२० दिनमै नौ हजार संक्रमित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० दिनमै नौ हजार संक्रमित

उपत्यका हटस्पट हुने खतरा बढ्दै, कोरोनाविरुद्ध लड्नुपर्ने बेला सरकार र सत्तारूढ दल आन्तरिक कलहमा
मकर श्रेष्ठ, स्वरूप आचार्य, जगदीश्वर पाण्डे

काठमाडौँ — लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३० देखि जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन भएको थियो । सरकारी कार्यालय पूर्ण रूपमा सुचारु भएको असार १ मा ६ हजार २ सय ११ जना संक्रमित थिए ।

असार १० मा संक्रमितको संख्या १० हजार नाघ्यो । शनिबारसम्म १५ हजार ४ सय ९१ पुगेको छ । यो बीचमा ९ हजार २ सय ८० जना संक्रमित थपिएका छन् । दुई जना मात्रै संक्रमित हुँदा मुलुकमा लकडाउन घोषणा गर्ने संयन्त्रले अहिले दैनिक ५ सयभन्दा बढी हुँदा पनि प्रभावकारी कदम चाल्न योजना बनाउन सकेको छैन ।

संक्रमितको संख्या दिनहुँ ३ अंकमा बढिरहँदा सरकार र सत्तारूढ दल भने आन्तरिक शक्ति संघर्षमा व्यस्त छन् । अप्ठेरो पर्दा जनतालाई सेवा गर्छौं भन्दै चुनाव जितेर आएका नेताहरू मुलुकमा आगोसरी फैलिरहेको कोरोना नियन्त्रणमा संवेदनशील देखिएका छैनन् । सरकार र सत्तारूढ दलमा नागरिकप्रतिको जिम्मेवारी र संवेदनशीलता कति छ भन्ने पछिल्लो दुई सातायताका घटनाक्रमले छर्लङ्ग पार्छन् ।

नेपालमा शनिबार मात्रै २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण देखिएको थियो । अहिले कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ । प्रदेशगत विवरणलाई हेर्ने हो भने प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, वाग्मतीमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३ र प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना संक्रमित छन् । यस्तै, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा एक/एक जना छन् भने सबैभन्दा बढी रौतहटमा १ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा. दिनेश न्यौपानेले कोरोनाको संक्रमण बढिरहेका बेला सरकार र सत्तारूढ पार्टीका शीर्ष नेताहरू राजनीतिक जोडघटाउमा लाग्नु दुर्भाग्य भएको बताए । ‘कोरोनाबाट ध्यान हट्ने कुनै पनि कार्य अहिलेलाई बर्जित गर्नुपर्छ,’ उनले भने, ‘हामीले देशलाई सुरक्षित बनाएर ठूलो क्षतिबाट जोगाउन धेरै मौका गुमाइसकेका छौं । अहिले यो अवस्थामा फेरि पनि राजनीति नै ठूलो भनेर त्यता बहस केन्द्रित गर्ने हो भने ठूलै दुर्घटनाले हाम्रो ढोका ढक्ढक्याइरहेको छ भनेर बुझे हुन्छ ।’

जनस्वास्थ्यविद् तथा विश्व स्वास्थ्य संगठनजस्ता निकायले नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अवस्था नजिकिएको बताइरहेका छन् । ‘देश र नागरिकलाई सरकार चाहिने भनेकै संकटका बेलामा त हो, अरू बेलामा त देश यसै चलिरहेकै छ,’ उनले भने, ‘नेताहरूले देश र जनताको जीवनरक्षाका बारेमा सोच्नु जरुरी छ ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार अहिले शक्ति प्रदर्शन गर्ने, सत्ता ढाल्ने, बनाउने र द्वन्द्व गर्ने बेला होइन । ‘कोरोना भाइरसको महामारीविरुद्ध जुध्नुपर्नेमा झगडा गर्नु गलत हो,’ उनले भने, ‘पार्टी एकतालाई मजबुत बनाएर फैलिरहेको कोरोनाको चेतना विस्तार गर्न तल्लो तहका कार्यकर्तासमेत परिचालन गर्नुपर्नेमा पार्टी फुटाउने खेल खेल्नु कसैको पनि हितमा हुँदैन ।’

