गोठालो गएर फर्किनन् उनी

सन्तोष सिंह

जनकपुर — खाजा दिन पुगेकी आमाले उनलाई बगैंचामा नभेटेपछि आँप बेच्दै गरेकी महिलालाई दिएर फिरेकी थिइन् । राति अबेरसम्म घर नआएपछि परिवारले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट प्रहरीमा खबर गरे, प्रहरीले पनि फेला पार्न सकेन । हराएको तेस्रो दिन रोपाहारहरूले ११ वर्षीया उनको शव देखे ।

गोठालो गएर फर्किनन् उनी

भैंसी चराउन गएर नफर्केपछि तीन दिनदेखि खोजी भइरहेकी एक बालिकाको शव फेला परेको छ । जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पञ्जियार शुक्रबार मृत फेला परेकी हुन् । आँप बगैँचानजिकै नदीको डिलमा अर्ध–नग्न अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए ।

शुक्रबार मध्याह्न बस्तीभन्दा एक किलोमिटर पर दूधमती नदीमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सकिने डीएसपी कार्कीले बताए । उनका अनुसार आफूहरूले खोजी गर्दा नभेटेको भन्दै ती बालिकाको खोजी गरिदिन परिवारले बिहीबार प्रहरीलाई खबर गरेका थिए ।

धान रोप्दै गरेका मजदुरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ । बुधबार बिहान ११ बजे भैंसी चराउन गएकी कञ्चन अबेर रातिसम्म घर नआएपछि खोजी सुरु भएको थियो । तरकारीको व्यापार गर्ने आमा संगीता बुधबार कुर्थामा लाग्ने हाटबजारका लागि तरकारी किन्न जेठो छोरा राजुलाई लिएर ढल्के गएकी थिइन् ।

बाबु विनोद पञ्जियार कान्छो छोरा रोशनलाई लिएर धान रोप्न गएका थिए । घरमा एक्लै रहेकी कञ्चन भैंसी चराउन गएकी थिइन् । छोरीका लागि खाना लिएर आमा दिउँसो आँप बगैंचा पुग्दा नभेटेपछि नजिकै आँप बेच्दै गरेकी एक महिलालाई दिँदै ‘छोरीलाई दिनू’ भन्दै फर्केकी थिइन् । साँझ बजारबाट फर्केर आउँदा पनि घरमा छोरी नआएपछि गाउँमा भोज खान गएको हुन सक्ने भनेर केहीबेर खोजी नगरेको संगीताले बताइन् । ‘गाउँमा श्राद्धको भोज थियो । भोज खान गएकी हुन सक्छे भनेर एकछिन धैर्य गर्‍यौं । अबेर रातिसम्म नफर्केपछि खोज्न थाल्यौं । नभेटेपछि भोलिपल्ट मात्रै प्रहरीमा खबर गरेँ,’ संगीताले भनिन् । यसै वर्ष २ कक्षा उक्लिएकी कञ्चन मृत अवस्थामा फेला परेपछि गाउँ शोकमा छ ।

जनकपुरको रामानन्द चोकबाट पश्चिमतर्फको सडक रेल्वे लिक पार परेपछि कुर्था गाउँ अगावै दूधमती नदी आइपुग्छ । मधेसमा असारको गर्मीमा नदीको डिलसँगै रहेको आँप बगैँचाको छहारीमा भीडभाड हुन्छ । युवाहरुको उच्छृंखल गतिविधिका कारण छहारीमा आएकाहरुले बस्न नसक्ने स्थानीय बताउँछन् । बगैँचावरपर ओत लाग्न सक्ने हरियो झाडी पनि छ । स्थानीयका अनुसार यही झारीमा लुकेर गाँजा खाने युवाको भीड पनि हुन्छ ।

नशालु पदार्थ सेवन गर्ने अखडानजिकै शुक्रबार बालिका मृत फेला परेपछि स्थानीय त्रसित छन् । नशालु पदार्थ सेवन गर्न आउने समूहले नै बालिकाको हत्या गरेको हुन सक्ने स्थानीयको शंका छ ।

प्रकाशित : असार २०, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?