कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बझाङ पहिरो [अपडेट] : चार जनाको शव भेटियो, ३ जना अझै बेपत्ता 

वसन्तप्रताप सिंह

बझाङ — केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिए । अझै ३ जना बेपत्ता भएको र उनीहरुको खोजीकार्य भइरहेको उनले बताए । अन्य बेपत्ताहरु भने सम्पर्कमा आएको प्रहरीले बताएको छ ।

बझाङ पहिरो [अपडेट] : चार जनाको शव भेटियो, ३ जना अझै बेपत्ता 

छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका हुन् । पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठाराको शव भेटिएको केदारस्युँ ८, का वडा अध्यक्ष गणेश बोहराले बताए । राममतीकी १६ वर्षकी छोरी अस्मिता जेठारा अफै पहिरोमा बेपत्ता छिन । यस्तै पहिरोमा पुरिएका ८० वर्षका दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको पनि शव फेला परेको बोहराले जानकारी दिएका छन् । राममती जेठाराकी छोरी अस्मिता, स्थानीय १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा पनि पहिरोमा बेपत्ता भएका छन् ।

बेपत्ताको खोजीकार्य जारी रहेको र जिल्लाबाट आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय रहेको बोहराले बताए । पहिरोले बाटो बगाएका कारण सुरक्षाकर्मीहरुको उद्धार टोली ढिलो गरी त्यहाँ पुगेको हो । उद्धारका लागि हिँडेको नेपाली सेनाको टोली अझै घटनास्थल पुग्न सकिरहेको छ्रैन ।

कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको दुई वटा टोली फरक फरक बाटो भएर घटनास्थलतर्फ गइरहेको मेजर तारा खड्काले बताए । सेनाको एउटा टोली केदारस्युँको जुलीगाडबाट र अर्काे टोली बुङ्गल नगरपालिकाको काँडाचौरबाट घटनास्थलतर्फ गइरहेको र केही बेरमै त्यहाँ पुग्ने खड्काले बताए । शनिबार बिहान गएको पहिरोले मल्लेसीका १८ वटा घर बगाएको छ भने दुई वटा घरमा क्षति पुगेको छ ।

उद्धारमा गएको सेनाको गाडी दुर्घटना

यसैबीच उद्धारका लागि घटनास्थलतर्फ गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । जयपृथ्वी राजमार्ग गाडी असन्तुलित भएर नालीमा खसेकोको र तीन जना सैनिक सामान्य घाइते भएको मेजर खड्काले बताए । घाइते तीनै जना देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि ब्यारेक फर्किएको उनले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : असार २०, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?