१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दशकयताकै ‘विनाशकारी’ मनसुन

मनसुन सुरु भएयता ५२ ठाउँमा खसेका पहिरोमा २५ जनाको मृत्यु
अब्दुल्लाह मियाँ

काठमाडौँ — यस वर्ष मनसुन सुरु भएयता पहिरो मात्रै ५२ ठाउँमा खसेको छ, जसमा २५ जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु नहुँदै पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङमा मानवबस्ती मास्तिर जंगलबाट ठूलो पहिरो खसेको थियो, त्यसमा परेर ९ जनाले ज्यान गुमाएका थिए ।

दशकयताकै ‘विनाशकारी’ मनसुन

करिब २ किलोमिटर लामो पहिरोका कारण ४५ मध्ये ७ घर अझै उच्च जोखिममा छन् । मनसुन सुरु भएको एक साताभित्रै पाल्पा–गुल्मी सडकखण्डमा पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो । त्यहाँ ४ वटा सवारीसाधन पहिरोमा परेका थिए । बिहीबार राति मात्रै गुल्मीको इस्मामा खसेको पहिरोमा परी दुई बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

यस अवधिमा देशभर भएका प्राकृतिक प्रकोपका २ सय २१ घटनामा ४६ जनाको मृत्यु भएको छ । बाढीका ७ वटा घटना भए पनि मानवीय क्षति भएको छैन । मनसुन अवधिमा मध्य र उच्च पहाडी जिल्लामा पहिरो र तराईका २२ जिल्लामा बाढीले समस्या निम्त्याउने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार ११ वर्षयता (२०६७ देखि) यही अवधिमा भएकाभन्दा यसपटक बाढीपहिरोका घटना बढी भएका छन् । पहिरो मुख्य विपद्का रूपमा देखापरेको छ । मनसुनको सुरुवाती दिनमा ११ वर्षमा पहिरोबाट ९७ र बाढीबाट ८४ जनाको ज्यान गएको छ । सबैभन्दा बढी २०७० सालमा बाढीबाट ५२ जनाको ज्यान गएको थियो भने पहिरोमा परी ३० जनाको मृत्यु भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष मनसुनअघि नै पर्याप्त वर्षा भएको थियो । जसका कारण जमिन मज्जाले गल्न पुग्यो । दक्षिण एसियाका मौसमविद्हरूले यो वर्षको मनसुनमा औसत आसपास वर्षा हुने प्रक्षेपण गरेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल मनसुन अवधिमा कतै कम र कतै अत्यधिक वर्षा हुने भएकाले पहिरोका घटना बढ्ने अनुमान गर्छन् । प्राधिकरणले यो वर्ष पनि २०७० सालमा जस्तै बाढी र पहिरोका घटना बढ्ने अनुमान गरेको छ ।

‘पर्वतमा जस्तो एकै स्थानमा धेरै वर्षा केन्द्रित भयो भने पहिरोको सम्भावना बढी हुन्छ,’ यस वर्षको मनसुन र विपद्का घटनाबारे विश्लेषण गर्दै पोखरेलले भने, ‘त्यसैले प्रतिरक्षाका लागि विभिन्न निकायसँग सहकार्य गरिरहेका छौं ।’ पर्वतमा लगातार २ घण्टा परेको वर्षाले हरियो र बाक्लो वन भएको क्षेत्रमै पहिरो गएको थियो । उक्त पहिरोबारे विशेषज्ञहरूले विस्तृत अध्ययन गरिरहेका छन् ।

मनसुनको साढे ३ महिनामध्ये जुलाईमा सबैभन्दा बढी वर्षा हुन्छ । बाढी र पहिरोको जोखिम पनि यही अवधिमा हुन्छ । त्यसैले जुलाई र अगस्टलाई बाढी र पहिरोजन्य जोखिमका हिसाबले ‘पिक सिजन’ भनिन्छ । गत वर्ष मनसुनको १५ दिनमा खासै क्षति भएको थिएन । जम्मा २ जनाको बाढीमा परेर ज्यान गएको थियो । गत वर्ष असार ५ गते मनसुन सुरु भएको थियो । उक्त अवधिमा १० वटा बाढी र २८ वटा पहिरोका घटना भएका थिए ।

प्राधिकरणको तथ्यांकअनुसार २०६७ देखि हालसम्म सम्पूर्ण मनसुन अवधिमा १ हजार ६ सय ३३ वटा पहिरोका घटना भएका छन् । त्यसमा परेर ९ सय ४ जनाको मृत्यु र ७ सय ७० घाइते भएका छन् । पहिरोका कारण ६ हजार ७ सय ९६ घरपरिवार प्रभावित भएका छन् । त्यसबाट १ अर्ब ६६ करोड, ७० लाख ५० हजार ३ सय ३७ रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ ।

