कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाबुले नै शिशु अर्कैलाई दिएपछि...

नि:सन्तान महिलाले अवैध ढंगले शिशु लिएको खुलासा
नवजात शिशु कसरी आमाको काखबाट खोसिइन् र आफ्नै बाबुले किन अर्काको जिम्मा लगाए ?
जनकराज सापकोटा

काठमाडौँ — राजधानीमा कारोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला असार ८ गते भृकुटीमण्डपबाट एउटा सरकारी गाडी निस्कियो । उक्त गाडीमा सवार प्रहरी जवान शर्मिला दाहालले झन्डै साढे चारमहिने शिशुलाई जतनले काखमा लिएकी थिइन् ।

बाबुले नै शिशु अर्कैलाई दिएपछि...

असई नारायण केसी पनि त्यही गाडीमा थिए । बालबालिका खोजतलास समन्वय केन्द्रमा कार्यरत यी दुई प्रहरी शिशुलाई बोकेर झापाको दमक जाँदै थिए । जसका पछाडि जोडिएको घटनाले शिशुको अवैध ओसारपसार र त्यसको जालोका बारेमा मात्रै बुझाउँदैन, नि:सन्तान दम्पतीले शिशु प्राप्तिका निम्ति कस्तो जोखिम उठाउन बाध्य छन् भन्ने देखाउँछ ।

गत जेठ १० गते इलाका प्रहरी कार्यालयमा एउटा निवेदन दर्ता भयो । निवेदक दमक नगरपालिका–८ हाटखोला बस्ने १८ वर्षीया किशोरीले आफ्नो पहिलो नवजात छोरीलाई श्रीमान्ले बेपत्ता पारेको उल्लेख गरेकी थिइन् । प्रहरीले किशोरीसँग सोधपुछ गरेपछि थाहा भयो, फागनु २८ गते दमकस्थित एक निजी अस्पतालमा उनले छोरी जन्माएकी रहिछन् । निवेदनमा प्रसूतिको चौथो दिन अर्थात् फागुन २ गते डिस्चार्ज भएर घर फर्किने बेलामा श्रीमान्ले छोरीको कान छेड्ने भन्दै लिएर गएको र बच्चा फिर्ता नगरेको उल्लेख छ । निवेदनमा लेखिएको छ, ‘श्रीमान्लाई छोरी खोइ भनेर सोध्यो भने कहिले मर्‍यो भन्छ, कहिले यो कुरा कसैलाई भनिस् भने तेरो परिवारलाई सिध्याउँछु भन्छ ।’

शिशु बेचिएको हुन सक्ने वा अपहरणमा परेको पनि हुन सक्ने आशंकामा प्रहरीले निवेदन दर्ता भएको दुई दिनपछि अर्थात् जेठ १२ मा श्रीमान्लाई पक्राउ गर्‍यो । बयानका क्रममा उनले विस्तृत सूचना नदिँदा प्रहरीले कैयन् दिनसम्म हैरानी पायो । प्रहरीका अनुसार कहिले उनी बच्चा मारेर फाल्दिएको बताउँथे त कहिले केही थाहा नभएको भन्थे । प्रहरी त्यतिबेला चकित पर्‍यो, जब आमा बताउने महिलाले अस्पतालमा आफ्नो नाम पनि फरक लेखेकी रहिछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलोपटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ । विवाह गर्न पनि महिला र पुरुष दुवैले कम्तीमा २० वर्ष नाघेको हुनुपर्ने कानुनी व्यवस्था छ । कानुनले तोकेको उमेरअगावै आमा बनेकी किशोरीको विवाहको औपचारिक कागजात पनि प्रहरीले फेला पारेन ।

प्रहरीको अनुसन्धान शिशुको खोजीमा केन्द्रित भयो । घरमा रङ लगाउने काम गर्ने श्रीमान्ले बयानक्रममा एक दिन फ्याट्ट भने, ‘मैले धरानकी एउटी महिलालाई छोरी दिएँ ।’ प्रहरी धरानमा बस्ने ती महिलाकामा पुग्यो र उनलाई पक्राउ गर्‍यो । ती महिलाले काठमाडौंमा बस्ने एक जना नातेदारलाई शिशु जिम्मा लगाएको बताइन् ।

जेठ २२ गते इलाका प्रहरी कार्यालय दमकले शिशुको खोजीका लागि काठमाडौंको बालबालिका खोजतलास केन्द्रलाई पत्र लेख्यो र त्यसको बोधार्थ प्रहरी परिसर काठमाडौं तथा महानगरीय प्रहरी वृत्त बौद्धलाई पठायो । केन्द्रका कर्मचारीका अनुसार नवजात शिशुको खोजीमा दमक प्रहरीले दिएको ‘क्लु’ मात्रै पर्याप्त थिएन ।

केन्द्रमा कार्यरत प्रहरीले श्रीमान्को कल डिटेलका आधारमा केही सुराक पाए । केन्द्रले पाएको सबैभन्दा बलियो सुराक थियो, शिशुलाई ट्याक्सीमा राखेर घरमा पुर्‍याइएको । तर त्यो घर कसको थियो र काठमाडौंको कुन कुनामा थियो भनेर पत्ता लगाउनु सजिलो थिएन । कल डिटेलबाट प्राप्त सबै नम्बरलाई निगरानी गरेपछि प्रहरी एक जना ट्याक्सी चालकको सम्पर्कमा पुग्यो । तिनै चालकले प्रहरीलाई असार ५ गते जोरपाटीको मेडिकल कलेजनजिकैको एउटा घरमा पुर्‍यायो ।

