बझाङ पहिरो [अपडेट] : दुई जनाको शव भेटियो, ७ जना बेपत्ता

वसन्तप्रताप सिंह

बझाङ — शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । सात जना अझै बेपत्ता छन् ।  १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । मृतकहरुको सनाखत भएको छैन ।

बझाङ पहिरो [अपडेट] : दुई जनाको शव भेटियो, ७ जना बेपत्ता

शनिबार बिहान २ बजेतिर गएको पहिरोले उक्त क्षति भएको हो । पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना गाउँलेको सम्पर्कमा आएको घटनास्थलमा रहेका स्थानीय लोकेन्द्र विकले बताए । अहिले स्थानीयले पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गरिरहेको उनले जानकारी दिए । गाउँमा ४० परिवारको बसोबास रहेको छ ।

पहिरो गएको गाउँमा उद्धार टोली बिहानै गएको भए पनि अहिलेसम्म पुग्न सकेको छैन । जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डे बताए ।

खोलैखोलाको बाटो हुँदै मल्लेसी जानुपर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको हो । पहिरोले त्यो गाउँ जाने बाटोसमेत बगाएकोले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डीएसपी गणेश बमले जानकारी दिएका छन् । यद्यपि त्यहाँ उद्धार टोली पुग्नका लागि अझै समय लाग्न सक्ने उनले बताए ।

घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको तर त्यहाँ हेलिकप्टर आवश्यक भए नभएको यकिन गरेपछि मात्रै उडानका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

प्रकाशित : असार २०, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?