कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशीलाई नागरिकता दिएको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — झुटा विवरण पेश गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता बनाइदिएको कसुरमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरीबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । उनलाई आइतबार आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

गत मंसिर १० गते आचार्यसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।

कर्मचारीसहित बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका ९ का वडाध्यक्ष शनिलाल राजवंशी समेत उक्त घटनामा संलग्न रहेको प्रहरीको आरोप छ । घटनामा संलग्न भएको आरोपमा ४६ जनामाथि उजुरी परेको छ । उजुरीलगत्तै दुवै वडाध्यक्ष फरार छन्।

प्रहरीको अनुसन्धानमा झुटा विवरण पेश गरी नागरिकता लिनेमा भारतीय, भुटानी र तिब्बती नागरिक रहेको उल्लेख छ ।

प्रकाशित : असार २१, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

तिलगंगाको बस्ती हटाइँदै

रासस

काठमाडौँ — तिलगंगा आवास क्षेत्रको जग्गामा बनेका संरचनाहरु हटाइने भएको छ । काठमाडौँ महानगरपालिका-८ स्थित तिलगंगा आवास क्षेत्रको जग्गा तथा त्यहाँ बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

पशुपति क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको हो ।

जग्गाप्राप्ति ऐन २०३४ को दफा ६, ७ र ८ बमोजिम प्रारम्भिक कारबाही भई दफा १० अनुसार २०७० साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले अधिग्रहण गरेको सूचना जारी गरेको कोषले जनाएको छ ।

२०७१ वैशाख ५ गते त्यस क्षेत्रका अधिकांशलाई मुआब्जा दिइसकिएको र बाँकीलाई दिन लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए । मुआब्जा लिइसकेका सबैलाई ३५ दिनभित्र स्थान छोड्न कोषले अनुरोध गरेको छ । सूचनाको बर्खिलाप हुने गरी संरचना नहटाएमा कोषले प्रशासनको सहयोगमा हटाउने पनि उनले बताए ।

तिलगंगामा मुआब्जा लिएर हट्नेलाई कोषले कागेश्वरी मनोहरा नगरपालिका-७ गोठाटारमा रहेको जग्गामा जग्गा विकास गरी न्यूनतम् मूल्यमा खरिद गर्नसक्ने व्यवस्था गर्न लागेको छ । गोठाटारमा जग्गा विकास गरी सडक, बत्ती, खानेपानी, टेलिफोन, ढल लगायत सबै पूर्वाधार सुविधा पुर्‍याउने तयारीसमेत भइरहेको छ । यसअघि पशुपतिको मुख्य क्षेत्रबाट अधिग्रहण गरिएकालाई पनि सिनामंगलमा जग्गा विकास गरी बस्‍ने व्यवस्था मिलाइएको थियो ।

तिलगंगाको जग्गामा भने गुरुयोजनाअनुसार विक्रान्त मन्दिर र नक्षेत्र मण्डल निर्माण गरी धार्मिक पर्यटक आकर्षित गरिने तयारी सुरु भएको छ । यस क्षेत्रमा हाल ७५ देखि ८० घर रहेका कोषले जनाएको छ ।

प्रकाशित : असार २१, २०७७ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×