२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

नेकपा विवाद : मिलेर जान दोस्रो तहका नेताहरूको दबाब

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलाको निष्कर्ष : ‘पार्टी एकताको सुरुवाती बिन्दुबाट छलफल थालौं’

काठमाडौँ — पार्टीभित्र शीर्ष नेताहरूको विवाद उत्कर्षमा पुगेपछि नेकपाका तीनवटा समूहका दोस्रो तहका नेताहरू समझदारी जुटाउन सक्रिय भएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल आ–आफ्ना अडानबाट पछि नहट्दा पार्टी एकता नै धरापमा पर्ने संकेत मिलेपछि दोस्रो तहका नेताहरूले शीर्ष नेतालाई दबाब दिएका छन् ।

नेकपा विवाद : मिलेर जान दोस्रो तहका नेताहरूको दबाब

त्यसका लागि उनीहरूले शृंखलाबद्ध जमघट गर्दै मुख्य नेताहरूलाई मिलेर जान दबाब दिएका छन् । शीर्ष नेताहरूमाथि दबाब सिर्जना गरी सहमतिका विकल्प सुझाउन शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालको पुल्चोकस्थित निवासमा सबै समूहका ११ जना नेताको बैठक भएको थियो ।

बैठकमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र मणि थापा सहभागी थिए । शुक्रबार बिहानको उक्त बैठकले पार्टी एकताको सुरुवाती बिन्दुबाटै छलफल अघि बढाउन अध्यक्षद्वयलाई दबाब दिने निधो गरेको थियो । बैठकले त्यसको पहल गर्ने जिम्मा मन्त्री भुसाललाई दिएको थियो । ‘तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षहरूले नै पार्टी एकता गरेकाले पार्टी बचाउने काम पनि उहाँहरूकै हो,’ स्थायी कमिटी सदस्य मणि थापाले बैठकको निष्कर्ष सुनाउँदै कान्तिपुरसँग भने, ‘दुवै अध्यक्षहरू २०७५ जेठ २ गतेको सहमतिभन्दा अझै अगाडि गएर छलफल थाल्नुपर्छ र त्यसमा नयाँ समस्याहरूबारे पनि कुराकानी हुनुपर्छ ।’

नेकपा एकीकरण हुनेबेलामा अध्यक्षद्वयबीच समानता र सहमतिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने समझदारीमा हस्ताक्षर भएको थियो । उक्त सहमति यथावत् रहेको भए आउँदो साउनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व छोडेर त्यहाँ दाहाल पुग्थे । तर मंसिर ४ गतेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयले सरकारको आलोपालो गर्ने पुरानो सहमति भंग गरेर ओलीले पूरै कार्यकाल सरकार चलाउने र दाहाल कार्यकारी अध्यक्ष भएर पार्टी सञ्चालन गर्ने नयाँ सहमति गरे ।

अहिले ओली पक्षधरहरू मंसिर ४ को त्यही सहमतिलाई थप परिभाषित गर्दै अघि बढ्नुपर्ने बताइरहेका छन् । दाहाल पक्षीय नेताहरू भने मंसिर ४ मा भएको सहमतिले अब काम गर्न नसक्ने भन्दै त्यसअघिकै चरणबाट छलफल थाल्नुपर्ने पक्षमा छन् । शुक्रबार बिहान आफूहरूका बीचमा भएको छलफलमा पनि अध्यक्षद्वयले नै सहमतिका लागि पहल गर्नुपर्ने निष्कर्ष निस्किएको थापाले बताए । ‘अहिले नै एक जनाले यो पद छोड्ने, अर्काेले अर्काे पद ओगट्ने भन्नेमा हामीले कुरा गरेकै छैनौं,’ थापाले कान्तिपुरसँग भने, ‘तर एउटा अध्यक्षले पार्टी पनि, सरकार पनि ओगट्ने अर्काे हेरेको हेर्‍यै त हुन भएन नि भन्ने मेरो कुरा हो । आज पनि त्यही नै कुराकानी भयो, उहाँहरूका कारण पार्टीलाई प्यारालाइज्ड बनाउनुहुन्न ।’