उक्त घरमा ज्यामी काम गर्ने एक दम्पत्ती कोठा भाडा लिएर बसेको थियो । ३७ वर्षीया ती महिला विवाहको १३ वर्षसम्म नि:सन्तान थिइन् । सन्तान नहुँदाको सामाजिक अवगाल र घोचपेचकै कारण उनी कसैले दिएमा धर्मसन्तान पाल्ने योजनामा थिइन् । त्यही बेला उनी धरानमा बस्ने महिला (नाता पर्ने) को सम्पर्कमा पुगेकी थिइन् । भदैनी पर्नेले हाटखोलाका युवक (शिशुका पिता) सँग भेटाइदिएपछि उनी शिशुलाई लिएर काठमाडौं आइन् ।

प्रहरी पुग्दा ती महिला शिशुसँगै खेलिरहेकी थिइन् । लकडाउन सुरु हुनुभन्दा केही दिनअघि नवजात शिशुलाई मातृ वात्सल्य प्रदान गर्न पाएर उनलाई ‘लक’ लागेजस्तै भएको थियो । प्रहरी शिशुको खोजीमा पुग्दा उनी झस्किइन् किनकि उनले आफ्नै श्रीमान्लाई पनि कसरी शिशु ल्याएको भनेर बताएकी थिइनन् । उद्धारमा खटिएका केन्द्रका एक कर्मचारीका अनुसार डेराको एउटा कोठाभरि बालिकाका लागि किनिएका गुडियाको थुप्रो थियो । पाँच महिना र ६ महिना भएपछि लगाइदिने भनेर पहिल्यै किनेर राखिएका कपडा पनि थुप्रै थिए । ती कर्मचारीले भने, ‘स्याहारसुसारमा कुनै कमी हुन नदिई राखेको देखिन्थ्यो ।’

उद्धारमा गएका कर्मचारी र प्रहरी देखेपछि ती महिलाले भनेको उद्धृत गर्दै एक कर्मचारीले सुनाए, ‘हामीलाई देख्नेबित्तिकै उनी निकै डराइन् र भनिन्, ‘बच्चा लैजाने हो भने त म मरे नि भैगयो नि !’ ती कर्मचारीका अनुसार महिलाले स्थानीय र आफन्तलाई आफैं गर्भवती भएर, धरान पुगेका बेला उतै बच्चा जन्माएको बताएकी रहिछन् ।

समन्वय केन्द्रको टोलीले खबर गरेपछि महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले ती महिलालाई पक्राउ गर्‍यो । शिशुलाई भने केन्द्रले उद्धार गर्‍यो । बौद्ध प्रहरीले दुई दिन थुनामा राखेर महिलालाई दमक पठाइदियो । केन्द्रले तीन दिनपछि शिशुलाई इलाका प्रहरी कार्यालय दमकको जिम्मा लगाउने गरी पठायो ।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले नाबालिकाको अवैध ओसारपसार भए पनि किनबेच भएको हो कि होइन र त्यसमा कति पैसा प्रयोग भयो भन्नेबारे भने अनुसन्धान भइनसकेको बताए । उनले घटनासँग जोडिएका कैयन् प्रश्नको उत्तर खोज्न अनुसन्धान जारी रहेको जनाए । बालबालिका खोजतलास तथा समन्वय केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले यसरी बालबालिकाको अवैध ओसारपसार हुनु नौलो घटना भएको बताए । उनले भने, ‘गरिबी र अभावमा परेर पनि कतिपय घटनामा बाबुआमाले छोराछोरी बेच्ने गरेको देखिन्छ तर यो घटना केही फरक देखिन्छ ।’

नि:सन्तान महिलाले खेप्नुपर्ने सामाजिक अवगाल र जसरी पनि सन्तान चाहिन्छ भन्ने सामाजिक दबाबका कारण बालबालिकाको अवैध बिक्री र ओसारपसारका घटना हुने गरेको देखिन्छ । गत वर्ष साउन ३२ गते बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बेलायती महिलालाई अवैध रूपमा बालिका बेचेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनले धादिङकी एक नि:सन्तान महिलालाई ललितपुरमा बेबारिस भेटिएकी एक बालिका कानुनी प्रक्रिया पूरा नगरी बेचेका थिए । वर्षौंसम्म नि:सन्तान रहेकी ती महिलाले बालिका पाउनका लागि ऋणधन गरेर साढे ५ लाख रुपैयाँ डंगोललाई बुझाएकी थिइन् । यो घटनापछि नि:सन्तान महिलाले सन्तानप्राप्तिका निम्ति उठाउने जोखिम र त्यस क्रममा हुने अवैध बालबालिका ओसारपसारको घटना सतहमा आएको थियो ।

यतिबेला दमक नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसमा बालिकाको जन्म दिएको भनिएकी आमा, बालिका लिने काठमाडौंकी महिला र शिशुलाई सँगै राखिएको छ । फागुन २८ गते जन्मेकी शिशु अहिले झन्डै चार महिना पुगिसकिन् । कोरोना संक्रमणको तीव्र रफ्तारसँगै उनीसँगै जोडिएर विकास भइरहेका अनेकन् घटनाक्रमबारे उनलाई के थाहा ! सेफ हाउसका एक कर्मचारीले शिशु दुवै महिलासँग नजिकिएको सुनाए । ती कर्मचारीले भने, ‘अस्पतालमा जन्माउने आमा र काठमाडौंमा पाल्ने आमा दुवै उनका निम्ति बराबर जस्तै देखिन्छन् ।’

प्रकाशित : असार २०, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?