निगमले जहाजको २ करोड भाडा पाएन

सुरज कुँवर

काठमाडौँ — कोरोना भाइरस रोकथाममा सरकारले कम्तीमा ८ अर्ब ३९ करोड खर्च गरिसक्दा पनि पहिलोपटक औषधि चार्टर गर्ने नेपाल वायुसेवा निगमले तीन महिना बितिसक्दा पनि २ करोड १८ लाख रुपैयाँ कार्गो भाडा पाएको छैन । 

निगमले जहाजको २ करोड भाडा पाएन

लकडाउनको ५ औं दिनमा निगमले ०७६ चैत १५ वाइडबडी विमान चीनको ग्वान्जाउ पठाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा स्वास्थ्य विभागका लागि औषधि लगायतका स्वास्थ्य सामग्री ढुवानी गरिदिएको थियो । विभागका लागि यो कार्गो उडानको जिम्मा ओम्‍नी समूहले लिएको थियो । त्यस्तै निगमले स्वास्थ्य मन्त्रालयबाट ग्वान्जाउको चार्टर भाडाबाहेक, काठमाडौं–नेपालगन्ज–काठमाडौं चार वटा चार्टर उडान बापतको भाडा २४ लाख ४८ हजार पनि पाएको छैन ।

‘ग्वाङजाउको चार्टर भाडा १ करोड ९४ लाख र नेपालगन्‍जका लागि भएका चारवटा चार्टर उडानको २४ लाख गरी २ करोड १८ लाख रुपैयाँ तीन महिनादेखि उठाउन दर्जनौंपटक पत्राचार तथा मौखिक ताकेता गर्दा पनि उठाउन सकिएन,’ निगमका एक अधिकारीले कान्तिपुरसँग भने । थुप्रै पटक पर्यटन मन्त्रालयले लेखेको पत्र बोकेर निगमका कर्मचारी स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग धाउँदै आइरहेका छन् । आर्थिक वर्ष सकिन केहि दिन बाँकी रहेको र निगमले विभिन्‍न दायित्वका लागि भुक्तानी दिनुपर्ने भएकाले यो क्रम शुक्रबारसम्म जारी नै देखिन्थ्यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य मन्त्रालयको टेन्डरमा ढुवानी भएका स्वास्थ्य सामाग्री निगमले चाँडै उठाउने बताएका छन् । ‘हामी पैसा छिटै लिन्छौं । त्यो स्वयमं सेवा होइन । ठेक्दारले पैसा कमाएको छ । हाम्रो एयरलायन्सले किन स्वयमं सेवा गर्ने ?’ शुक्रबार मन्त्रालयमा विविध विषयमा आयाजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले सञ्चारकर्मीलाई भने, ‘हामीले तत्कालीन अवस्थामा केहि प्रक्रियालाई छिटो गरिदिएको हो । ओम्नीले पैसा तिर्नुपर्छ । त्यस्को जिम्मेवारी स्वास्थ्य मन्त्रालयको हुन्छ । त्यो क्लियर छ । दाँयाबाँया हुँदैन ।’

कोराना सम्बन्धित स्वास्थ्य सामग्री चीनबाट आयत गराउने तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले ओम्नीले आयत गरेका सामााग्रीको गुणस्तर र मूल्यमा विवाद भई उक्त ठेक्का सम्झौता रोकिदा निगमले चार्टर भाडा पाउन नसकेको कान्तिपुरसँग बताए । ‘ओम्नी मुद्दामा अदालत गएको छ, उक्त कम्पनीसँग भएको ठेक्काको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय संसदको लेखा समितिले हेरि रहेकाले भुक्तानी रोकिएको हो,’ हाल कोरोना रोकथाम था नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा सरुवा भएका श्रेष्ठले भने ।

उनले काठमाडौंबाट नेपालगन्जका लागि स्वाब संकलन तथा स्वास्थ्यकर्मीलाई निगमको चिनिया जहाज वाइ १२ ई चार्टर गराउने कार्य विभागको नभई स्वास्थ्य मन्त्रालयको भएको बताए ।

मन्त्रालयले चैत १५ गते गरेको चार्टर उडानका क्रमममा निगमको अल्फा किलो युनिफर्म रजिष्ट्रर नम्बर भएको सानो चिनिया विमान वाइ१२ई नेपालगंज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । मानवीय क्षति भने नभएको उक्त दुर्घटना अनुसन्धानमा संलग्न प्राविधिकहरुले त्यो विमान अब उडान योग्य नभएको प्रतिवेदन पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र निगममा बुझाइसकेका छन् ।

सरकारले ७ वर्षअघि चीन सरकारसँग ६ अर्ब ६७ करोड हाराहारी ऋण तथा अनुदान प्याकेजमा ६ वटा चिनियाँ जहाज खरिद गरेको थियो । तीमध्ये नेपालगन्जमा दुर्घटनामा परेको विमानको मूल्य कम्तीमा पनि ६५ करोड हाराहारी रहेको छ ।

यसैबीच सरकारले सबैभन्दा पहिले फागुन ३ गते चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई ल्याउन निगमले गरेको वाइडबडी चार्टर गरेको थियो । अर्थ मन्त्रालयले उक्त उडानको भाडा ४ करोड ३५ लाख ५१ औं दिनपछी पर्यटन मन्त्रालयमार्फत भुक्तानी गरेको थियो ।

प्रकाशित : असार २०, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?