बझाङ पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, १ जना अझै बेपत्ता

बसन्तप्रताप सिंह

बझाङ — केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा एकै परिवारका ४ सहित ६ जना छन् । एक जना अझै बेपत्ता छन् । 

बझाङ पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, १ जना अझै बेपत्ता

१८ घर पहिरोले बगाएको छ भने २ घरमा क्षति पुगेको छ । अरू ४५ घर जोखिममा छन् । पहिरोले गाउँका करिब ४ सय जना विस्थापित भएका छन् । गाउँभन्दा तल रहेको गण्डकी बजारका १६ पसल पनि पहिरोले बगाएको छ । पहिरोसँगै जुलिगाड खोलामा आएको बाढीले १२ वटा घट्ट, एउटा कुखुरा फार्म र केही गोठ पनि बगाएको स्थानीयले बताए । घटनास्थल पुगेको प्रहरी उद्धार कार्यमा खटिएकाले क्षतिको विवरण आइतबारसम्म आइसक्ने प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग, १४ र १६ वर्षका छोरीहरु शान्ति र अस्मिताको मृत्यु भएको छ । उनकै घरमा सुतिरहेकी राममतीकी भदैनी नाता पर्ने १३ वर्षकी सन्तु जेठाराको पनि शव भेटिएको छ । ८० वर्षीय दले जेठाराको पनि पहिरोमा परेर ज्यान गएको छ । २२ वर्षीय गिरिजा जेठारा भने अझै बेपत्ता छन् ।

जिल्ला सदरमुकाम चैनपुरबाट गएको डीएसपी गणेश बमसहितको प्रहरीको टोली, डीएसपी गणेश शाहको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोली र कालंगा जलविद्युत् आयोजनाको सुरक्षार्थ केदारस्युँकै बागथलाबाट खटिएको सेनाको टोली तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

गाउँभन्दा करिब २ सय मिटरमाथि रहेको रातापड सामुदायिक वनबाट पहिरो खसेको हो । ‘वनमा कतै पनि पहिरो लागेको थिएन । यस्तो होला भनेर कसैले सोचेको पनि थिएन,’ ६० वर्षीया धौलीदेवी जेठाराले भनिन्, ‘एक्कासि आँधी आएजस्तो भयो । एकै मिनेटमा गाउँ सखाप बनायो ।’

सामुदायिक वनको बीचमा वर्षात्मा मात्रै पानी आउने सानो पानीको मुहान छ । मुहानको पानी निकास हुने सानो खोल्सो गाउँको बीच भएर बग्छ । त्यही खोल्सोमा डाँडाको टुप्पोबाट पहिरो खसेको र खोल्सोको निकास थुनिएर ड्याम बनेको हुन सक्ने स्थानीयको अनुमान छ । ‘खोल्सोमा बनेको ड्याम एक्कासि फुटेपछि पहिरो आएको हो कि,’ स्थानीय लोकेन्द्र विकले भने, ‘सानै खोल्सो हो । त्यसरी पानी जम्मा भएर गाउँनै बगाउला भनेर अनुमान नै गर्न गाह्रो छ ।’

प्रकाशित : असार २०, २०७७ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?