तीनवटै समूहका दोस्रो तहका नेताहरू यसअघि पनि यस्तै संकट आउँदा बेलाबेखत छलफलमा बस्ने गर्थे । यस पटक पनि संकट चुलिएपछि उनीहरू दबाब बढाउन एकजुट भएका हुन् । यद्यपि उनीहरू छुट्टाछुट्टै समूहका भेलाहरूमा पनि जान आउनेचाहिँ गर्छन् । नेकपाभित्र मिल्नुपर्छ भन्ने मत राख्ने दोस्रो तहमा यी नेताहरू आ–आफ्नो समूहभित्रका प्रभावशाली नेताहरू हुन् । त्यसैले उनीहरूको मतले पार्टीका समूहहरूका अडानलाई पनि तलमाथि गर्ने हैसियत राख्छ ।

मिल्नका लागि विकल्प खोजी गर्ने यो समूहमा वरिष्ठ नेता नेपाल पक्षका तीन जना नेता भुसाल, भट्टराई र पाण्डे छन् । यी तीनै जना तत्कालीन एमालेको नवौं महाधिवेशनमा नेपाल प्यानलबाट महासचिव, उपमहासचिव र सचिव उठेका थिए । नेपाल समूहबाटै भुसाल र भट्टराई अहिले मन्त्री छन् । पाण्डे अहिले सरकार बाहिर छन् तर उनीहरूको मतले नेपाल समूहमा अर्थ राख्छ । ओली समूहबाट पोखरेल, ज्ञवाली र रिमाल सहभागी थिए । यी तीनै जना ओलीका विश्वास पात्र हुन् र जुनसुकै समस्यामा पनि ओलीले परामर्श गर्ने नेताहरूमध्ये पर्छन् । त्यसैले यिनीहरूको मतले ओली पक्षमा अर्थ राख्छ । त्यस्तै दाहाल समूह शर्मा, रायमाझी, पुन, बस्नेत, थापा पनि निर्णायक भूमिका खेल्ने नेताहरू हुन् । उनीहरूको मतले पूर्वमाओवादी समूहलाई कता डोर्‍याउने भन्ने निर्धारण गर्न सक्छ ।

तीनै समूहका यी मुख्य नेताहरू सकेसम्म मिलाउने कोसिसमा छन् । शुक्रबार बिहान उनीहरूकै छलफलपछि दिउँसो ओली र दाहालको बालुवाटारमा झन्डै तीन घण्टा छलफल भयो । उक्त छलफल पछि दोस्रो तहका नेताहरू फेरि आ–आफ्नो समूहमा सहमति खोज्नका लािग कुरा राखेर साँझ फेरि छुट्टै छलफलमा जुटेका थिए ।

धुम्बाराहीमा धर्ना

पार्टी विवाद उत्कर्षमा पुगेर दुर्घटनाउन्मुख भएपछि शुक्रबार पार्टी कार्यालय धुम्बाराही नेकपाका केन्द्रीय सदस्य, विभिन्न भ्रातृ संगठनका नेता र कार्यकर्ताहरूले धर्ना दिएका छन् । प्लेकार्डसहित भेला भएका उनीहरूले नेताहरूलाई मिलेर जान अपिल गरेका छन् ।

केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीलाई विधि पद्धतिमा चलाएर एकता कायम गर्नुपर्ने भन्दै दबाब दिनका लागि भेला भएको बताए । ‘पार्टी एकता कायम हुनुपर्छ । पार्टी विभाजन हुनुहुँदैन । विधि पद्धतिबमोजिम पार्टी चल्नुुपर्‍यो, नेताहरू त्यसबमोजिम अगाडि बढ्नुपर्छ,’ गैरेले भने ।

प्रकाशित : असार २०, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?