कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोकनावासी र प्रहरीबीच झडप, ४ प्रहरी घाइते

तस्बिर : बिजु महर्जन

काठमाडौँ — खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । खुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

झडपपछि अहिले खुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्‍लो उपस्थिति छ । यो फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।


प्रकाशित : असार २०, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली किताब डाउनलोड नगर्ने ?

सबै नेपाली किताब संसारभर छरिएका नेपाली पाठकले कहिले पढ्न पाउलान् ? के मेरो यो कल्पना साकार गर्नु आजको यान्त्रिक सुविधा र समृद्धिका बीचमा पनि असम्भव छ ?
विदेशमा पुगे पनि आफ्नो भाषा र संस्कृतिको मोह भएका त्यस्ता नेपालीहरूको माया गरेर कसरी होला सकेसम्म छिटो नेपाली किताब डिजिटाइज गरेर विश्वभरमा छरिएका नेपालीभाषीहरूलाई नेपाली किताब डाउनलोड गरेर अथवा अनलाइन पढ्न पाउने सौभाग्य जुटाउने ?
माधवप्रसाद पोखरेल

संसारका धेरै भाषाका पाठकहरूले सित्तैँमा अथवा पैसा तिरेर आफ्नो भाषाका किताबहरू अनलाइन पढ्न पनि पाउँछन् र आफ्नो कम्प्युटरमा डाउनलोड गरेर थन्क्याउन पनि पाउँछन् । म अहिले अंग्रेजी, संस्कृत र हिन्दी भाषाका किताब डाउनलोड गरेर कम्प्युटरमा थन्क्याएर रोजी रोजी पढ्न पल्केको छु, तर मलाई दु:ख के कुराको छ भने, म नेपाली भाषाका किताबहरूचाहिँ अनलाइन पनि अनि सित्तैँमा अथवा पैसा तिरेर डाउनलोड गरेर पनि पढ्न पाउँदिनँ ।

म कमल दीक्षितका झन्डै ८० ओटा किताबहरू त सित्तैँमा डाउनलोड गरेर पढ्न पाउँछु, तर अरू नेपाली किताबचाहिँ ‘ह्लासामा सुन छ, कान मेरो बुच्चै’ भएको छ १ आफ्नो कम्प्युटरमा म खालि मदन पुरस्कार पुस्तकालयको पुस्तक सूची पढ्न पाउँछु र त्यति मात्रैले पनि मलाई आफ्ना शोध लेखमा नेपाली कृतिका सन्दर्भहरू खोज्न सजिलो भएको छ । आज संसारभरमा छरिएका नेपाली पाठकले चाहिँ नेपाली भाषाका किताब अरू भाषाका पाठकसरह पढ्न नपाउनु ? हामीलाई चाहिँ आफ्नो भाषाका जुनसुकै कुनामा प्रकाशित भएका किताब पढ्न मन लाग्दैन ?

अद्यावधिक किताब, शोध पत्रिका, शोध ग्रन्थ र विद्वान्हरूले समृद्ध पुणें सहरको ‘डेक्कन कलेज’ मा ‘विद्यावाचस्पति’ को उपाधि लिएर २०४६ सालमा नेपाल पसेपछि आजको समसामयिक विश्वमा मलाई काम लाग्ने किताब पत्रिका पढ्न नपाइने ‘नेपाल खाल्डो’ मा पसेको चस्को एक दुई दशकसम्म भइरह्यो । दुईपल्ट जापान बस्ता र एक वर्ष चीनको राष्ट्रिय पुस्तकालयमा अध्ययन गर्न पाउँदा मैले त्यो खाँचो धेरै पुर्तल गरेँ, तर आफ्नो देश फर्केपछि भने, देशमा अद्यावधिक सघन अध्ययन गर्ने वातावरणै नपाएर मलाई कुटुकुटु भइरहेको थियो ।