कोरोनाप्रति सरकार संवेदनशील नभएको अहिले मात्रै होइन, मुलुकमा कोरोना संक्रमितको संख्या ३१ जना पुग्दा सरकारको ध्यान दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनमा केन्द्रित थियो । वैशाख ८ मा ३१ जना संक्रमित पुगेकै दिन सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरी गरेको थियो । राष्ट्रपतिबाट तत्काल अध्यादेश प्रमाणित भएपछि नेकपामा शक्ति संघर्ष सुरु भएको थियो । त्यसयता सरकारको नेतृत्व गरेको दल नेकपाका नेताहरू, प्रधानमन्त्री र मन्त्रीहरूको ध्यान कोरोना नियन्त्रणभन्दा शक्ति संघर्षमै बढी छ । वैशाख १७ मा संक्रमितको संख्या ५७ जना पुग्यो, त्यही दिन नेकपाका सचिवालय बैठकमा पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको थियो । सबैभन्दा बढी संक्रमित देखिएको शुक्रबार पनि ओलीको राजीनामाकै मागवरिपरि राजनीति घुमिरहेको थियो ।

प्रधानमन्त्री र मन्त्रीको ध्यान सरकार जोगाउनेतर्फ केन्द्रित छ । नेकपाभित्र आन्तरिक द्वन्द्व बढ्दै गएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति (सीसीएमसी) ले प्रभावकारी काम गर्न नसकेपछि भंग गर्नुपर्ने अवस्था आएको छ । समिति र सीसीएमसीको काम प्रभावकारी नभएकै कारण जेठ १ मा २ सय ४९ संक्रमित देखिएकामा जेठ ३२ मा यो संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

चैत ११ मा लकडाउन हुँदा मुलुकमा दुई जना मात्रै संक्रमित थिए । हवाई सेवासमेत बन्द भएपछि विदेशबाट आउजाउ रोकिएको थियो । सीमानाका बन्द गरेपछि भारतबाट आउने क्रम रोकिएको थियो । लकडाउनकै बीच भारत हुँदै लुकीछिपी आउन थालेपछि विस्तारै संक्रमितको संख्या बढ्दै गएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार चैत अन्तिमसम्म संक्रमित १२ जना मात्रै थिए । वैशाख अन्तिममा यो संख्या २ सय ४३ पुग्यो ।

लकडाउन यथावत् राखे पनि कोरोना नियन्त्रण गर्न चुकेकै कारण पार्टीभित्रैबाट सरकारको आलोचना भएको राजनीतिक विश्लेषक हरि रोकाले बताए । ‘लकडाउनमा न व्यवस्थित क्वारेन्टाइन बन्यो न त पीसीआरमा ध्यान दिइयो, सरकारकै कारण सेनाको बदनाम भयो । अनुभव नै नभएको व्यक्तिलाई सामान ल्याउन ठेक्का दिइयो । यो कुरा पार्टीको बैठकमा सही समयमा उठेको छ,’ उनले भने, ‘सरकारको नीति गलत भएपछि महामारी झन् बढ्ने भो । त्यसैले प्रधानमन्त्रीको विरोधमा आवाज उठ्नु स्वाभाविक हो । अहिले यो कुराको समाधान नगर्ने हो भने पार्टीलाई नै असर गर्छ ।’

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण गर्न १० अर्ब खर्च भएको बताएपछि कुन शीर्षकमा खर्च भयो भन्दै आन्दोलन चर्कियो । पछिल्लो समय आरडीटी परीक्षणको विरोध गर्दै शतप्रतिशत पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने भन्दै युवाले अनशन जारी राखेका छन् । तर, सरकारले भने आरडीटी विधिलाई नै जोड दिएर वैशाख १८ देखि जेठ ३२ सम्म साढे तीन लाख थानभन्दा बढी किट खरिद गरिसकेको छ । दिनमा १० हजार जनाको पीसीआर गर्ने सरकारको घोषणा अझै पूरा हुन सकेको छैन ।

केन्द्रीय राजधानी हटस्पट हुने जोखिम

कन्ट्याक्ट ट्रेसिङ गर्ने मुख्य जिम्मा पाएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख डा. वासुदेव पाण्डेका अनुसार काठमाडौं जस्तो घनाबस्ती भएको स्थानमा संक्रमण फैलिए ठूलै दुर्घटना हुने अवस्था छ । यसका लागि सरकारी तबरबाट मात्र नभई जनताको स्तरबाट पनि ठूलो सहयोग र समन्वयको आवश्यकता हुन्छ । ‘कोरोना अब हाम्रो समाजबाट छिट्टै जान्छ जस्तो लाग्दैन तर त्यसो भन्दैमा मनलागी गर्न भएन,’ उनले भने ।

