कांग्रेससँग सम्बन्ध सुधार्ने प्रयत्‍नमा ओली

देउवाले भने, 'म ओली र दाहाल कुनै पक्षमा पनि देखिन चाहन्‍न'
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँगको सम्बन्ध सुधार गर्ने प्रयत्न थालेका छन् । पार्टीमा आन्तरिक शक्ति संघर्षका कारण संकटमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले कांग्रेससँग निकटता बढाएर जान चाहेका हुन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा रहेका र त्यसैका कारण पार्टी विभाजित हुने अवस्था बनेमा कांग्रेससँगको साझेदारीमा सरकार सञ्‍चालन गर्नेसम्मको बारेमा छलफल भएको स्रोतको दाबी छ । औपचारिक रुपमा भने कांग्रेसँग सरकारको साझेदारी र ओलीलाई काँध थाप्ने कुरा नभएको नेताहरु बताउँछन् । सभापति देउवाले जारी केन्द्रीय कार्यसमिति बैठकमै ओलीसँग असार १७ गते र आइतबार नेता सुवास नेम्वाङसँगको भेटबारे संक्षिप्त जानकारी गराएका थिए । उनले आफूलाई भन्दा भेटको चाँजोपाँजो मिलाउने कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई बढी जानकारी भएको भन्दै भित्री कुरा भने खोल्न चाहेनन् ।

सत्ता गठबन्धनका खेलाडी मानिने देउवाले दुवै भेटलाई संवैधानिक आयोगको पदाधिकारीहरुको नियुक्तिसँग जोडेका छन् । उनले आफूनिकट नेताहरुसँग असार १७ गतेकै भेटमा आयोगका पदाधिकारी नियुक्तिको विषयमा सहमति जुटेको जानकारी गराएका थिए । नेम्वाङसँगको भेटमा संवैधानिक आयोगको नियुक्तिको विषयलाई जोड दिइएको छ ।

यो पनि

आइतबारको भेटमा सहभागी नेता रिजालले सरकार निर्माण, सरकारको साझेदारी, ओलीलाई समर्थन दिने जस्ता विषयमा छलफल नभएको दाबी गरे । ‘न अहिले नेकपा विभाजन भएको सूचना निर्वाचन आयोगमा पुगेको छ, न त संसदमा अविश्वास आएको छ,’ रिजालले भने, ‘संवैधानिक आयोगमा विगतमा प्रमुख प्रतिपक्ष दलको नेतालाई बाइपास गरिएर भएका नियुक्ति, आगामी दिनमा गरिने निर्णय र सत्तारुढ दलभित्रको क्राईसिसका बारेमा सामान्य छलफल भएका हुन् ।’

ओलीले कांग्रेससँग निकटता बढाउन खोज्नु आफ्नो पार्टीभित्र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई दबाबमा राख्ने रणनीति हुनसक्ने आकलनसमेत गरिएको छ । जसलाई रिजालले पनि स्वीकारे । ‘नेकपाभित्रकै विवाद मिलाउनका लागि अर्को पक्षलाई दबाब दिनका लागि हुनसक्छ,’ रिजालले भने ।

नेकपा नेता सुवासचन्द्र नेम्वाङसँगको भेटमा सभापति देउवाले नेकपाभित्रको विवादमा आफू ओली र दाहाल कुनै पक्षतिर पनि देखिन नचाहेको बताएका थिए । ‘यो तपाईंहरुको आन्तरिक समस्या हो, म कुनै पक्षतिर पनि देखिन चाहन्न,’ देउवाको भनाइ उद्धृत गर्दै रिजालले भने ।

नेम्वाङले पनि आन्तरिक समस्या देखिए पनि मिलाउने प्रयास जारी रहेको जानकारी त्यस अवसरमा गराएका थिए ।

प्रकाशित : असार २१, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्

विदेशीलाई नागरिकता दिएको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — झुटा विवरण पेश गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता बनाइदिएको कसुरमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरीबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । उनलाई आइतबार आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

गत मंसिर १० गते आचार्यसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।

कर्मचारीसहित बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका ९ का वडाध्यक्ष शनिलाल राजवंशी समेत उक्त घटनामा संलग्न रहेको प्रहरीको आरोप छ । घटनामा संलग्न भएको आरोपमा ४६ जनामाथि उजुरी परेको छ । उजुरीलगत्तै दुवै वडाध्यक्ष फरार छन्।

प्रहरीको अनुसन्धानमा झुटा विवरण पेश गरी नागरिकता लिनेमा भारतीय, भुटानी र तिब्बती नागरिक रहेको उल्लेख छ ।

प्रकाशित : असार २१, २०७७ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×