झन्डै डेढ लाख ग्रन्थ भएको डेक्कन कलेजको पुस्तकालय (१९८७–१९८९ इ.) संस्कृत, भाषा विज्ञान र इतिहास तथा पुरातत्त्वको अद्यावधिक अध्ययन–अनुसन्धान गर्नेलाई उपयुक्त थियो । पहिलोपल्ट (१९९४ इ.) जापानको कोबे विश्व विद्यालयमा अतिथि प्राध्यापक भएर जाँदा त्यहाँको पुस्तकालयमा नेपालमा आजसम्म पनि चिताउन नसकिने एउटा थिति बाँधिएको देखेँ । त्यहाँ पुस्तकालय सञ्जालमा जापान भरिका सबै पुस्तकालयमा भएका जम्मै किताबहरूको एकीकृत सूची हेर्न पाइने रहेछ । आफूलाई चाहिएको किताब पहिले कम्प्युटरको सूचीमा खोज्यो, अनि त्यो किताब जापानका कुनकुन पुस्तकालयमा कतिकति नम्बरमा परेका छन् भन्ने चाल पायो, अनि आफ्नै पुस्तकालयमा छ भने, निकालेर पुस्तकालयमा अथवा घरमा ल्याएर पढ्यो, होइन भने, जापानको अर्को पुस्तकालयमा रहेछ भने, पुस्तकालयमा माग गर्‍यो भने, तीन–चार दिनमा पुस्तक आई पुग्थ्यो । त्यसपछि कोठामा ल्याएर पढेर फर्काउँदा हुन्थ्यो । उति बेलाको जापानमा जस्तो थिति नेपालमा बाँध्न आज पनि सकिँदैन होलाजस्तो मलाई लाग्छ ।

चीनको राष्ट्रिय पुस्तकालयमा म पुगेका बेला (२०००–२००१ इ.) मा त्यहाँ २ करोड ६० लाख ठेली किताब थिए । त्यति धेरै पुस्तक भएको पुस्तकालयमा म अन्यत्र पुगेको छैन । संसारको सबभन्दा धेरै किताब भएको भनेर नाम चलेको अमेरिकाको ‘लाइब्रेरी अफ कंग्रेस’ मा आज पनि १ करोड ६० लाख ठेली मात्र किताब छन् । त्यहाँ बसेर वर्ष दिन खस जातिको पुरातत्त्व, भाषा विज्ञान, युरेसियाको इतिहास र पूर्वी एसियाली भाषामा संस्कृत शब्द खोजी गरेँ । अरू पुस्तकालयबाट किताब सापट माग्न पाउने सुविधा पनि चीनको त्यस पुस्तकालयमा रहेछ ।

दोस्रोपल्ट जापान जाँदा अन्तर्जालको सुविधाले गर्दा पुस्तकचाहिँ होइन, पुस्तकालयले पैसा तिरेका शोध पत्रिकामा संसारभर प्रकाशित लेखहरू अनलाइन पढ्न र पीडीएफ डाउनलोड गरेर आफ्नो कम्प्युटरमा साँचेर मन लागेका बेलामा पढ्न पाइँदो रहेछ ।

अन्तर्जालको सुविधाले गर्दा आज म नेपालमै घरै बसेर आफूलाई पढ्न मन लागेदेखि एकदम नयाँ र एकदम पुराना अंग्रेजी भाषाका लाखौँ किताब अनि संस्कृत र हिन्दी भाषाका हजारौँ किताब पनि सित्तैँमा डाउनलोड गरेर पढ्न पाइरहेको छु । अंग्रेजी भाषाका जर्नलहरूमा प्रकाशित धेरै लेख पनि त्यसरी बटुल्न सकिरहेको छु र संसारका थुप्रै विश्वविद्यालयका थेसिसहरू पनि डाउनलोड गरेर पढ्न पाइरहेको छु, त्यसैले अहिले म ‘नेपाल खाल्डो’ मा छैन १ अहिले त म डिजिटल किताब धेरै भेटेर कुन पढ्ने कुन पढ्ने भनेर अत्तालिएको छु ।