ईडीसीडीले सेरोप्रिभिलेन्स सर्भे गर्ने तयारीका साथै अस्पतालका आईसीयूमा भर्ना हुने सबै बिरामी, क्यान्सर, मधुमेह तथा मिर्गौलाजस्ता दीर्घरोग लागेका बिरामीहरू, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, हवाईमार्गबाट नेपाल प्रवेश गरेकाहरू र मुख्य स्थलमार्ग हुँदै सीमाभित्र प्रवेश गरेकाहरू गरेर ५० हजार जनाको परीक्षण गर्ने पनि योजना बनाएको छ । ‘आइबार दिउँसो सबै सरोकारवालाहरूको ईडीसीडीमा छलफल राखेका छौं । सबै हामीले मात्रै गर्न सक्ने अवस्था छैन । यो सर्भे गर्न सकियो भने अनि मात्रै नेपालको वास्तविक अवस्था थाहा हुन्छ,’ उनले भने, ‘सकेसम्म ७ दिनभित्रै यी सबै काम सकाउने हाम्रो तयारी हो । चुनौतीपूर्ण काम छ, सबैको सहयोग चाहिन्छ ।’

यस्तै, जनस्वास्थ्यविद् डा. दिनेश न्यौपानेका अनुसार सरकार तथा सम्बन्धित सरकारी निकायले गम्भीर भएर अझै कार्य नगर्ने हो भने काठमाडौं उपत्यका अर्को हटस्पट बन्न सक्छ । ‘अहिले चाहे राष्ट्रियताका नाममा होस् या सरकारको विरोध या समर्थनका लागि होस्, भीडभाड गर्नै हुन्न,’ उनले भने, ‘त्यो घातक हो । अहिले एकछिनको आक्रोशले पछि धेरै विनाश गर्न सक्छ ।’

पार्टी संघर्षमा व्यस्त निर्देशक समिति

उच्चस्तरीय समन्वय समितिको काम प्रभावकारी नभएपछि कोरोना भाइरस रोकथाम र नियन्त्रणसम्बन्धी नीतिगत काम गर्ने जिम्मेवारी सीसीएमसीको निर्देशक समितिले पाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिअन्तर्गत रहेर काम गरिरहेको छ । निर्देशक समितिमा नौ जना मन्त्रीहरू सदस्यका रूपमा रहेका छन् । सुरुआतमा ६ मन्त्रीहरू मात्र रहेकामा जेठ २८ मा थप तीन मन्त्रीहरूलाई भूमिका दिइएको थियो ।

सीसीएमसी निर्देशक समितिमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल छन् । यीमध्ये अर्थमन्त्री खतिवडा र सामान्य प्रशासनमन्त्री त्रिपाठीबाहेक अरू मन्त्रीहरू भने प्रधानमन्त्री र अध्यक्ष पुष्पकमल दाहालको पक्ष र विपक्षमा व्यस्त भएकै कारण कारोना नियन्त्रणमा ध्यान जान नसकेको सीसीएमसीका एक सदस्यले बताए ।

नेकपाभित्रको आन्तरिक किचलोका कारण न त सीसीएमसी निर्देशक समितिको बैठक बसेर कोरोना भाइरस संक्रमणको बारेमा समीक्षा भएको छ न त पछिल्लो समय तीन दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले यसबारेमा ध्यान दिएको छ । असार १५ यता सीसीएमसी निर्देशक समितिको बैठक बस्न सकेको छैन ।

अवकाशप्राप्त एक जर्नेलका अनुसार अहिले महामारीका बेलामा हरेक दिन सीसीएमसी निर्देशक समितिको बैठक बसेर हालसम्म भइरहेको गतिविधिहरूको विश्लेषण गरेर योजना बनाउन सक्रिय हुनुपर्छ ।

‘अन्य मुलुकमा रहेक दिन के भइरहेको छ र अब के गर्दा यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने योजना बनाउने वा छलफल हुने गरिन्छ,’ ती जर्नेलले भने, ‘तर हाम्रो मुलुकमा एकआपसमा एउटै पार्टीभित्र सत्ताका लागि लडिरहेका छन् । यी नेताहरूलाई जनताको समस्या र पीडाको कुनै मतलब छैन ।’

सीसीएमसी सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा हुन्छ । अहिले महेन्द्रप्रसाद गुरागाईंले सचिवालयको नेतृत्व गरिरहेका छन् । गुरागाईंले सचिवालयले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक गरिरहेको बताए । स्वास्थ्य सेवा तथा उपचार समूहमा, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य शाखा र सूचना तथा प्रविधि कार्य भइरहेको उनले जानकारी दिए । सचिवालयले सम्बन्धित निकायहरूमार्फत परीक्षण गर्ने, ट्ेरसिङ गर्ने, क्वारेन्टाइनलाई थप व्यवस्थित गर्ने, आइसोलेसनलाई व्यवस्थित गर्ने तथा मुलुक बाहिर (भारतबाहेक) बाट १६ हजारभन्दा बढी नेपालीलाई उद्धार गरिसकेको बताए ।

