबाबु कार्कीलाई शान्ति सुरक्षा चुस्त दुरुस्त बनाइ राख्‍न भन्दै आइतबार मोटरसाइकल र स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुलाई उपलब्ध गराउने गरी टिभिएस कम्पनीको १६० सिसीको अपाचे मोटरसाइकल ९० थान, बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाइकल ८० थान र यमाहा कम्पनीको १२५ सिसीको यमाहा स्कुटर १० थान गरी कुल १८० थान सवारी साधन उपलब्ध गराएको हो । यस्तै, ट्राफिक व्यवस्थापनका लागि मन्त्रालयले प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मन्त्री कार्कीले विभिन्‍न अपराध कार्यमा संग्लग्‍न व्यक्तिहरुले अपराधका नयाँ नयाँ शैली अपनाइ रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी निर्वाह गर्दै आएका नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाइ शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन मोटरसाइकल उपलब्ध गराएको बताए ।

प्रकाशित : असार २१, २०७७ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×