कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटार वार्तामा कुरा मिलेन, ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याए

वरिष्ठ नेता खनाल भन्छन्, ‘अब पार्टी चुपचाप बस्दैन, निर्णय गर्छ’
बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने प्रस्ट पारेका छन् । शुक्रबार बिहान बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका हुन् । प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । 

फाइल तस्बिर

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताबारे जानकारी दिन दाहालले साँझ सचिवालयका अन्य ५ नेतालाई आफ्नो निवास खुमलटारमा बोलाएका थिए । त्यही छलफलमा दाहालले ओलीसँगको भेटबारे जानकारी गराएको थिए । वरिष्ठ नेता झलनाथ खनालका अनुसार ओलीले दुवै पद नछाड्ने पूर्ववत् अडान दोहोर्‍याएका छन् ।

‘दिउँसोको छलफलमा अध्यक्ष प्रचण्डले केपी ओलीलाई तपाईंले निकास दिनुपर्छ भन्नु भयो । उहाँले दुवै पद छोड्दिनँ भन्नु भयो,’ नेता खनालले कान्तिपुरसँग भने, ‘अब पार्टी चुपचाप बस्न सक्दैन, पार्टीले निर्णय गर्छ । भोलिको स्थायी कमिटी बैठकबाट केही निर्णय आउँछ ।’

बिहीबार पनि ओलीले दुवै पद नछाड्ने र आवश्यक परे अरु विषयमा मात्र छलफल गर्ने बताएका थिए । अचानक संसद् अधिवेशन अन्त्य गर्ने निर्णयपछि दाहाल र महासचिव पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए । भेटमा ओलीले आफूले दुवै पद नछाड्ने बताएका थिए । ‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु,’ ओलीले दाहाल र महासचिव पौडेलसँग भनेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो । शनिबार पुन: बैठक बस्ने छ ।

बिहीबार स्थायी कमिटी बैठक स्थगितपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’

बुधबार नेकपाका बहुमत स्थायी कमिटी सदस्यले भेला गरेर प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा गराउने निष्कर्ष निकालेका थिए ।

यो पनि


प्रकाशित : असार १९, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्

बेपत्ता जीप खोज्न आफन्तद्वारा प्रहरीमा सम्पर्क

हरिहरसिंह राठौर

धादिङ — बिहीबार बिहान ५ बजे काठमाडौं जान घरबाट जीप लिएर निस्केका श्रीमानले पौने ६ बजे घरमा फोन गरेर मुग्लिन कटेको बताएलगत्तै सम्पर्कविहीन भएपछि आफन्तहरुले जिल्ला प्रहरीमा सम्पर्क गरेका छन् ।

त्रिशुलीमा बेपत्ता जीपको खोजीमा जुटेको सशस्त्र प्रहरीको टोली । तस्बिर सौजन्य : सशस्त्र प्रहरी कुरिनटार । 

स्कारपियो किनेर रिजर्भमा यात्रु बोक्ने पेसामा लागेका पूर्वी नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ४५ वर्षीय मणिलाल पाण्डे बिहीबार बिहान यात्रु लैजान ग २ च ९१५६ नम्बरको जीप लिएर एक्लै काठमाडौं गएका थिए । बिहान पौने ६ बजे घरमा श्रीमतीलाई फोन गर्दै आफू मुग्लिन कटेको सूचना दिएका थिए ।

‘घटनास्थलको प्रकृति, मुग्लिनबाट घटनास्थलको दूरी र पुग्ने समय, जीप खसेको देख्ने महिलाले भनेको समय मेल खाएको र मणिलाल जीप बोलाएका काठमाडौंका यात्रुको सम्पर्कमा पनि नगएको, नागढुंगाको सवारीसाधन प्रवेश सूचीमा पनि नभएकोले सोही स्कारपियो हुनसक्ने प्रहरीले अनुमान गरेको’ जिल्ला प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।

प्रहरी प्रमुखका अनुसार घटनाकाे प्रकृति हेर्दा जानाजान त्रिशूलीमा जीपसहित दुर्घटना गराएको हुनसक्ने अनुमान प्रहरीको छ ।शुक्रबार साँझसम्म पनि दुर्घटना र बेपत्ता व्यक्तिबारे केही भेउ नपाउँदा प्रहरीले दुर्घटना नै हो/हाेइन अलमलमा परेको छ ।

प्रकाशित : असार १९, २०७७ २०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×