एघार वर्ष अवधिमा बाढीका १ हजार ५ सय १४ वटा घटना भएका छन् । बाढीमा परेर ७ सय ९६ जनाको ज्यान गएको छ । बाढीका कारण ६४ हजार ४ सय २२ घरपरिवार प्रभावित भएका छन् भने १६ अर्ब ६५ करोड ७७ लाख ७ हजार ८ सय ८८ रुपैयाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । यो तथ्यांकले मनसुन अवधिमा पहिरोले बढी मानवीय क्षति गर्ने गरेको बुझ्न सकिन्छ । भौतिक र धनको क्षति भने बाढीले बढी निम्त्याउने गरेको छ । प्रमुख कार्यकारी पोखरेलले मनसुनजन्य विपद्का घटनालाई मध्यनजर गर्दै स्थानीय तहदेखि माथिल्लो तहसम्मै पूर्वतयारी र प्रतिकार्य कार्ययोजनामा जुटेको समेत बताए । ‘यस पटक पहिरो र बाढीको नक्सांकन, खोज तथा उद्धार सामग्रीको लगतदेखि राहत सामग्री र हेभी उपकरणको लगत राख्ने कामसमेत भएको छ,’ पोखरेलले भने, ‘खुला क्षेत्र, सुरक्षित आश्रयस्थल, सडक, गोरेटो, पुल, स्वास्थ्य चौकीलगायतको समेत नक्सांकन गरिएको छ ।’

वैशाख १ गते प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी प्रभावकारी कार्ययोजनाका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणमा जुट्ने निर्णय गरेको थियो । प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग लगायतसँगको सहकार्यमा जोखिममा आधारित पूर्वसूचना प्रणालीको समेत सुरुवात गरेको छ । सीमावर्ती क्षेत्रमा डुबानको उच्च जोखिममा रहेका स्थानको पहिचान गर्दै खुला क्षेत्र र अग्लो भूभाग तथा सुरक्षित आश्रयस्थलसमेत पहिचान गरिएको छ । प्राधिकरणले खोज, उद्धार तथा राहत सामग्रीको लगत संकलन र उद्धारका लागि आवश्यक स्वचालित मोटर र रबरको डुंगासमेत बाढीको जोखिममा रहेका तराईका जिल्लामा बन्दोबस्त गरेको छ ।

यस्तै, पहिरोजन्य विपद्‍बाट बच्न जोखिममा आधारित पूर्वसूचना प्रणालीको विकास गरिएको छ । ‘खानी तथा भूगर्भ र जल तथा मौसम विज्ञान विभागसँग मिलेर पहिरोका हिसाबले जोखिमयुक्त स्थानको पहिचान गरी स्थानीय तहसम्मै सचेत गराउने काम भएको छ,’ पोखरेलले भने, ‘तल्लो तहसम्मै स्वयंसेवक ब्युरो गठन र परिचालन निर्देशिकाको समेत मस्यौदा गरिएको छ । राहत मापदण्ड तयार गरिएको छ ।’

जल तथा मौसम विज्ञान विभागले मनसुनका अवधिमा बाढी निम्त्याउने ठूला, मझौला र साना नदीहरूमा बग्ने पानीको बहावबारे चौबीसै घण्टा अनुगमन गर्दै सर्वसाधारणलाई सचेत गराउने गरेको छ । विशेषज्ञहरूले बाढीको सम्भावना भएका क्षेत्रको पहिचान गर्दै बाढी आउनुपूर्व नै विभागले स्थानीयलाई मोबाइल सन्देशसमेत पठाउने गरेको छ ।

सन् २०१४ मा कर्णाली नदी र अन्य सहायक नदीहरूमा बाढी आउनुपूर्व नै विभागले लाखौं व्यक्तिलाई मोबाइलमा सन्देश पठाएर सम्भावित क्षति न्यूनीकरण गरेको थियो । सन्देशसँगै विभागले आफ्नो वेबसाइटमा समेत बाढीको अवस्थाबारे सर्वसाधारणलाई सचेत गराउने गरेको छ । सम्भावित बाढी आउने नदीमा पानीको बहावको खतरा रहे/नरहेको बारे पनि विशेषज्ञहरूले सचेत गराउने गरेका छन् ।

प्रकाशित : असार २०, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?