अंग्रेजी, संस्कृत र हिन्दी भाषाका किताब डाउनलोड गरेर पढ्न पाए पनि मलाई एउटा खुड्कोचाहिँ के भएको छ भने, म आफ्नै नेपाली भाषाका किताबचाहिँ अनलाइन पनि, डाउनलोड गरेर पनि पढ्न पाउँदिनँ । डाउनलोड गरेर अथवा अनलाइन पढ्न नपाइने हुनाले ‘मदन पुरस्कार पुस्तकालय’ का किताबको पनि नाम र विवरण मात्र अन्तर्जालमा हेर्न पाइने भएकाले टाढा भएका नेपाली पाठकलाई ती पनि ‘आकाशको फल आँखा तरी मर्’ भइरहेका छन् १ पच्चीस–छब्बीस वर्षअगाडि नै जापानका सबै पुस्तकालयहरूमा पाइने एकीकृत सूची मात्र पनि अन्तर्जालमा हेर्न पाउने सुविधा नेपाली पाठकलाई दिन आजसम्म त नेपालमा सम्भव भएको छैन भने, सबै नेपाली किताब संसारभर छरिएका नेपाली पाठकले कहिले पढ्न पाउलान् ? के मेरो यो कल्पना साकार गर्नु आजको यान्त्रिक सुविधा र समृद्धिका बीचमा पनि असम्भव छ ?

अहिले विश्वभर छरिएका ५०–५५ जना लेखकहरू मिलेर लेखिएको ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ को तेस्रो ठेली सम्पादकहरूका हातमा छ । त्यसमा पूर्वोत्तर भारत (डा. खेमराज नेपाल), दार्जिलिङ–डुवर्स (डा. राजकुमारी दाहाल), सिक्किम (दीपक तिवारी) र नेपाल (दोस्रो ठेली, बलराम अधिकारी) को अनुवाद साहित्यको इतिहास हेर्दा के देखिन्छ भने, नेपाली भाषाका डिजिटीकृत किताब पढ्नबाट नेपाली पाठकहरू वञ्चित भएकाले विदेशी भाषाको एउटै किताब बेग्लाबेग्लै ठाउँमा बेग्लाबेग्लैपल्ट नेपाली भाषामा अनुवाद भएको पाइन्छ, तर त्यति हुँदा पनि नेपाली भाषाका पाठकलाई त्यो पढ्न पाउने सुविधा टाकुरीको पार भएको छ !

त्यसै ठेलीमा कोरियाको नेपाली साहित्यको इतिहासको परिचय दिँदै जीवन खत्री के भन्छन् भने, त्यहाँ पुगेका नेपालीहरूले विज्ञापनमा देखेको नेपाली किताब कुनै साथी आएका बेलामा नेपालबाट मगाउनुपर्छ, तर पढ्नलाई चाहिँ निकै पालो पर्खिनुपर्छ । अर्कातिर म्यान्मा (बर्मा) को नेपाली साहित्यको इतिहासको परिचय दिँदै डा. दुबसु क्षत्री के लेख्छन् भने, त्यहाँ तीन–चार पुस्ताअगाडि नेपालबाट गएका नेपालीका परिवारहरूले नेपाली मातृभाषा जोगाउन भेटेका किताब र नेपाली फिल्म अनेकपल्ट हेर्न लगाउनु परिरहेको छ । विदेशमा पुगे पनि आफ्नो भाषा र संस्कृतिको मोह भएका त्यस्ता नेपालीहरूको माया गरेर कसरी होला सकेसम्म छिटो नेपाली किताब डिजिटाइज गरेर विश्वभरमा छरिएका नेपालीभाषीहरूलाई नेपाली किताब डाउनलोड गरेर अथवा अनलाइन पढ्न पाउने सौभाग्य जुटाउने ?

