तिलगंगाको बस्ती हटाइँदै

रासस

काठमाडौँ — तिलगंगा आवास क्षेत्रको जग्गामा बनेका संरचनाहरु हटाइने भएको छ । काठमाडौँ महानगरपालिका-८ स्थित तिलगंगा आवास क्षेत्रको जग्गा तथा त्यहाँ बनेका पक्की, कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत हटाउन सूचना जारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।

पशुपति क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजनाअनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको हो ।

जग्गाप्राप्ति ऐन २०३४ को दफा ६, ७ र ८ बमोजिम प्रारम्भिक कारबाही भई दफा १० अनुसार २०७० साल जेठ ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले अधिग्रहण गरेको सूचना जारी गरेको कोषले जनाएको छ ।

२०७१ वैशाख ५ गते त्यस क्षेत्रका अधिकांशलाई मुआब्जा दिइसकिएको र बाँकीलाई दिन लागिएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए । मुआब्जा लिइसकेका सबैलाई ३५ दिनभित्र स्थान छोड्न कोषले अनुरोध गरेको छ । सूचनाको बर्खिलाप हुने गरी संरचना नहटाएमा कोषले प्रशासनको सहयोगमा हटाउने पनि उनले बताए ।

तिलगंगामा मुआब्जा लिएर हट्नेलाई कोषले कागेश्वरी मनोहरा नगरपालिका-७ गोठाटारमा रहेको जग्गामा जग्गा विकास गरी न्यूनतम् मूल्यमा खरिद गर्नसक्ने व्यवस्था गर्न लागेको छ । गोठाटारमा जग्गा विकास गरी सडक, बत्ती, खानेपानी, टेलिफोन, ढल लगायत सबै पूर्वाधार सुविधा पुर्‍याउने तयारीसमेत भइरहेको छ । यसअघि पशुपतिको मुख्य क्षेत्रबाट अधिग्रहण गरिएकालाई पनि सिनामंगलमा जग्गा विकास गरी बस्‍ने व्यवस्था मिलाइएको थियो ।

तिलगंगाको जग्गामा भने गुरुयोजनाअनुसार विक्रान्त मन्दिर र नक्षेत्र मण्डल निर्माण गरी धार्मिक पर्यटक आकर्षित गरिने तयारी सुरु भएको छ । यस क्षेत्रमा हाल ७५ देखि ८० घर रहेका कोषले जनाएको छ ।

प्रकाशित : असार २१, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

सुनसरीमा गाँजासहित एक जना पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको कप्तानन्ज प्रहरी चौकीबाट खटेका गस्ती टोलीले आइतबार देवानगन्ज गाउँपालिका–३ पाँचौ सिमरमा १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

गाँजासहित पक्राउ परेका चुनिलाल सरदार ।


भारतीय सीमातर्फ जाँदै गरेको को २ ह ६५३७ नम्बरको टेम्पो रोकेर खानतलासी गर्दा गाँजासहित देवानगन्ज बस्ने ४३ वर्षीय चुनिलाल सरदारलाई प्रहरीले पक्राउ गरेको हो । सरदारले युरिया मल प्याकिङ गर्ने प्लास्टिकको बोरामा गाँजाको प्याकेट बनाएर टेम्पोभित्र लुकाएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ परेका सरदारलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत सुनसरीबाट आइतबार नै ७ दिन को म्याद थप गरी कारवाही प्रकृया अगाडी बढाइएको छ ।


प्रकाशित : असार २१, २०७७ १७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×