सीसीएमसी निर्देशक समिति र सीसीएमसी सचिवालयबीचमा भएका निर्णय र नीतिहरू कार्यान्वयनका लागि काम गर्न मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वमा एक्सन कमिटी अर्थात् कार्यान्वयन समिति छ । उक्त समितिमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुखहरू छन् । तर निर्देशक समितिले काम नगर्दा उक्त कार्यान्वयन समितिले पनि कामलाई अगाडि बढाउन सकेको छैन । उनीहरू पनि स्वास्थ्य संकटभन्दा राजनीतिक संकटलाई बढी महत्त्वका साथ हेरिरहेका छन् ।

प्रकाशित : असार २१, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

स्वदेश फर्किए, घर पुग्‍न पाएनन्

हरिराम उप्रेती

गोरखा — भिसा सकियो, लकडाउनले तीन महिना कतारमै अड्किए । तीन दिनअघि स्वदेश फर्किएका गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय युवकले घरको दैलो टेक्न पाएनन् । कोरोना संक्रमित उनको गोरखा अस्पतालको आइसोलेसनमा शनिबार मृत्यु भयो ।

गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय कोरोना संक्रमितको शवलाई व्यवस्थापन गरिँदै। तस्बिर : कान्तिपुर

गत बुधबार साँझ गाउँ पुगे पनि उनी घर पुग्न पाएनन् । पालुङटारको जीवन ज्योति माविको क्वारेन्टाइनमा बसे । ‘विदेश जाने आउने गर्नुहुन्थ्यो, यसपटक घर पुग्नै पाउनुभएन,’ स्थानीय भगवती कुमालले भनिन्, ‘उहाँलाई सुगरको समस्या थियो । क्वारेन्टाइनमा बसेको भनेपछि आफन्तले भेट्न जाने कुरा भएन, परिवारले रोटी बनाएर लगिदिन्थे तर परै छाडेर आउनुपर्थ्यो ।’ उनका श्रीमती, चार वर्षीय छोरा र १२ वर्षीया छोरी छन् । ‘विदेशकै कमाइले खाने हो, यसपटक भिसा सकिएछ, कमाउन सकिएन आफ्नै खर्चले खानुपरेको छ भन्दै परिवारलाई लकडाउन भएपछि फोन गर्नुभएको रहेछ,’ उनले भनिन् । वैदेशिक रोजगारबाट फर्किएका घरमूली गुमाउँदा परिवारका सदस्य विक्षिप्त छन् ।

मधुमेह र उच्च रक्तचापका रोगीसमेत रहेका ती संक्रमित पुरुषको गत बिहीबार मात्रै स्वाबको नमुना जाँचका लागि लिइएको थियो । शुक्रबार रिपोर्ट कोरोना पोजिटिभ आएलगत्तै गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरियो । भर्ना भएको सात घण्टामै उनको मृत्यु भयो । ती व्यक्तिमा सुगर र कडा खालको निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो । संक्रमितको उपचारमा यसअघि पनि पटक–पटक चुकेका जनप्रतिनिधि र कमान्ड पोस्टका सदस्यले शनिबार मात्र हतार–हतार शव व्यवस्थापन गर्ने ठाउँको चयन गरेका थिए ।

गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमा क्षेत्रमा पर्ने लुदी दोभानमा शव गाड्ने खबर सुनेदेखि नै स्थानीयले विरोध जनाए । नुहाउन, लुगा धुन जाने र गाउँलेको आवागमन भइरहने क्षेत्रमा शव गाड्न नदिने भन्दै स्थानीयवासी लुदी दोभानमा भेला भए । शव व्यवस्थापन गर्न खाल्डो खन्न प्रयोग भएको एक्स्काभेटरलाई रोके । स्थानीयको विरोधको आवाज चर्कंदै गएपछि सदरमुकामबाट सुरक्षाकर्मी परिचालन गरियो ।

स्थानीयले नमानेपछि प्रहरीले भीड तितरवितर गर्न सात राउन्ड अश्रुग्यास प्रहार गर्‍यो । प्रहरीले बल प्रयोग गरेपछि स्थानीय डाँडातर्फ लागे । स्थानीयले अटेर गर्दा बल प्रयोग गर्नुपरेको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

भीड हटाउने क्रममा केही प्रहरी सामान्य घाइते भएका छन् । भीड हटाउने प्रहरी र अवरोध गर्ने स्थानीयका कारण शनिबार दिनभर अवुवा क्षेत्र तनावग्रस्त रह्यो ।

मृतकको शव १२ घण्टापछि बल्ल गोरखा अस्पतालबाट उठाइयो । अवरोध हटाएर शनिबार साँझ शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

प्रकाशित : असार २१, २०७७ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×