आजभन्दा १७ वर्षअगाडि म ‘भारतीय भाषा संस्थान’ मैसुरमा नेपाली भाषा विशेषज्ञ भएर केही महिना बसेको थिएँ । त्यति बेला संस्थानका निर्देशक थिए मेरा मित्र प्रसिद्ध भाषा वैज्ञानिक प्राध्यापक उदयनारायण सिंह । एक दिन कुरैकुरामा डा. सिंहले मलाई के भने भने, नेपाली भाषामा जति किताब छन्, ती जम्मै म दुई सेट किनेर एक सेट मैसुरमा, एक सेट गुवाहाटीको संस्थानको शाखामा राखिदिन्छु । कसले त्यसको आपूर्ति गर्छ, बुझिदिनुहोस् न ! मलाई कस्तो हर्क लाग्यो ! मैले नेपाल र भारतका नाम चलेका केही नेपाली पुस्तक व्यवसायीलाई त्यो काम गर्न सक्छौ भनेर सोधेँ, तर नेपाली पुस्तक व्यवसायीहरू त्यस उचाइमा पुगेकै रहेनछन् भन्ने चाल पाउँदा मन मात्र कुटुकुटु भयो । प्राध्यापक सिंहको त्यो महानता र सौजन्यको हामीले उपयोग गर्न सकेनौँ । मलाई त्यसको खुनखुन आजसम्म पनि भइरहेको छ ।

पाँच–छ वर्षअगाडि एक दिन मैले सोचेँ, ‘सीआईआईएल’ (सेन्ट्रल इन्स्टिच्युट अफ इन्डियन लेङ्वेजेज) सित माग्नुभन्दा त डाक्टर पवन चाम्लिङसित माग्नु राम्रो हो, किनभने उनी नेपाली भाषाका लेखक पनि हुन्, अनि सिक्किमका मुख्यमन्त्रीलाई त्यति गारो पनि नहोला ।’ मैले र कमल दीक्षितजीले समग्र नेपाली किताब डिजिटाइज गर्न लाग्ने खर्च मोटामोटी अड्कल गर्‍यौँ । दीपक अर्यालले दिएको सूचनाअनुसार मपुपुमा अहिले ४७ हजार ठेली जति किताब रहेछन् । त्यति बेला त्यहाँ चौँतीस हजार जति थिए । हामीले मपुपुमा नभएका अरू १५–१६ हजार जति किताब अड्कल गर्दा जम्मा नेपाली किताब ५० हजार ठेली होलान् भन्ने अड्कल्यौँ । एउटा किताबको सरदर १०० पृष्ठ र एउटा पृष्ठको डिजिटाइज खर्च १० रुपियाँ अड्कल गर्दा जम्मा ५ करोडले पुग्ला भन्ने हिसाबले हामीले त्यो सहयोग पवन चाम्लिङसित मागेर सिक्किम विश्वविद्यालयकी गुरु डा. पुष्प शर्माका हातमा एउटा निवेदन पठायौँ । पवन चाम्लिङले त्यो सहयोग दिने कुरा गरेको अनि अर्को भेटमा ‘उहाँहरूले काम थाल्नुभयो त’ भनेर प्रश्न गरेको सम्म सूचना आयो, तर कुनै लिखितम आएन, त्यसैले समग्र नेपाली पाठकहरूलाई समग्र नेपाली किताब पढ्न पाउने सुविधा जुटाउने सपना त्यसै ढक्रियो । आज नेपाली किताब झन्डै ७५ हजार पुग्लान् अनि दर पनि केही बढ्ला ।

यस परिस्थितिमा हाम्रो यो सपना कसरी साकार पार्ने होला १ कोही छ ? गुहार ! गुहार !!

प्रकाशित : असार २०, २०७७ १३:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×